Logo
१ कात्तिक २०८२, शुक्रबार

‘गोठालो’को अपिल-बिन्ती देश नछोडौं

अक्षरपाटी
२०८२ कात्तिक १ , शुक्रबार ०७:१० मा प्रकाशित

o शिवराज योगी/अक्षरपाटी

सर्जक टीकाराम शर्मा पौडेलले लेखे-

आफ्नो तागत देशको सृजनमा आजन्म होम्ने जन ।
छैनन् सज्जन देशका नियतिका भाले बने दुर्जन ।।
नेताको नकटो लुकाइरहने छन् जत्ति गम्छाहरू ।
साँचो भन्दछु देशका जहर हुन् झोले र चम्चाहरू ।।

गायक शिशिर योगीले गाइदिए-

जस्ता छन् जनता उही तरहका नेता हुने हुन् अरे ।
नेता योग्य भए भने त जनता झन् योग्य हुन्छन् अरे ।।
खै के भो किन चल्दछन् मुलुकमा छक्का र पन्जाहरू ?
साँचो भन्दछु देशका जहर हुन् झोले र चम्चाहरू ।।

झोले र चम्चाको रजगज चलेको बखत देशमा भविश्य नदेखेर विदेशतिर लर्को लाग्ने युवाहरुमा अपवाद हुन दिनेश भट्ट। उनले देशमै भविश्य खोज्ने यत्न गरे।

भदौ २३ र २४ को जेनजी आन्दोलनको अकल्पनीय अवस्थापछि सुधारको आशा बोकेका उनी आफ्नै भित्तामा लेखिएको हरफ हेर्छन र सुस्केरा हाल्छन्।

जेनजी आन्दोलनका क्रममा भदाै २३ गतेकाे राज्यको आततायी व्यवहार र २४ गतेको अकल्पनीय क्षतिबाट पनि झोले र चम्चाको रजगज कम नभएको देख्दा भने उनी दिक्काउँछन्।

धनगढी कवर्डहलको सम्मुख। डिभोटी होटेल र निसर्ग अस्पतालको बीच भएर क्याम्पस रोड जाने सडकको दुई सय मिटर अगाडि। त्यहाँ पुग्नुभयो भने तपाईँ ठूलो अक्षरमा देख्नुहुने छ- ‘बिन्ती देश नछोडौँ‘ लेखिएको साइनबाेर्ड। त्यसको मुन्तिर छ- ‘गोठालो‘ लेखिएको साइनबोर्ड।

डोटीको बोगटानजस्तो विकट गाउँमा जन्मिएर बीबीएसम्म पढेका दिनेश भट्टका लागि विदेश कहिल्यै प्यारो भएन। देशै प्रिय लाग्यो। त्यसैले उनले आफूले सुरु गरेको व्यवसायभन्दा माथि लेखे- बिन्ती देश नछोडौँ ।

‘हृदयबाटै यो आयो र लेखेँ’, उनले भने, ‘देशमै केही गरौँ भन्ने लाग्यो र गोठालो क्याफे सुरु गरेका हौँ, त्यसैले क्याफेको नामभन्दा माथि सिरानमा त्यो नारा लेखेँ।’

‘ठूला’ देशमा जाने हो भने मनग्य पैसा कमाइ हुन्छ भन्ने उनलाई थाहा छ। ‘तर यो देशकोजस्ताे न्यानो, यहाँकोजस्ताे अपनत्व त्यहाँ कहाँ पाइन्छ?, दिनेशले भने, ‘देशमै बस्ने चाहना भयो र क्यानडा, अस्ट्रेलिया या अमेरिका जान लाग्ने पैसाभन्दा अलि थोरै लगानी गरेँ, आज ८ जना रोजगार भएका छौँ।’

तीं देश जाने सूर कसेको भए दिनेशले ऋणधन गरेर २५-३० लाख खर्चनुपर्थ्याे। गोठालो क्याफेमा उनले पुग नपुग २० लाख लगानी गरे। काकासँग मिलेर गरेको व्यवसायले ६ जनालाई रोजगार दिएको छ।

उनले भने, ‘हामी काकाभजिता स्वरोगार भएर एकजना आईटी हेर्ने र पाँच जना स्टाफको रोजगारी भएको छ। जम्मा ८ जनाकाे राेजीराेटी चलेकाे छ।’

सानै हुँदा उनलाई लाग्थ्यो रे- ‘गाउँ छोड्नु नपरोस, गाउँ छोडेपनि देश त छोड्नै नपरोस।’

त्यही सोचले उनले गोठालो क्याफेभन्दा पहिला डेरी व्यवसाय गरे। अलि राम्रो केही गर्ने योजनाअनुसार उनले त्यो डेरी चिनजानका मान्छेको जिम्मा लगाएर गोठालो स्थापना गरे। ‘गाेठालाे’ नाम जुराए काकाले। नारा लेखे दिनेशले- ‘बिन्ती देश नछोडौँ’।

‘जिम्म दिएका मान्छेले डेरी चलाउन नसकेपछि गोठालोको शाखाका रुपमा त्यहाँ पनि उनी ‘गोठालो फास्टफुड’ खोल्ने तरखरमा छन्।

‘काम छैन भन्नेहरु धेरै छन्, तर काम गर्ने मान्छे पाइँदैन’, उनले तितो अनुभव सुनाए, ‘विदेशमा जस्तो पनि काम गर्न हामी तयार हुन्छौँ, मेरा साथीहरु पनि विदेश छन्, उनीहरुको अनुभव सुनेको छु। तर यहाँ काम गर्न खोज्दैनाैँ।’

उनी स्थानीय मौलिकतालाई बढी जोड दिन्छन्। गोठालो फास्टफुड पनि स्थानीय उत्पादन, परिकार र स्वादको स्टेसन बनाउने उनको योजना छ।

अहिले पनि गोठालो क्याफेमा भेज केक, कोदोको परिकार मात्रै पस्कदैनन्, त्यसको स्वाद परीक्षण गरिदिन र छुट लिन पनि पाहुनालाई अपिल गर्छन उनी।

राष्ट्र र राष्ट्रियता शब्दमा फलाकेर होइन, व्यवहारमै माया गरेर मात्र हुने सोचका धनी दिनेश राष्ट्रमै बसेर राष्ट्रिय उत्पादनलाई उजागर गर्ने योजनामा छन्।

उनी राजनीति गर्छु भन्ने झोले र चम्चाले नै देश बर्बाद गरेकोमा सहमत छन् र क्याफेको भित्तामा लेखेका छन्- ‘साँचो भन्दछु देशका जहर हुन् झोले र चम्चाहरू।’

संजाेग कस्तो पर्यो भने एमाले अध्यक्ष केपी ओलीले म झोले हुँ भन्दै उनका कार्यकर्ताले झोले अभियान चलाउनुभन्दा पाँच, सात दिन अघि मात्रै उनले टिकाराम शर्मा पौडेलको शब्दमा शिशिर योगीले आवाज दिएको यो गीतको हरफ क्याफेका भित्तामा लेखेका थिए।

सोझा कर्मठ पौरखी जनहरू मुग्लान भाग्ने भए ।
नाघी सात समुद्र कर्मपथको आधार नाप्ने भए ।।
लोभी भ्रष्टहरू र राज्य दुहुने छन् आततायीहरू ।
साँचो भन्दछु देशका जहर हुन् झोले र चम्चाहरू ।।

दिनेशले अनुभव सुनाए- ‘मैले गीतले बोलेको सत्य भित्तामा लेखेँ। यो एउटा हरफले दुई तीन जना मेरो क्याफेमा आउनै छोडे, कतिपय ग्राहकहरु अहिले पनि हामीले झोला बोकेका छौँ, आउँ कि नआउँ भनेर जिस्कनुहुन्छ।’

तर सत्य चैँ देश बिगारेकै झालेले हो भन्नेमा उनी अडिग छन्। युवाले सत्य बोल्न र सत्य स्वीकार्न डराउनु हुँदैन भन्ने उनको मत छ।

आफूजस्ता कैयौँ युवा देशमै केही गर्न चाहने भए पनि इलम गर्न व्यहोर्नुपर्ने झण्झटिला र बोझिला प्रक्रियाले भने आजित भएको उनी सुनाउँछन्।

‘एउटा सानो स्वरोजगारमुलक इलम/व्यवसाय दर्ता गर्न पनि १० ठाउँ धाउनुपर्छ। वडामा दर्ता गरेर पुग्ने बनाउनु नि’, उनले भने, ‘एउटा निकायमा दर्ता गरेर पुग्दैन । घरेलु, वडा कार्यालय, कर कार्यालय, कता कता पुग्नुपर्छ । महिना दिन धाउनुपर्छ। कति ठाउँमा पुग्ने ?’ यो सबै एकद्वार भइदिए उद्यमीहरुलाई सहज हुने उनले बुझेका छन्।

आँटिसकेपछि हार मान्नु हुँदैन भन्ने उनको सुझाव छ। ‘अब त धेरै हन्टर खाइयो, अनुभव गरियो। अबको १० वर्षमा गोठालोको सानो साम्राज्य बनाउने सपना छ’, उनले अठाेट सुनाए।

केही शाखा, केही फरक सेवा सुरु गरे पनि तीँ सबैमा स्थानीय वस्तु, उत्पादन र मौलिक चिजहरुलाई उजागर गर्ने योजना रहेको उनले सुनाए। दिनेशको सपना साकारीको अर्को कथा लेख्न पाइयोस-सुभकामना!