
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी नेतृत्व राष्ट्रिय संकटका बेला आफ्नो जिम्मेवारीबाट चुकेको भन्दै गम्भीर आत्मालोचना गरेका छन् ।
जारी केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव पेस गर्दै महरले पार्टी व्यक्तिगत स्वार्थ, आन्तरिक गुटबन्दी र खिचातानीमा अल्झिएकाले देशलाई नेतृत्व दिने ऐतिहासिक अवसर गुमाएको निष्कर्ष निकालेका हुन् ।
महरले आफ्नो प्रस्तावमा पार्टीले संकटका बेला गरेका तीन प्रमुख कमजोरी किटान गरेका छन् । उनका अनुसार, पार्टीले आन्दोलनरत जेन-जी युवाहरूसँग आधिकारिक वार्ताको पहल गरेन, संकट समाधानका लागि सर्वदलीय राजनीतिक संवादको नेतृत्व गर्न चुक्यो र आन्दोलन एवं त्यसका मागहरूप्रति आफ्नो स्पष्ट आधिकारिक धारणा सार्वजनिक गर्न सकेन । यिनै कमजोरीका कारण पार्टी जनताको नजरमा कमजोर देखिएको उनको ठहर छ ।
यी कमजोरीहरूले गर्दा पार्टी र जनताबीच दूरी बढेको भन्दै महरले अबको दायित्व जनताको भरोसा पुनःस्थापित गर्नु रहेकोमा जोड दिएका छन् ।
‘देश रहे मात्र पार्टी रहन्छ, देश समृद्ध भए मात्र पार्टी बलियो हुन्छ’ भन्ने सूत्रलाई आत्मसात् गर्दै अब गुटगत राजनीतिबाट माथि उठ्नुपर्ने उनको भनाइ छ । उनले यही केन्द्रीय समिति बैठकबाट राष्ट्रिय संकटबारे स्पष्ट मार्गचित्रसहितको कार्ययोजना सार्वजनिक गर्न माग गरेका छन् ।
१५ औं महाधिवेशनका सशक्त महामन्त्री उम्मेदवारका रुपमा उदायका महरले केन्द्रीय समिति बैठकमा गम्भीर समिक्षा गरेका छन्।।



