Logo
२४ कात्तिक २०८२, सोमबार

मधेश प्रदेश प्रमुख सुमित्रा पदमुक्त, लाभको नाम सिफारिस

अक्षरपाटी
२०८२ कात्तिक २४ , सोमबार ०७:११ मा प्रकाशित

काठमाडौं। उपचार गर्न काठमाडौं जान्छु भनेर बाटैमा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाइएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाएको सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

उपचारका लागि काठमाडौं जान्छु भनेर घरबाट हिँडेकी प्रदेश प्रमुख भण्डारीले बाटोमै एक होटेलमा बोलाएर एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त मात्र गरिनन्, सपथ समेत गराएकी थिइन्।

एकदिन अगाडिकै मिति राखेर संविधानको धारा १६८ को उपधार २ अनुसार सम्भावना हुँदा हुँदै उनले धारा ३ प्रयोग गरेकी थिइन्। जसले मधेश प्रदेशमा हंगामा भएको थियो।

भण्डारीको ठाउँमा मधेश प्रदेशको प्रमुखका लागि सरकारले सुरेन्द्र लाभ ‘कर्ण’को नाम सिफारिस गरेको छ।

आजको मन्त्रिपरषद् बैठकले सुरेन्द्रलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो।