Logo
२८ असोज २०८२, मंगलबार

देउवाले खड्कालाई कार्यवाहक तोके, कांग्रेस कार्यसमिति बैठक असोज ३० सम्म स्थगित

अक्षरपाटी
२०८२ असोज २८ , मंगलबार ०२:१० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेका छन्। मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उनले खड्कालाई कार्यवाहक जिम्मेवारी दिएको जानकारी गराएका हुन्।

‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला,’ देउवाले बैठकमा भने।

देउवा उपचारका लागि विदेश जाने तयारीमा रहेको र त्यस अवधिमा खड्काले कार्यवाहक सभापतिको रूपमा पार्टीको जिम्मेवारी सम्हाल्ने भएका छन्।

उनले बैठकमा बोल्दै पार्टीको १५औं महाधिवेशन तोकिएको अवधिमै सम्पन्न हुने स्पष्ट पारे। ‘महाधिवेशन तोकेको अवधिमै हुन्छ, नियमित रूपमा हुनेछ,’ उनले भने।

देउवाले आफू पाँचपटक प्रधानमन्त्री भए पनि पूर्ण कार्यकाल पूरा गर्न नपाएको उल्लेख गर्दै भने, ‘पाँच पटक प्रधानमन्त्री भएँ, तर पाँच वर्ष पनि चलाउन पाइन।’

सभापति देउवाको सम्बोधनपछि सुरु भएको बैठक मंगलबार नै स्थगित गरिएको छ। बैठक असोज ३० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको पार्टी स्रोतले जनाएको छ।

गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि देउवा पहिलोपटक सार्वजनिक रूपमा उपस्थित भएका हुन्। आगामी बैठकको अध्यक्षता कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्नेछन्।

नेपाली कांग्रेस