
काठमाडौं । NPL मा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको काठमान्डु १९.४ ओभरमा अलआउट हुँदै १४२ रनमा रोकियो ।
काठमान्डुका लागि जोन सिम्पसनले अर्धशतकीय पारी खेले । उनले २०० भन्दा बढीको स्ट्राइट रेटमा ३ चौका र ५ छक्कासहित ६० रन जोडे । सिम्पसनलाई गतिलो साथ दिएका मिलिन्द कुमारले ३८ रन बनाए । उनीहरूले ९८ रनको साझेदारी गरेका थिए ।
ओपनरद्वय बेन चार्ल्सवर्थ र आकाश त्रिपाठीले राम्रो प्रदर्शन गर्न सकेनन् । चार्ल्सवर्थले १३ रन बनाउँदा त्रिपाठी भने ४ रनमै आउट भए । राशिद खानले ६ रन बनाउँदा मोहमद आदिल आलम भने ८ रनमा आउट हुन पुगे ।
चितवनका लागि सोहेल तनवीरले उत्कृष्ट प्रदर्शन गरे । उनले एकै ओभरमा दुईसहित चार विकेट लिए । चार ओभर बलिङ गरेका तनवीरले २५ रन मात्रै खर्चिए ।
सञ्जित कुमारले दुई विकेट लिँदा कमल ऐरी र रवि बोपाराले भने एक-एक विकेट लिए ।
चितवनले हालसम्म ३ खेल खेल्दा २ जित र १ हारको नतिजा निकालेको छ । काठमान्डुले ४ खेलमा २ जित र २ हारको नतिजा निकालेको छ । दुवै टोलीको समान ४ अंक हुँदा नेट रनरेटमा चितवन अघि छ र तेस्रो स्थानमा छ ।



