Logo
१ असार २०८२, आईतबार

मनसुन सक्रिय हुन अझै सकेन, कहिले पर्छ पानी ?

अक्षरपाटी
२०८२ जेठ २८ , मंगलबार १०:०६ मा प्रकाशित

काठमाडौं । यस वर्ष सरदर मितिभन्दा १५ दिन अघि नै नेपालमा मनसुन भित्रिए पनि कोशी प्रदेशभन्दा पश्चिमतर्फ सर्न सकिरहेको छैन । मनसुन सक्रिय नहुँदा राम्रोसँग पानी पर्न सकिरहेको छैन । पानी नपर्दा देशभर गर्मी बढेको छ ।

मौसमविदहरुका अनुसार मनसुनी वायुले पश्चिमी वायुलाई विस्थापित गर्दै पूर्वी नेपालबाट सुदूरपश्चिमसम्मै फैलिनुपर्छ । तर, मनसुन भित्रिएको जेठ १६ गतेदेखि आज जेठ २७ गतेसम्म (१२ दिनको अवधिसम्म) पनि पश्चिमी वायु शक्तिशाली छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अझैसम्म पनि पश्चिम र मध्य नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । त्यसैले पश्चिमी वायु र स्थानीय वायुको प्रणाली विकसित भएर केही क्षेत्रमा पानी पर्नुबाहेक मनसुनी वायुको कारण पानी पर्न सकेको छैन । राम्रोसँग पानी नपर्दा काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा गर्मी बढेको छ ।

तर अब मनसुनी वायु कोशी प्रदेशभन्दा पश्चिमतिर अघि नबढ्दा चर्किएको घामबाट एक-दुई दिनमै राहत मिल्ने संकेत देखिएको मौसमविदले बताएका छन् ।

मनसुन अब कहिले सक्रिय हुन्छ ?

मौसमविदहरु अब मनसुन कहिलेखि सक्रिय हुन्छ भनेर एकिनका साथ भन्न सक्दैनन् । तर केही दिनपछि देशभर वर्षा हुने सम्भावना भने औंल्याएका छन् ।

पूर्वी एसियातिर मोडिएको प्रणालीको केही भाग नेपालतर्फ फर्किने सम्भावना देखिएको र पश्चिमी वायुको समेत प्रभावले पानी पर्ने सम्भावना रहेको मौसमविद गोविन्द झाले बताए । ‘बंगालको खाडीमा लो प्रेसर सिस्टम बनेको छ, मध्य भारतमा अर्को प्रणाली विकसित भएको छ र इस्ट एसियातिर गएको मनसुनी वायुको केही भाग नेपाल तिर पनि सोझिएको छ,’ मौसमविद झा भन्छन्, ‘पश्चिमी वायुको पनि प्रभाव भएकाले अबको केही दिन नेपालमा राम्रै वर्षा हुने सम्भावना देखिन्छ ।’

‘बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले केही दिनमा पानी जलवाष्पयुक्त वायु भारततिर फ्याँक्न थाल्छ । अलि–अलि नेपालमा पनि आउछ,’ मौसमविद झाले भने, ‘भोलि–पर्सिदेखि नै प्रभाव देखिन थाल्छ ।’

त्यसको प्रभावले बादल लाग्ने र पानी पर्ने हुँदा गर्मीबाट राहत मिल्ने मौसमविद झाको भनाइ छ । त्यसको संकेत आजैदेखि देखिएको छ ।

आज बिहानदेखि सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा वर्षा गराउने प्रणाली विकसित भई दक्षिण–पूर्व दिशामा फैलिरहेको छ । सो क्षेत्रका थोेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । एक-दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ ।

मौसमविद झा भन्छन्, ‘अबका केही दिन मनसुनी झरी जस्तो लगातार पानी नपरे पनि बेलाबेला पानी पर्ने सम्भावना छ ।’

जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ । यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ । यसले बाढी, पहिरो, डुबान र कटानले जनधनको क्षति हुने गरेको छ ।

मनसुन