काठमाडौँ। नेपालबाट यस वर्षको मनसुन बुधबारदेखि पूर्णरूपमा बाहिरिने भएको छ। यससँगै, हालैको अविरल वर्षाका कारण चिन्तित किसानहरूका लागि धानबाली भित्र्याउन सहज हुने देखिएको छ।
जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार आगामी बुधवारदेखि नेपालबाट मनसुन बाहिरिने भएकाले त्यसपछि मौसम सफा हुनेछ। यसले गर्दा किसानहरूलाई धानबाली भित्र्याउन कुनै बाधा नपर्ने उनले बताएका छन्।
डा. उप्रेतीले पश्चिमी वायुको प्रभाव कायमै रहे पनि तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको जानकारी दिए। उनका अनुसार अहिलेको मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएको र पश्चिमी वायुको प्रभाव पनि तत्काल ठूलो नदेखिएकोले आगामी तीन दिनदेखि धान भित्र्याउनको लागि उपयुक्त वातावरण बन्दै जानेछ।
विज्ञ उप्रेतीले गत शुक्रवार र शनिवारको अविरल वर्षा र बाढीपहिरोले पूर्वसूचना प्रणालीको महत्त्व उजागर गरेको बताएका छन्। उनले पूर्वसूचना प्रणालीलाई थप बलियो र व्यवस्थित बनाउन राज्यले लगानी गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए।
यस वर्षको मनसुन बाहिरिएपछि पनि पश्चिमी वायुको प्रभावका कारण विपद्जन्य प्रकोपको सम्भावना रहेकाले सचेत रहँदै पूर्वसूचना प्रणालीलाई बलियो बनाउँदै लैजानुपर्नेमा उनको जोड छ।
मनसुन