
० अक्षरपाटी विशेष
तातेताते गर्दै । बाटोभरि खेल्दै, धुलो उँडाउँदै । एकदेखि तीन कक्षा वनदेवी मन्दिरनेर रहेको तत्कालीन गोमती स्कुलमा पढे। त्यसबखत त के सपना हुनु र! कतिबेला स्कुल छुट्टी होला, दगुर्दै, उर्फँदै घर पुगुँला र बेस्मारी खेलौँला भन्नु नै एकमात्र सपना हुन्थ्यो। स्कुलबाट छिट्टै उन्मुक्ती होस भन्ने नै मनभरी कामना हुन्थ्यो।
कक्षा ४ पढन त्रीनगर माध्यमिक विद्यालय धनगढीमा भर्ना भएपछि भने जनकराज जोशीले सपना देख्न थाले। भविश्यको कल्पना गर्न थाले। मनमा योजना बुन्न लागे।
विद्यालयमा गुरुहरुले सोध्थे– के बन्छौँ ?
उनको सपाट उत्तर हुन्थ्यो– डाक्टर बन्छु।
चाहना मात्र थिएन। उनले भविश्यको योजनामुताविक ‘डाक्टरी व्यवहार’ पनि प्रदर्शन गर्न थाले। सँगै पढ्ने साथी दाद (डाबर) को समस्याले पीडित थिए।
‘मेरी आमा जडीबुटिको जानकार हुनुहुन्थ्यो’, जोशीले बालापन सम्झिए, ‘आमाले दाद, खुजली, डाबरमा लगाउन बाबरी फूल र खै केको झोल बनाएर राख्नु भएको थियो।’

जोशीले तीं साथीलाई त्यही झोल सानो सिसीमा ल्याएर दिए। एउटा निको साबुन पनि दिए। ‘साबुनले राम्ररी धोएर यो झोल लगाउनु’ भने। उनलाई केही दिनमै निको भयो। उनलाई अचेल लाग्छ– सरसफाइमा ख्याल गरे निको हुने रोग थियो, निको पनि किन नहोस।
त्यसपछि पनि यस्ता तमामौँ याद उनले संगालेका छन्। कसैको दाँत दुख्दा होस् या टाउको दुख्दा, घरमा आमाले बनाएको जडीबुटिको धुलो र झोल ल्याएर बाँढिहाल्थे। साथीहरुलाई निको पनि हुन्थ्यो।
ख्यालठट्टाजस्तो यो बानीले उनको डाक्टर बन्ने सपना झन झाँगिदै गयो। दुबो झैँ मौलाउँदै गयो। त्रीनगरबाट एसएलसी पास भएपछि भने मनमा उडान भरिरहेका सपनाले एकाएक यथार्थमा अवतरण गर्यो।
पढाइमा मध्यम। आर्थिक अवस्थाले नभ्याएपछि उनको डाक्टर बन्ने योजना त्यत्तिकै थाती रह्यो। उनी डाक्टर बन्ने यात्राबाट मोडिएर कैलाली बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय लिएर पढ्न थाले। त्यहाँबाट २०४४ सालमा स्नातक सके। त्रिभुवन विश्वविद्यालयबाट कृतिपुरबाट स्नात्तकोत्तर गरेका उनले संजोगले नेपाल परिवार नियोजन संघ (एफपिएन) मा सेवाको मौका पाए।
डाक्टर बनेर दुःखी गरिबको स्वास्थ्य सेवा गर्ने चाहना उनको हृदयमै थियो। परिवार नियोजनमै बसेर भए पनि मिल्दोजुल्दो क्षेत्र भएकाले आफ्ना रहर र कर्तव्यलाई एकसाथ जोडेर त्यहाँ सेवा गरे।
‘डाक्टर बन्न नसकेको पीडा थियो,’ उनले भने, ‘परिवार नियोजनसँग जोडिएपछि एकखालको आनन्दानुभूति पनि भयो।’ २० वर्ष त्यतै सेवा गरेका जोशीले परिवार नियोजन संघको क्षेत्रीय तालिम प्रमुखको जिम्मेवारीसम्म सम्हाले।
अनि स्थापना भयो कैलाली हस्पिटल
डाक्टर बन्ने जिजीविषा मनमै दमित थियो। त्यसमाथि बुवालाई बिसञ्चो भइरहने। उपचारका लागि भारतका अस्पताल धाइरहनुपर्ने। त्यसले उनको पुरानो डाक्टर बन्ने सपनालाई झन उधिन्ने काम गर्यो।
किन भने त्यसबेला धनगढी मात्र होइन सिंगो सुदूरपश्चिममै गतिलो उपचार पाइँदैन थियो। सरकारी अस्पतालमा दरबन्दी अनुसारका डाक्टरै हुँदैन थिए (अहिले पनि छैनन्) । यहाँका ९० प्रतिशत बिरामीले उपचारका लागि भारतकै भर पर्नुपर्थ्याे।
२०४९ सालतिर कैलालीको पूर्वी किनारमा रहेको चिसापानीस्थित कर्णाली नदीमा पुल बनेपछि भने आर्थिक अवस्था सबल हुनेहरु उपचारका लागि काठमाडौंसम्म पुग्न थाले।
डाक्टर बन्ने आफ्नो सपना अधुरै भइदिनु र यस भेगमा उपचार पनि गतिलो नपाइने पीडा जोशीले अब स्वास्थ्य क्षेत्रमै केही गरेर देखाउने सपनामा परिणत गरे।
‘आफै डाक्टर भएर बिरामीलाई निको बनाउने सपना पुरा नभए के भो त ? बिरामी निको बनाउने ठाउँ त बनाउँन सकिन्छ नि!’ जनकराज जोशीकाे अन्तरमनमा लाग्यो।
‘त्यसपछि मैले गोपाल हमाल, मायाप्रकाश भट्ट, दामोदर दाइहरुसँग सल्लाह गरेँ’, जोशीले कैलाली हस्पिटल प्रा.लि. स्थापनाको कथा सुनाए, ‘२०६८ तिर मेडिकल खोलेँ, पछि २०७० मा भएकाे जायजेथाबाट २५–३० लाख थपेर एक जना मेडिकल अफिसर र एक जना विशेषज्ञ डाक्टरबाट १५ शय्याको कैलाली हस्पिटल प्रालि स्थापना भयो।’

तत्कालीन सेती अञ्चल अस्पतालमा दरबन्दीअनुसार डाक्टर थिएनन्। उपकरण थिएनन्। यस क्षेत्रका बासिन्दालाई उपचारका लागि अन्य विकल्प बिरलै थिए। सुदूरपश्चिमका बिरामीलाई लक्षित गरेर भारतीय सीमा बजारमा बर्गेल्ती अस्पताल र क्लिनिकहरु खुलेका थिए।
उनीहरुका एजेन्टहरु धनगढी, कञ्चनपुर मात्र होइन सुदूरपश्चिमका पहाडसम्मै फैलिएका थिए। भारतमा खुलेका अस्पताल र क्लिनिकहरुको उद्देश्य उपचार कम, कमाउने ज्यादा थियो। बिरामी लुटिएको कथा सामान्यजस्तै लाग्थ्याे। कैयौँका त मृगौला चोरिएका समाचार पंतिकारले नै लेखेको सम्झना छ।
जनकराज जोशीले कैलाली अस्पताल त खोले। तर त्यसबेलाका सुदूरपश्चिमका डाक्टरहरुको साथ पाएनन्। ‘तैपनि मैले हिम्मत हारेन,’ उनले अस्पताल खोल्दाका सुरुवाती दिन सम्झिए, ‘सरकारीमा कार्यरत केही डाक्टरलाई पार्टटाइम सेवाका लागि अनुरोध गरेँ, कतिपय विशेषज्ञलाई साप्ताहिक र मासिक रुपमा काठमाडौंबाट बोलाएँ ।’
जनकराज जोशीले कैलाली अस्पताल त खोले। तर त्यसबेलाका सुदूरपश्चिमका डाक्टरहरुको साथ पाएनन्। ‘तैपनि मैले हिम्मत हारेन,’ उनले अस्पताल खोल्दाका सुरुवाती दिन सम्झिए, ‘सरकारीमा कार्यरत केही डाक्टरलाई पार्टटाइम सेवाका लागि अनुरोध गरेँ, कतिपय विशेषज्ञलाई साप्ताहिक र मासिक रुपमा काठमाडौंबाट बोलाएँ ।’
स्थापनाको केही समयमै कैलाली अस्पताल छाला रोग, न्यूरो, मानसिक रोग, ग्यास्ट्रिकलगायतको उपचारका लागि कहलिन थाल्यो। छालादेखि मानसिक समस्या र पेटको रोगले ग्रसित कैयौँ बिरामी भारतको बिभिन्न ठाउँमा भौतारिनुपर्ने अवस्थामा कमी ल्याउनमा कैलाली अस्पतालले ठूलो भूमिका खेल्यो।
दुई जना जनशक्तिको भरमा सुरु भएको कैलाली अस्पतालमा आज १६ जना त विशेषज्ञ डाक्टर मात्रै छन्। नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारी गरेर अस्पतालमा आज १३२ जना कार्यरत छन्।
१५ शय्याको अस्पताल एक सय शय्याको क्षमतामा विस्तार भइसकेको छ। सञ्चालनमा २५ शय्या भए पनि बाँकीका लागि प्रक्रिया अगाडि बढेको जोशीले सुनाए।
जम्माजम्ममी ४० लाखजतिबाट सुरु भएको अस्पतालको आजका दिनसम्मको लगानी मात्रै ४० करोड नाघेको छ। थप जगा लिएर सेवा विस्तारको योजनामा कैलाली हस्पिटल छ। निकट भविश्यमै यसको लगानीको आकार ६० करोड हाराहारी पुग्ने अनुमान अध्यक्ष जोशीको छ।
अत्यावश्यक सबै सेवा

कैलाली हस्पिटलले यहाँसम्म आइपुग्दा अत्याधुनिक उपकरणसँगै विविध विधाका सेवाहरु दिन सक्षम भएको छ। आर्थोपेडिक, ल्याप्रोस्काेपी, युरोलोजी, न्युरो सर्जरी, जनरल फिजिसिएन, स्त्री तथा प्रसुती सेवा, मानसिक तथा नशा, नवजात शीशु तथा बालरोग, नाक, कान तथा घाँटी, छाला, यौनराेग तथा साैन्दर्य, रेडियोलोजी, क्यान्सर/अंकोलजी, छाती तथा फोक्सो, मुटु सम्बन्धी उपचार र पेटलगायत रोगसम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको छ।
विभिन्न देशबाट अध्ययन गरेर आएका सक्षम युवा डाक्टरहरु कैलाली हस्पिटलको सेवालाई चुस्त, विश्वसनीय र आत्मीय बनाउन परिवारको सदस्यजस्तै जिम्मेवारीवोधका साथ काम गर्ने गरेकोमा जोशी आभारी देखिन्छन्। अस्पतालको यात्रा यहाँसम्म आइपुग्नुमा अध्यक्ष जनकराज जोशीको मनमा केही नाम अमिट बनेर बसेका छन्।
मेरो यो यात्रामा डा विधाननिधि पौडेल, डा सुवेशराज कायस्थ, डा गणेशबहादुर सिंह, डा बिएस बोहरा, गोपाल हमाल, डा हेमराज पाण्ड्ये, डा सुरेन्द्र बस्नेत, डा प्रमोद जोशी, सिबी चन्द सर र यहाँका सम्पूर्ण सञ्चारकर्मी साथीहरुको सहयोग र सदभाव मेरालागि सदा स्मरणीय छ। उहाँहरुविनाको यो यात्रा सम्भव थिएन
‘मेरो यो यात्रामा डा विधाननिधि पौडेल, डा सुवेशराज कायस्थ, डा गणेशबहादुर सिंह, डा बिएस बोहरा, गोपाल हमाल, डा हेमराज पाण्ड्ये, डा सुरेन्द्र बस्नेत, डा प्रमोद जोशी, सिबी चन्द सर र यहाँका सम्पूर्ण सञ्चारकर्मी साथीहरुको सहयोग र सदभाव मेरालागि सदा स्मरणीय छ। उहाँहरुविनाको यो यात्रा सम्भव थिएन,’ जोशी कृतज्ञ देखिए ।

सचेत बनाउनेप्रति पनि सद्भाव
‘जनक जोशीले के के न कमायो सम्झेर त्यसपछि धेरै स्वास्थ्य सँस्था जन्मिए,’ जोशीले भने, ‘मैले त डाक्टर बन्न नपाएको क्षतिपूर्ति र यस क्षेत्रका जनताले उपचार नपाएको दुःखको उपज यो सँस्था स्थापना गरेको थिएँ।’
सुरुमा सीमा जोडिएका भारतीय सहरमा खुलेका स्वास्थ्यसँस्थाका एजेन्टहरुले निकै अप्ठेरो पारेपनि पछि भने यही क्षेत्रमा नयाँ स्थापना भएका केही निजी अस्पताल तथा स्वास्थ्य सँस्थाहरुले कैलाली हस्पिटलसँग अस्वस्थ्य प्रतिस्पर्धा गरिरहेको उनी सम्झन्छन्।
‘कोसिस अहिले पनि हुन्छ’, जोशीले सम्झिए, ‘मैले अनुबन्ध गरेको डाक्टरलाई त्योभन्दा बढी सुविधा दिन्छु भनेर आफ्नोमा तानिदिने, त्यहाँ सेवा राम्रो छैन भन्ने, उपचार गर्न कठिन बिरामी पठाइदिने। पहिला सीमा पारीका स्वास्थ्य सँस्थाबाट अप्ठेरो थियो, अहिले आफ्नै ठाउँकाबाट चुनौति छ।’
तर कैलाली अस्पतालको अध्यक्ष तथा सञ्चालकको हैसियतले जोशी उनीहरुप्रति पनि कृतज्ञता व्यक्त गर्छन। भन्छन्, ‘उहाँहरुले मलाई बेलाबखत चुनौति नदिएको भए सायद म ‘चलेगा’को नीति अपनाउँथे। तर उहाँहरुको प्रवृत्तिले मलाई सचेत बनायो र म झन राम्रो गर्नेतर्फ लागेँ। मलाई सिर्जनशील बनाइदियो। त्यसैले उहाँहरु सबैलाई धन्यवाद।’
निजीको भर ६० प्रतिशत
निजी अस्पताल संघ (अफिन)को सुदूरपश्चिमका संस्थापक अध्यक्ष तथा हाल केन्द्रीय सदस्यको भूमिकामा रहेका जोशी सुदूरपश्चिम क्षेत्रमा हालसम्म ३२ निजी अस्पताल स्थापना भएको सुनाउँछन्।
आपसी समझदारी/असमझदारी जे जति भए पनि यीं अस्पतालहरुले यस भेगको स्वास्थ्य उपचारमा भने कायापलट गरेको उनी ठोकुवा गर्छन।
‘तपाईँ आफै राम्रो जानकार हो, यस क्षेत्रको स्वास्थ्य उपचार भारतको भर पर्नुपर्थ्याे’, उनले सम्झिए, ‘हातको औंला भाँचिदा पनि भारत धाउनुपर्थ्याे, आज यस क्षेत्रका अस्पतालहरुमा माइनरदेखि मेजरसम्मका अप्रेसनहरु हुनेगरेका छन्।’
देशभरकै कुरा गर्ने हो भने पनि ६० प्रतिशत स्वास्थ्य उपचार निजी अस्पतालले धानिरहेको उनले जिकिर गरे। तर सरकारले आम नेपालीको सस्तो, विश्वसनीय र छरितो सेवाका लागि निजी अस्पतालहरुसँग समभावसहितको सहकार्य गर्न नसकेकोमा भने उनको चित्त दुखाइ छ।
देशभरकै कुरा गर्ने हो भने पनि ६० प्रतिशत स्वास्थ्य उपचार निजी अस्पतालले धानिरहेको उनले जिकिर गरे। तर सरकारले आम नेपालीको सस्तो, विश्वसनीय र छरितो सेवाका लागि निजी अस्पतालहरुसँग समभावसहितको सहकार्य गर्न नसकेकोमा भने उनको चित्त दुखाइ छ।
‘सामाजिक उत्तरदायित्व हाम्रो पनि हुन्छ, त्यसप्रति हामी सचेत छौँ’, अध्यक्ष जोशीले भने, ‘नियम कानुन र मापदण्डले न्याकेर मात्रै हुँदैन, सरकारले सहजीकरण, सरलीकरण र हौसलापूर्ण साथ दिने हो भने नेपालको स्वास्थ्य व्यवस्थालाई निकै सस्तो, स्तरीय र उँचाइमा पुर्याउन सकिन्छ।’
कोभिडको कथा
नाडी छाम्नेदेखि न्यूरो सर्जरीसम्मको यो १२ वर्षे यात्रामा कैलाली हस्पिटलले केही यस्ता उपचारमा सफलता हात पारेको छ– जाे अपत्यारिला लाग्छन्।
कोरोना महामारी कहालीलाग्दो थियो। मान्छे अस्पताल जानै डराउँथे, अस्पताल उपचार गर्दै अनकनाउँथे।
जोशीले त्यो समय सम्झिँदै सुनाए, ‘कैलाली हस्पिटल प्रालीले कोभिड कालमा धनगढीका ७७ जना विरामीको सफल उपचार गर्यो। एक जनाले पनि ज्यान गुमाउनु परेन। कतिलाई त ४ सयको अक्सिजन २५ सयमा अस्पतालले नै किनेर उपचार गरियो।’
त्यसबेला जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य, स्वास्थ्य निर्देशनालय, नगरपालिका, प्रहरीका प्रतिनिधिले अनुगमन गरे। सबै उत्कृष्ठ भनेर गए। कुनै कैफियत देखाएनन्।
उनले भने, ‘त्यस्तो महामारीमा सबैथोक बिर्सेर सेवा दिने यस क्षेत्रका निजी अस्पतालहरुले मात्रै १ करोड भुक्तानी सरकारबाट पाएनन्, कैलाली अस्पतालले मात्रै १७ लाख पाउनुपर्ने छ, पाएनौँ। अब भन्न पनि छोडिदियौँ।’

अपत्यारिला उपचार
दृश्य १
आफू डाक्टर बन्न नपाएको उकुसमुकुसबाट जनकराज जोशीले कैलाली अस्पतालको स्थापना मात्रै गरेनन्। उनको घरमा चार जना डाक्टर बने। छोरा, छोरी, भतिजी, बुहारी डाक्टर छन्। तिनैमध्येका छोरा डा विवेक जोशी २०८२ असारदेखि कैलाली हस्पिटलमा सर्जनको रुपमा सेवारत छन्।
डा जोशीले सेवा सुरुगरेलगत्तै एउटा केस यस्तो आयो सम्भवतः यस क्षेत्रमै गाेहीले आक्रमण गरेर छियाँछियाँ बनाएको त्यो पहिलो घटना थियो। अधबैंसे एक महिला गोहीको आक्रमणबाट दायाँ खुट्टा र दायाँ हात छियाँछियाँ बनाएको हालतमा कैलाली हस्पिटलमा आइन्।
उनको उपचारको नेतृत्व सम्हाले डा विवेश जोशीले। टिममा डा ललित विक, पूर्णराजा श्रेष्ठ, डा रमेश जोशी र डा आकाश राउतले कडा मिहिनेत गरे।
‘हामीले त्यो केसलाई मानवीयता र प्रतिष्ठाको विषय सम्झियौँ, चाल्नाेजस्ताे भएकाे खुट्टा सग्लाे भयाे, घाउ पाक्छ कि भन्ने डर थियो,’ अध्यक्ष जोशीले भने, ‘१५ दिनमै घाउ निको भयो, ३७ हजारको बिलमा हामीले १७ हजार लिएनौँ।’
तीं महिलाले अचेल कैलाली हस्पिटललाई आफ्नै परिवारजस्तै माया गर्ने गरेको उनले सुनाए। ‘घरमा फलेको सागपात लिएर आउनुहुन्छ, त्यसो नगर्नुस भने चित्त दुखाउनुहुन्छ’, जोशीले भने, ‘परिवारका सदस्यहरुको बिहा, भोजमा निम्ता दिएर जानुहुन्छ।’
यही विश्वास, आत्मीयता र सदासयता नै कैलाली हस्पिटलको विशेषता भएको उनी सम्झन्छन्।
दृश्य २
यही मंसिरको पहिलो साताको अन्तिमतिर एउटा बिरामी अचेत अवस्था अस्पतालमा ल्याइयो। करेन्ट लागेर अचेत अवस्थामा रहेको बिरामी कुनै अस्पतालले उपचार सम्भव छैन भनेर पठाइएको जोशीले जानकारी पाए।
‘करेन्टको झड्काले बिरामी नराम्ररी जमिनमा बजारिएको थियो’, अध्यक्ष जोशीले भने, ‘छाती, हात र पिठ्युमा जलेको थियो। मैले धेरै बुझ्ने कुरा भएन।’
उक्त केस डा विवेक जोशी, अकाश राउत र डा पूर्णराधा श्रेष्ठको टिमले हेर्यो। उनको उपचारमा कुनै कसर बाँकी राखिएन। एक सातामै बिरामी निको भयो।
दृश्य ३
हालै एउटा यस्तो बिरामी ल्याइयो। जसको कोखामा बुवाले हसियाले हानेर छाेराकाे कोखी मुनी प्वाल पारिएको थियो ।
‘प्वाल फोक्सोसम्मै थियो, सास बाहिरै निस्केको सुनिन्थ्यो’, जोशीले सुनाए, ‘त्यो केसमा पनि कैलाली हस्पिटलका डाक्टरहरुको टिमले सफलतापूर्वक सर्जरी गर्यो। तर फोक्सोभित्र अड्किएको हड्डिको टुक्रा निकाल्न यहाँ सम्भव भएन।’
डा विवेकले सुनाए– ‘त्यसका लागि एउटा फोक्सो ब्लक गरेर अर्को फोक्सो चालु राख्नुपर्थ्याे। त्यो उपकरण हामीसँग थिएन। अन्य उपचार सकेर फाेक्साेमा फसेको हड्डिको टुक्रा निकाल्न हामीले चितवनको नेपाल क्यान्सर अस्पतालका डा विनय ठाकुर र डा मनोज तिवारीसँग अनुरोध गर्यौँ।’
त्यहाँ पुगेर हड्डिको टुक्रा निकालेपछि तीं बिरामी कैलाली हस्पिटलमा आए, कृतज्ञता व्यक्त गरेर गए।
सदासयता नै सर्वश्व
धनगढी वडा नम्बर १ को पशुपति मन्दिर सम्मुखमा रहेको कैलाली अस्पताल निजी भए पनि सरकारीभन्दा धेरै खर्चिलो छैन। सस्तोमा गुणस्तरीय सेवा, पारिवारिक सदभाव र उच्च मानवीय व्यवहारकै कारण सम्झिसम्झी आउनेहरुको कमी छैन।
त्यो विश्वासलाई सँधै कायम राख्न हरेक दिन डाक्टरहरुको टिम मात्र होइन सञ्चालक जोशी आफै हरेक विरामीको बेडमा पुग्छन्। सञ्चोबिसञ्चो मात्र होइन, गाह्रो अप्ठेरो सोध्छन्।
नसक्नेको उपचार खर्चमा भारी सहुलिएत दिन्छन्। त्यसवापत उनले दूर गाउँसम्म आफन्त कमाएका छन्। परिवारजस्तै व्यवहार पाउने गरेका छन्।
‘मैले पसल बेचेँ, पैत्रिक सम्पत्ति बेचेँ, बैंकको ऋण लिएँ’, अध्यक्ष जनकराज जोशीले भने, ‘आज अस्पतालका कारण गर्न सकेको सेवा र पाएको मायाका अगाडि डाक्टर बन्न नसकेको पीडा फिका भएको छ। साँच्चै भन्दा तपाईँले नसम्झाएको भए, बिर्सिसकेको छु।’
aksherpati@gmail.com
कैलाली अस्पताल प्रालि जनकराज जाेशी


