Logo
१० मंसीर २०८२, मंगलबार

टाउकोमा कालोपट्टी बाँधेर मिरज समूह प्रदर्शनमा

अक्षरपाटी
२०८२ मंसीर १० , मंगलबार ०१:११ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै मंगलबार पनि सिंहदरबार गेटअगाडि मिरज ढुंगाना समूहले प्रदर्शन गरे ।

आइतबार बैठक बसेर सोमबारबाट निरन्तर आन्दोलनमा जाने बताएको यो समूहले मंगलबार टाउकोमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

सिंहदरबार प्रवेश गर्न खोज्दा मिरज समूह र प्रहरीबीच केहीबेर धकेलाधकेल भयो । सिंहदरबार गेट पुगेर गिरफ्तारी दिने योजनामा रहेको यो समूहलाई प्रहरीले रोकेको छ ।

सोमबार पनि सिंहदरबार गेटअगाडि पुगेर प्रधानमन्त्री भेट्न नपाएपछि यो समूहले असन्तुष्टि जनाएको थियो । प्रधानमन्त्रीलाई बुझाउने भनिएको मागपत्र गेटमै टाँसेर हिँडेको थियो ।

मिरज नेतृत्वको गरिखान देउ अभियानका अगुवा हरिष भट्टकाअनुसार मंगलबार भने प्रधानमन्त्रीलाई भेट्ने भन्दा पनि गेटअगाडि गएर प्रदर्शन गर्ने योजना थियो ।

‘आज हामी सिंहदरबार पुगेर गिरफ्तारी नै दिने पूर्वयोजना थियो । सोहीअनुसार प्रदर्शनको लागि गएका हौँ । अब यो आन्दोलन हाम्रो माग पूरा नभएसम्म निरन्तर जारी रहन्छ,’ उनले भने ।

सोमबार यो समूहसहित अन्य जेनजी अगुवाले विभिन्न विषय समेट्दै ८ बुँदे संयुक्त मागपत्र सिंहदरबाको गेटमा टाँसेको थियो ।

मागपत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित भदौ २३–२४ को घटनामा संलग्न सबैलाई पक्राउ गर्न, वर्तमान संविधान संशोधनको लागि सर्वपक्षीय सरकार बनाउने र घोषित निर्वाचन रोक्न माग गरिएको छ ।

मागपत्रमा सबै राजनीतिक दलका नेता तथा पूर्वसांसद–मन्त्रीहरूको चलअचल सम्पत्ति रोक्का गर्न, शक्तिशाली भ्रष्टाचार निर्मुल आयोग गठन गर्न, सरकारी सेवामा दलीय कर्मचारी संगठन सदाका लागि प्रतिबन्ध गर्न, जेनजी निगरानी आयोग बनाउन र शहीद–घाइते परिवारलाई तत्काल रोजगारी दिने माग पनि समेटिएको छ ।

यसरी आफ्ना माग पूरा नभएसम्म नछोड्ने बताएको यो समूह अहिले सिंहदरबार आसपासमा प्रहरीसँग धकेलाधकेल गरिरहेको छ ।

‘हामीलाई अनामनगरको बार्दलीसम्म प्रहरीले पन्छाएको छ । तर, हाम्रा साथीहरू फेरी सिंहदरबारतिरै जान खोज्दै हुनुहुन्छ । आज जसरी पनि त्यहाँ प्रदर्शन गरिन्छ,’ भट्टले भने ।

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरूलाई सचिवालयमा नियुक्ति दिलाएको खुलेपछि मिरजसहितका जेनजी समूह आक्रोशित बनेका छन् ।

ट्रेन्डिङ ( साप्ताहिक )