
O अक्षरपाटी विशेष
काठमाडौंको कान्तिबाल अस्पतालमा जन्मिए। हुर्काई, पढाइ धनगढीमा भयो । क्याम्ब्रिजमा प्रारम्भिक शिक्षा सुरु गरेका गजेन्द्र शाहीले सानोमा धेरै स्कुल फेरे। सिद्धार्थ स्कुल हुँदै निलममा माध्यमिकसम्मको शिक्षा लिए। त्यसपछि उनले धनगढी ५ मै रहेको ऐश्वर्य विद्या निकेतनबाट प्लस टु र स्नातकसम्म अध्ययन गरे।
किशाेरावयदेखि नै उनी केही गरौँ भन्ने भावनाले प्रेरित थिए। उमेरले भरखरै युवावयमा प्रवेश गरेका शाहीले रोयल कोल्याब्रेटिभ सँस्थामार्फत सामाजिक काम थाले । त्यसैताका विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले देशै थला पर्यो। मान्छेले मान्छेलाई नै नछुने भए, भेट्नै डराए र एकले अर्कालाई नहेर्ने अवस्था आइलाग्यो।
गजेन्द्र भने साथीहरुसँग उम्दो उर्जासहित बाहिर निस्किए। सीमा नाकामा अलपत्र परेका नेपाली हुन या विभिन्न अस्पताल र क्वारेन्टाइनमा रहेका संक्रमित हुन, उनी मनको डर मनमै दबाएर सेवा प्रवाहमा निस्किए। सहयोगी हातहरुको साथ पाए।
कसैलाई क्वारेन्टिनमा पुर्याए, कसैलाई अस्पताल भर्ना गरे। भारतबाट स्वदेश आएका कतिलाई घरसम्म पुग्ने जाेहाे गरे। त्यसबेला झण्डै एक करोड मूल्य बराबरको सहयोग गर्न सकेको उनी सम्झन्छन्।

० राजनीति गर्ने चाहना भने उनमा थिएन। गरौँला भन्ने पनि साेचेका थिएनन्। किन गरे त राजनीति?
‘समाजिक काम गर्दै, साथीभाइसँग जोडिदै समाजसँग घुलमिल हुँदाहुँदै नगरौँला भनेको राजनीतिमा आइपुगियो, यसरी आइपुगियो भन्ने ठ्याक्कै थाहा छैन भन्दा हुन्छ’, उनले सरल शैलीमा जवाफ दिए।
० आउन त आइयो तर राजनीति गर्न कति सहज, कति गाह्रो छ त?
‘राजनीति भनेजति सजिलो छैन’, ३४ वर्षकै युवा उमेरमा धनगढी उपमहानगरपालिका ५ को नेतृत्व सम्हालेका वडाध्यक्ष गजेन्द्र शाही अनुभव सुनाउँछन्, ‘घरबाट निस्कनेपछि घर फर्कने टुंगो हुँदैन। परिवारसँगै बसेर खाना नखाएको चुनाव जितेदेखि नै हो भन्दा हुन्छ।’
एकाबिहानै वडावासीमध्ये कसैको फोनको घन्टीले ब्युँझनु, घरबाट निस्कनु, मध्य रातसम्म पनि कुनै न कुनै झमेला मिलाएर घर फर्कनु उनको दैनिकी हो।
० एकाबिहानैदेखि अबेरसम्म राजनीति र जनताका सवालमै रुमल्लिँदा कसरी चल्छ त निजी जिन्दगानी?
उनले भने- ‘गाह्रो त निकै गाह्रो छ। पैसा नभएर राजनीति हुँदैन भन्ने त होइन, तर बिहानदेखि साँझसम्म १०-२० कप त चिया नै खुवाउनुपर्छ। सँधै कहाँबाट खुवाउने? त्यसैले हरेक राजनीतिज्ञले आयमूलक काम गर्न जरुरी छ। नगरे त भ्रष्टाचार वा अन्य प्रलोभनमा नपरी साध्य छैन। सहयाेग गर्नेको पनि त स्वार्थ हुन्छ नि !’
० यो अवस्थाबाट जोगिन के गर्छन शाही ? जिज्ञासा स्वभाविक हो।
परिवारका सदस्यहरु रोजगार गर्छन । राजनीति गर्दागर्दै उनलाई आफूले पनि दुई पैसा नकमाइ हुँदैन भन्ने चेत भयो। सहयोग गर्नेहरुको सहयोगकै भर पर्नु पनि कहीँ न कहीँ स्वार्थको सम्बन्ध हुन्छ भन्ने उनले बुझे। अझ राजनीतिलाई नै पेशा बनाएर हिँड्नु त भ्रष्टाचार नै हो भन्ने उनलाई राम्रो ज्ञान छ।
त्यसैले उनलाई राम भगवान जस्तो राजनेता हुन नसके पनि आफ्नो लागि आफै व्यवसाय गर्नुपर्छ भन्ने लाग्यो। आफ्नो आर्थिक गर्जो टार्न उनले सुरु गरे ‘फ्रुट बक्स’ क्याफे। खाेले ब्रान्च। त्यो बाहेक पनि उनले केही व्यावसायिक योजनामा हात हालेका छन्।

० यो सबै गरेर उनी राम बन्न भने नखोजेको पनि स्पस्ट पार्छन।
‘म पनि मान्छे हुँ, बिहानदेखि बेलुकीसम्म मैले उठाउने फोनकल, पुगेका ठाउँ र मान्छेहरुका गुनासा सुनेको रेकर्ड राख्ने हो भने सामान्य मान्छे बहुलाउँछ होला’, वडाध्यक्ष शाहीले थपे- ‘तर म पनि मान्छे हुँ, जानअन्जानमा मबाट पनि गल्ती तमाम भएका होलान्, त्यसो नहुँदो हो त मान्छे भगवान भइजान्थ्यो त।’
० राजनीतिज्ञका रुपमा काम गर्दैगर्दाका अप्ठेरा के हुन त?
शाहीले भोगाइ सुनाए- ‘यो मुलुकमा ७ सय ५३ पालिका छन्, त्यसभित्र हजारौँ वडा छन्। म भनेको एक वडाको अध्यक्ष मात्र न हुँ। उपमहानगर, त्यसमा पनि पुरानो र घना बस्तीको वडाको जिम्मेवारीमा छु। मसँग स्रोतसाधन र सीमा सिमित छन्। मान्छेका आकांक्षा र अपेक्षा निकै धेरै छन्। अप्ठेरो यहीँनेर परिदिन्छ।’
तर पनि जनताले विश्वास गरेर यहाँ पुर्याइसकेपछि उहाँहरु हरेकको गुनासो सुन्न भने आफूले छोड्न नहुनेमा उनी दृढ छन्। रमाइलो पारामा उनी भन्छन्-‘राजनीतिज्ञलाई गाली गर्न जति सजिलो राजनीति गर्न भने रहेछन।’
० कस्ता कस्ता परिस्थितिको सामना गर्नुपर्छ त उनले?
‘किस्सा अनेक छन् दाइ (उनले सम्वोधनको सहजताका लागि बोलेको शब्द)। बाटो बनाइदेउ भन्छन्, बाटो बनाउने बेला मेरो जगाको कुनो गयो भनेर फोन आउँछ। कुनै टोलमा बत्ति बलेन भने ‘किन बलेन’ भनेर फोन आउँछ। बिजुलीको मिटर बढी किन आयो भनेर फोन आउँछ। यतिसम्म त ठिकै छ दाइ, राति १२ बजे कोही रक्सी खाएर समातियो भने वडाध्यक्ष ज्यू भन्दै फोन आउँछ। घरमा लोग्नेस्वास्नीको झगडा हुन्छ- मिलाइदिनुपर्यो भनेर फोन आउँछ। सास्ती छ दाइ, सजिलो छैन। जनताले विश्वास गरेपछि यतिसम्म गुहारेकोमा उनलाई कुनै दुखमनाउ भने छैन।
० दुःख केमा छ त?
उनले सुनाए- ‘म मेरो वडाको वडाध्यक्ष एकै हो, मेरा भोटर र जनता हजारौँ छन्। हजारौँका हजारौँ फोन आउँछन्। कहिलेकाहीँ कार्यक्रममा हुन्छु, बाटोमा हुँदा वा अर्को फोनमा कुरा गर्दागर्दै आएको फोन उठाउन नसक्दा खप्नपरेका खप्कीले भने हैरान बनाउँछ। दिनभरी आएको दुई, तीन सय कलमा दुई चार कल फर्कान वा उठाउन नसक्दा ‘ओहो! ठूलो भयौ’ भनेर घुर्क्याइहाल्छन्,’ भन्छन्म ‘म पनि मान्छे हुँ, कहिले बिर्सन्छु, कहिले भ्याइँदैन। त्यो कसैले बुझ्दैन, गाली खाइहाल्नुपर्छ।’

० यो बाहेक पार्टीगत रुपले राजनीति गर्दा कति सजिलो र कति अप्ठरो हुन्छ त?
पार्टीगत रुपमा जनप्रतिनिधि भएर आउँदा भने आफूले त्यसको भरपूर फाइदा उठाएको जस्ताे उनलाई लाग्छ। पाँच, छ वर्षदेखि बन्नै नसकेको बाटो पनि आफू जितेर आएपछि बनेको स्मरण गर्दै उनले भने- ‘चार वर्षकाे कार्यकालमा ३५ भन्दा बडी बाटो निर्माण गर्न सकेकाे छु। चोकचोकमा सार्वजनिक सेवाका लागि खानेपानीका धारा जडान गरेको छु। बत्तिबिजुलीले आफ्नो वडा झिलिमिल बनाउन सकेको छु। सिसिटिभी क्यामरा जडानको कार्य भइरहेको छ। यो सब पार्टी र पार्टीका नेताहरुको सम्बन्धबाट आफूले लिनसकेको उनले सुनाए।
० पार्टीबाट सहयोग लिन जानेका शाहीको उपमहानगरको नेतृत्व भने आफ्नो पक्षको होइन, त्यहाँ कति अडचन वा अपनत्व छ त?
‘अडचन छन्’, उनले भने- ‘उहाँले गरेका कैयौँ काम राम्रा छन्, कैयौँ ठाउँमा अडचन पनि हुन्छन्। गाह्रो पनि छ, सजिलो पनि छ। हाम्रो नगरको नेतृत्व पनि राम भगवान होइन, उहाँका पनि आफ्नै कमजोरी छन्। कति ठाउँमा हामीले सोचेको स्वीकारिँदैन, कति ठाउँमा उहाँले गरेका काम स्वीकार्य छैनन्। तर समग्रमा उहाँले गरेका कामलाई एप्रिसेट गर्नुपर्छ। राम्रोलाई चै राम्रो भन्न कन्जुस्याइँ गर्दैन।
० चुनाव भनेको नेताले सपना बाँड्ने सिजन मानिन्छ, शाहीले कति सपना बाँडे, कति पुरा भए?
‘मैले स्वीजरल्याण्ड बनाउँछु भनेको थिएन’, उनले भने, ‘जनताको पीरमर्का बुझेर हिँड्छु भनेको थिएँ, अहिले म जनताले बोलाएको ठाउँमा रातिको १ बजे पनि पुग्छु, बिहान ६ बजे नै उठेर पनि कुद्छु। सुरक्षा, सफाइ, हरियाली र विकास निर्माणका क्षेत्रमा मैले गरेको काम देखिनेगरि गरेको छु। हरेक जनताले सम्झेको बेला म छु भनेर उभिएकै छु। बयान गर्नुपर्ने काम नै गरेको छु त भन्न नमिल्ला। तर बाटाघाटा, विकास निर्माणका काम गरेको छु। डेढ सयजति बाटा नै बने होलान । नयाँ बस्तीमा भन्न सक्दिन, पुराना बस्तीमा पीच नभएको बाटो छैन। बाँकी पनि बनाउने योजनामा छु। मेरो वडामा यो चार वर्षको अवधिमा ३०, ३५ हजार त बिरुवा रोपेको छु।’

सामाजिक रुपमा महिला समूहलाई सीपमुलक तालिम, कृषि समूहलाई क्षमता विकास,हरेक चोकमा चिसो खानेपानीको व्यवस्था गरेका छौँ। सडक कुकुरका लागि ठाउँ छुट्याएर काम गरिरहेकाे उनले सुनाए।
० धनगढी भारतसँग सीमा जोडिएको सहर हो, लागुऔषध दुर्व्यसनी यहाँको सामाजिक मात्र होइन घरघरको समस्या बन्दै गएको छ, यसबारेमा एक जनप्रतिनिधिका रुपमा शाहीले के गरिरहेका छन् त?
‘यो भयावह समस्याका रुपमा फैलँदै गएको छ’, उनले भने- ‘यसका लागि राजनीतिमा आउनुअघि पनि पुर्नस्थापना केन्द्रमार्फत केही काम गरेका थियौँ। एक जनाले लागुऔषध खानलाई चार जनालाई बेच्नुपर्छ। चारले आठलाई, आठले ३२ लाई हुँदै यसको विस्तार भइरहेको छ। प्रयाेगकर्ता नै डिलर बन्छन्।’
० रोक्ने कसरी त ?
आफूहरुले जनचेतनामूलक काम गर्नबाहेक अरु उपाय अपनाउन नसकिने उनी बताउँछन् । त्यसका लागि वडाले केही बजेटमार्फत कार्यक्रम गर्दै पनि आएको छ। हरेक परिवार चनाखो बन्ने, स्कुल परिवारले नै सचेत र जागरुक बनाउने पहिलो कदम भएको उनी बताउँछन्। आफ्नाे बालबालिका कस्ताे संगतमा छ, के गर्छ, कता जान्छ भन्ने ख्याल गर्न उनी सुझाउँछन्।
मूल जिम्मेवारी चै प्रशासनकाे भएकाे उनी बताउँछन्। खुला सीमा भएका कारण जसले जहाँबाट पनि ल्याइदिने जोखिम रहेको उनी देख्छन्। यसलाई कानुनी रुपमै कडाइका साथ नियन्त्रण गर्नुपर्ने हुन्छ, त्यसमा प्रशासन कमजाेर हुन नहुने उनको सुझाव छ।
गजेन्द्र शाही धनगडी उपमहानगरपालिका


