Logo
९ मंसीर २०८२, सोमबार

पढाइ छाडेर भारत हिँडेका लोकेन्द्र —१० वर्षपछि एकै वर्ष सातवटा लोक सेवा पास

अक्षरपाटी
२०८२ मंसीर ९ , सोमबार ०२:११ मा प्रकाशित

अछाम । १३ वर्षको छँदा ९ कक्षामा पढाइ छाडेर भारत गएका अछामका २३ वर्षीय युवकले एकै वर्ष सात ठाउँमा लोक सेवा आयोगको परीक्षा पास गरेका छन् ।

दुई वर्ष भारतमा मजदुरी गरेर फर्केका उनले हेल्थ असिस्टेन्ट (एचए) को पढाइ सकेर लोक सेवाको तयारी गरेका थिए । २०८१ पुसदेखि भदौसम्म उनले आयोगको सात ठाउँमा नाम निकालेका छन् ।

मंगलसेन नगरपालिका—४ नवबीसका २३ वर्षीय लोकेन्द्र बोहराले एक वर्षको अवधिमा लोक सेवा आयोगका ७ वटा परीक्षामा नाम निकालेका हुन् । २०८१ पुसमा उनले पहिलो पटक गण्डकी प्रदेश अहेब (चौथो तह) का लागि आयोगको परीक्षा दिएका थिए । पहिलो प्रयासमै पास भएका लोकेन्द्रले एक वर्षमा दिएका आयोगका ७ वटै परीक्षा उत्तीर्ण गरे । उनी भदौ २० गतेबाट कालीकोट जिल्ला अस्पतालमा हेल्थ असिस्टेन्ट (पाँचौं तह) पदमा कार्यरत छन् ।

आयोगले निकालेको नतिजामा क्रमशः कोशी प्रदेश हेल्थ असिस्टेन्ट (पाँचौं तह), गण्डकी प्रदेश हेल्थ असिस्टेन्ट (पाँचौं तह), कोशी प्रदेश अहेब (चौंथो तह), नेपाल प्रहरीको प्राविधिक प्रहरी सहायक निर्देशक (सीएमए) (चौंथो तह) र संघीय लोक सेवा आयोगको राष्ट्रिय परीक्षा अनुगमन (हेल्थ असिस्टेन्ट) पाँचौं तहमा नाम निकालेका हुन् ।

आयोगका सात वटा परीक्षामा उत्तीर्ण भएका बोहरा सामान्य परिवारका हुन् । मंगलसेन नगरपालिका–४ स्थित राधा माध्यमिक विद्यालयमा कक्षा ६ सम्म र वडा ५ मा रहेको शोडषा माविमा कक्षा ९ सम्म पढेर उनी भारत हिँडे । ‘९ कक्षा पुगिसकेपछि पढ्न मनै गएन । पढाइ सक्दिन भनेर हरेश खाइसकेको थिए,’ लोकेन्द्र भन्छन्, ‘कक्षामा पनि बस्नै मन लाग्दैनथ्यो । पछाडिको बेञ्चमा गएर बस्थें । पढ्नै सक्दैन भन्ने लागेपछि ९ कक्षामा पढाइ छोडेर १३ वर्षको उमेरमा काम गर्न भारत गएँ ।’

लोकन्द्रका ४ दाजुभाई छन् । जेठा दाजु भारतमै बस्छन् । उनकै भरोसामा भारत गएका लोकेन्द्रले पुणे सहरको एक पुस्तक पसलमा सरसफाइको काम पाए । ‘मासिक ६ हजार भारु पाइन्थ्यो । दुई वर्ष त धेरै दुःख पाएँ । पढाइ छाडेकोमा पछुतो पनि हुन्थ्यो,’ लोकेन्द्रले भने, ‘फेरि पढौंला भन्ने त सोचेको पनि थिएन् । आमा र दाजुले हाम्रा लागि भए पनि घर आएर पढ्नु पर्छ भनेर बोलाउन थाले ।’

हेल्थ असिस्टेन्ट पदमा कार्यरत उनका दाजु अर्जुन बोहराको सपना पनि भाईले पढेर सरकारी जागिर गरोस् भन्ने थियो । ‘एक दिन दाइले पढ्नुपर्छ । घर फर्क भन्नुभयो । भारतमा काम गर्दा दुःख पनि थियो । त्यताबाट घर फर्किएँ,’ लोकेन्द्रले भारतबाट नेपाल आएको सम्झदै भने,‘पहिले ९ कक्षामा छाडेको स्कुलमा फेरि पढ्न लाज लाग्यो । आफूभन्दा जुनियर भाइबहिनी जिस्काउलान् भन्ने सोच्थें ।’

लोकेन्द्रले महोत्तरीको गौशालास्थित त्रिभुवन माविबाट २०७६ मा एसईई गरे । ‘दाईको जागिर महोत्तरीमा भएर त्यतिबेला म पनि उतै गएँ । कोभिडको कारणले विद्यालयले आन्तिरिक मूल्यांकन गरेर एसईईका नम्बर दिएको थियो,’ उनले भने,‘एसईईप्छि धनगढीमा तीन वर्षे हेल्थ असिस्टेन्ट पढेँ ।’

हेल्थ असिस्टेन्ट दाजु अजुर्न त्यतिबेला महोत्तरीको बर्दिबासमा कार्यरत थिए । ‘दाजुले उतै ९ कक्षामा पढ्न बोलाउनु भयो । गणित र अंग्रेजीमा कमजोर भएकाले दाइकै निगरानीमा पढेँ,’ उनले भने, ‘दाइले पढ्नुपर्छ भनेर नबोलाएको भए अहिले म भारतमै मजदुरी गरिरहेको हुन्थे । १३ वर्षको उमेरमा पढ्न हरेश खाएर भारत गएको मेरो अहिले पढाइ नै लत भएको छ ।’

एचएको अन्तिम परीक्षा दिएर भेटघाटका लागि घर आएका बेला नै अर्को पटक लोक सेवाको नियुक्ति ल्याएर मात्रै आउने अठोट बोकेर तयारीका लागि काठमाडौं गएको लोकेन्द्रले सुनाए । २०८० पुसमा काठमाडौंमा लाइसेन्स र लोक सेवाको तयारी गर्न भनेर होस्टेलमा बसेर पढ्न थाले । २०८१ जेठमा पहिलो प्रयासमै लाइसेन्स परीक्षा उर्त्तीण गरेपछि उनी लोक सेवाको तयारीमा लागे । ‘साथीसंगत, सामाजिक सञ्जाल, आफन्तसँगको भेटघाट सबै रोकें । दसैंतिहारमा पनि घर गइएन । सानैदेखि पढाइमा अब्बल नभएकाले मैले अरुभन्दा बढीनै मिहनेत गर्नुपर्छ भन्ने लाग्थ्यो,’ उनले भने ।

काठमाडौं उपत्याकाभित्र रहेका काठमाडौं लाइब्रेरी, केशरमहल, नेपाल लाइब्रेरीलगायत सबै पुस्तकालयमा बसेर पढेको उनले बताए । आफू बस्ने होस्टेलको कोठाको भित्तामा समेत लोक सेवा तयारीका सामग्री हातले लेखेर टाँस्ने गरेको उनले बताए । ‘यति सबै ठाउँमा नाम निकाल्छु भन्ने त लागेको थिएन । पढाइको निरन्तरता र आत्मविश्वास भए लोक सेवा पास गर्न असहज रहेनछ ।’

लोक सेवाका सात परीक्षामा लिखितमा नाम निकालेका लोकेन्द्रले अन्तरवार्ता भने तीन ठाउँमा मात्रै दिए । सबैभन्दा पहिले गण्डकी प्रदेशको पाँचौमा नाम निकालेका उनी अन्तरवार्तामा वैकल्पिकमा परे । दोस्रोमा गण्डकी प्रदेशको अहेब पास भएर म्याग्दीको रघुगंगा गाउँपालिकामा पोस्टिङ भए ।

त्यतिबेलै कर्णाली प्रदेशको हेल्थ असिस्टेन्ट (पाँचौ) मा अन्तरवार्तामा नाम निस्किएपछि उनी म्याग्दी गएनन् । त्यसपछि कोशी प्रदेश हेल्थ असिस्टेन्ट, कोशी प्रदेश अहेब, नेपाल प्रहरीको प्राविधिक प्रहरी सहायक निरीक्षक (सीएमए) मा उनी आफै अन्तरवार्ता दिन गएनन् । ‘कर्णाली प्रदेशमा नाम निकालेर अहिले कालीकोट जिल्ला अस्पतालमा काम गरिरहेको छु । घरनजिक भएकाले यतै काम गर्ने निधो गरें ।’ उनी संघीय लोक सेवा आयोगको हेल्थ असिस्टेन्ट (पाँचौ तह)मा भने अन्तरवार्ता दिने तयारीमा छन् ।

भारतमा काम गर्दागर्दै बुवाको हृदयघातका कारण मृत्यु भएपछि कष्टपूर्ण जीवन बाँच्नु परेकाले भाईलाई पढाएर नेपालमै सरकारी जागिर गरोस् भन्ने सपना पूरा भएको दाजु अर्जुनले बताए । ‘भारतमा काम गर्दागर्दै हृदयघात भएर बुवाको मृत्यु भयो । हाम्रो परिवारको खुसी भारतमै लुटिएको थियो,’ अर्जुनले भने, ‘बालखमै भाइ भारतमा अरुको काम गरिरहेको हेर्नै सकिन । पढ्नुपर्छ भनेर बोलाएँर महोत्तरीमा आफैंसँग राखेर पढाए, लगातार लोक सेवा निकाल्दा मेरो र आमाको सपना पनि पूरा भएको छ । परिवारमा खुसी फर्किएको छ ।’

ट्रेन्डिङ ( साप्ताहिक )