Logo
२४ वैशाख २०८३, बिहीबार

राष्ट्रियसभा निर्वाचनका लागि ८ पार्टीले गरे दल दर्ता, कांग्रेसको बाँकी

अक्षरपाटी
२०८२ मंसीर ७ , आईतबार ११:११ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो। मंसिर १ गतेदेखि एक साताको समय दिएर निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको थियो।

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने तय छ। आउँदो फागुन २० गतेदेखि राष्ट्रिय सभाका एक तिहाइ पद रिक्त हुँदैछ।

राष्ट्रिय सभाका अध्यक्ष दाहालको पनि आउँदो फागुनबाट कार्यकाल सकिन्छ। रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो।

निर्वाचन आयोगका अनुसार शुक्रबारसम्म ८ दलले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका छन्।

पुष्पकमल दाहाल(प्रचण्ड) संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी, केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा (एमाले), उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले दल दर्ता गरेका छन्।

त्यस्तै नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी, विश्वेन्द्र पासवान नेतृत्वको बहुजन शक्ति पार्टी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सिके राउत नेतृत्वको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका छन्।

नेपाली कांग्रेसले आइतबार दल दर्ता गर्ने तयारी गरेको छ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका मेयर र उपमेयर र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता रहनेछन्।