
o लेनिन बञ्जाडे
म भगौडा हुँ । त्यसैले म लुसुक्क भागें ।
तर, देश त्यहीँ छ । नागरिक त्यहीँ छन् । मेरा बा-आमा त्यहीँ छन् । मेरा दाजुभाइ र दिदीबहिनीहरू त्यहीँ छन् । मेरा संगीहरू त्यहीँ छन्। र, मैले छाडेका असंख्य सम्झना र स्मृतिहरू त्यहीँ छन्।
त्यसैले म बोलिरहन्छु । लेखिरहन्छु । जब-जब मन पोल्छ, तब-तब लेख्छु । मेरो मन पनि ती आमा-बाबु जस्तै पोलिरहेको छ, जसले दुई महिनाअघि मात्रै स्कुलरकलेज पढ्ने कलिला छोराछोरी गुमाएका छन्। छोराछोरी मात्रै होइन, जीवन जिउने उद्देश्य नै गुमाएका छन्।
भर्खर सपना देख्न थालेर हिँड्न सिकेका जेन-जीको आन्दोलनले एक्कासि सत्ताका पात्रहरू फेरिदियो। अहंकारको तातो सिरक ओढेर घुरिरहेका कुम्भकर्णहरूको ओच्छ्यानमा आगो लगाइदियो। जीवनभरि लुटेर घरभरि पैसा थुपारेका दाइ-भाउजूहरूलाई महलबाट एकैपटक अस्पतालका क्याबिनमा हुर्याइदियो।
हामीलाई लाग्यो— ल, अब देश जाग्यो ।
भदौ २३ र २४ गते जागेको देश कात्तिक २४ गते काटिनसक्दै फेरि सुत्यो। आन्दोलनले सत्ता त फेरिदियो तर तिनै पात्रहरूको हुँकारले सहिद बालबालिकाका आमा-बाबुहरू राम्ररी निदाउन सकेका छैनन्।
१५-२० दिन पालेका खसीबाख्रा काटिँदा त मन अमिलिने हाम्रा आमा-बाबुहरू आफ्नै शरीरका टुक्रा झैं सन्तान गुमाउँदा कुन विरहले रोइरहेका होलान्?
हरबखत तिनै छोराछोरी सम्झिएर भक्कानिने आमा-बुवाको अनुहार सम्झिनुहुन्छ !
म सम्झिन्छु ।
देश थोरै बस्नलायक होओस् भनेर छातीमा गोली खाएका ती अबोध केटाकेटीमा मैले आफ्नै छोरोको अनुहार देख्छु। छोरोको निधार छुसुक्क तातिँदा मेरो ओठमुख सुक्छ। आफ्ना सन्तानको निधारमा गोली देखेका ती आमा-बाबुहरूको त जीवनकै धमनी सुक्यो।
ती शोकमग्न आमा-बाबुको आँसुले पोल्छ भने हामीलाई नुन, तेल, जिराधनियाँ र बाटोभन्दा ठूला सपना देख्नै नदिने कपुतहरू सम्झिनुस्। तपाईंको घरदैलोमा हात फैलाउँदै मतको भिख मागिरहेका कुपात्रहरू सम्झिनुस्।
२०४८ सालदेखि हरेक निर्वाचनमा उनीहरूले बेचिरहेका नारा सम्झिनुस्। व्यवस्था फेर्न सडक उचाल्नेहरूले कसरी आफ्नो र आसेपासेको जीवन उचाले, हिसाब राख्नुस्।
२०४८ सालदेखि हरेक निर्वाचनमा उनीहरूले बेचिरहेका नारा सम्झिनुस्। व्यवस्था फेर्न सडक उचाल्नेहरूले कसरी आफ्नो र आसेपासेको जीवन उचाले, हिसाब राख्नुस्।
जनताको मुक्ति भन्दै जंगल तताएर पछि आफ्नो मात्रै मंगल गर्नेहरूको खाता पल्टाउनुस्। आफू र परिवारको अनुहार हेर्नुस्। हामीलाई संसारभन्दा २ सय वर्षपछाडि धकेल्ने दाजु-भाउजू, बा र नानीका बाहरू सम्झिनुस्।
रोजगारी सिर्जना भन्दै दशकौंदेखि पासपोर्ट मात्रै सिर्जना गर्नेहरू चिन्नुहुन्छ !
म चिन्छु।
म उनीहरूलाई पनि चिन्छु, जसले अस्पतालमा लम्पसार परेर दाइ-भाउजूलाई त्यही पासपोर्टका दुई प्रति भक्ति चढाएका छन्।
म ती अहंकारीलाई पनि चिन्छु, जो कलिला नानीबाबु हत्याको पाप बोकेर गुन्डुमा बर्बराइरहेका छन्।
प्रचण्ड, माकुने, झलनाथ जस्ता निम्छराहरू त खण्डहर घरका रित्ता भित्ता भइसके। उनीहरूको अनुहारबाट राजनीतिका सबै धर्सा र रंग हराइसके। यो चुनावले उनीहरूको त्यही रंगहीन अनुहारमा रातो मसीले ‘अनुत्तीर्ण’ लेखिदेओस्।
उनीहरूले देश होइन, आफू जन्मेको वडा पनि सम्हाल्ने औकात राख्दैनन्। देउवा त छेउ लागे, बाँकी अनुहारलाई यसपालि बिदा गरेर देशले दशकौंदेखिको पापमोचन गरोस् !
किनकि— कांग्रेसको रुखले कहिल्यै शीतल र ओत दिएन। एमालेको सूर्यले कहिल्यै ताप र उज्यालो दिएन। माओवादीको हँसिया-हथौडाले मान्छे काट्यो, टाउको फुटाल्यो तर घाँससम्म काटेन, ढुंगा पनि फोडेन। राप्रपाको गाईले दूध छाडौं, गोबरसम्म दिएन।
आखिर के दिए त ?
दिए नि । नमक हरामहरू दिए।
त्यसैले, फागुनको चुनाव विशेष छ। हामीले विगतमा गरेका गल्तीमा प्रायश्चित गर्ने त्यही दिन हो। नत्र स-साना चिल्ला बाटामा चित खाएरै हाम्रो बाँकी जिन्दगी सकिन्छ। हाम्रा सन्ततिको जीवन पनि खाडी, मलेसिया, क्यानडा र डीभीको लाइनमै बितिजानेछ।
त्यसैले नागरिक बनौं, कार्यकर्ता नबनौं।
जुन देशमा नागरिकभन्दा कार्यकर्ता बढी हुन्छन्, त्यो देश नेपाल जस्तै हरितन्नम हुन्छ।
त्यसैले, यो देशका शनि र शकुनीलाई यसपटक भोट हालेको औंलो देखाइदिऊँ- मिल्छ भने बिच्चको!
(पत्रकार बञ्जाडे हाल क्यानडामा हुनुहुन्छ)



