काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेकामध्ये ५ हजार ५४७ कैदीबन्दी अझै फरार छन् । कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म ९ हजार ८ सय फरार कैदीबन्दीलाई कारागार फिर्ता भएका छन्।
फरार कैदीबन्दीको विवरण विभागको बेवसाइटमा आइतबार प्रकाशित भएको छ ।
फरार कैदीबन्दीको सम्बन्धमा सम्बन्धित कारागार कार्यालयबाट प्राप्त नामावलीसहितको विवरण गृह मन्त्रालयमार्फत् निर्वाचन आयोग, सुरक्षा निकायमा उपलब्ध गराइनेछ । अध्यागमन विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, यातायात व्यवस्थापन विभाग, राहदानी विभाग, वैदेशिक रोजगार विभाग, श्रम विभाग, नापी विभागलगायतका सेवाग्राहीको आवागमन धेरै हुने निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पठाउने जनाइएको छ ।
जिल्लास्थित सार्वजनिक निकायमा विवरण उपलब्ध गराउने र कुनै सार्वजनिक सेवा लिन आएको खण्डमा पक्राउ गर्न कारागार विभागले निर्देशन दिएको छ। ।
फरार कैदीबन्दीहरूको खोजी तथा पक्राउ अभियानलाई अझ नियमित, सशक्त र समन्वयात्मक रूपमा अघि बढाउने र फरार कैदीबन्दीहरू सेवा प्राप्त गर्न आएका बखत सोको सूचना सम्बन्धित जिल्ला प्रशासन कार्यालय, कार्यदल र सुरक्षा निकायमा खबर गरी पक्राउ गर्न सहयोग गर्ने व्यवस्था मिलाउने निर्णय भएको विभागले जनाएको छ ।