Logo
२२ मंसीर २०८२, सोमबार

धनगढीमा सुदूरपश्चिम महोत्सव, अर्थमन्त्री खनालद्वारा उद्घाटन

अक्षरपाटी
२०८२ मंसीर २२ , सोमबार १०:१२ मा प्रकाशित

धनगढी। १५ करोडको कारोबार लक्षसहित आजदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव हुँदैछ।

१० दिनसम्म चल्ने महोत्सवको मुख्य आकर्षकका रुपमा यसपटक पनि साँस्कृतिक प्रस्तुतिलाई लिइएको छ।

सुदूरपश्चिमको कृषि, उत्पादन, व्यापार, व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक २०६३ मंसिरमा महोत्सव आयोजना गरिएको थियो।

कैलाली उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष गोपाल हमालले धनगढीको कवर्डहलमा महोत्सवको सुरुवात गरेका थिए।

आजदेखि सुरु भएको १९ औँ संस्करणको सुदूरपश्चिम महोत्सव धनगढी उपमहानगरपालिका– १ पशुपति टोलमा आयोजना गरिएको छ।

महोत्सवको उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गर्ने आयोजनक सँस्था कैलाली उद्योग वाणिज्य संघले जनाएको छ।

पुस २ गतेसम्म चल्ने महोत्सवका लागि मूल आयोजक समिति र २३ वटा उपसमिति गठन गरिएको छ।

करिब तीन करोडको लगानी हुने अनुमान गरिएको महोत्सवमा १५ करोडको कारोबार हुने आयोजकको अपेक्षा छ।

महोत्सवमा कृषि उत्पादन, जडीबुटी, हस्तकला, गार्मेन्ट, इलेकट्रोनिक, होटेललगायतका पाँच सय वटा स्टल रहनेछन्। तीं सबैभन्दा बढी दर्शक तान्ने माध्यमको रुपमा साँस्कृतिक प्रस्तुतिलाई बनाइँदै आएको छ।

महोत्सवमा कृषितर्फ ४० तथा महिला उद्यमी, एकल महिला र स्थानीय परिकारका १५ वटा र जम्मा ५५ वटा स्टल निःशुल्क राखिएका छन्।

महोत्सवमा विद्यार्थी र खेलाडीलाई ५० रुपैयाँ तथा सर्वसाधारणलाई एक सय रुपैयाँ टिकट तोकिएको छ। टिकटसहित, प्रायोजक, मुख्य प्रायोजक र विज्ञापनदाना संघको आम्दानीको स्रोत हो।

ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

महोत्सवमा बालबालिका तथा खेलप्रेमी दर्शकका लागि विभिन्न मेलामा पाइने मनोरञ्जन सामग्री थप गरिएको छ।

महोत्सव अवधिभर दर्शक तथा व्यवसायीको सुरक्षालाई ध्यानमा राख्दै पूर्णरूपमा सिसिटिभी क्यामराद्वारा निगरानी, निजी तथा सरकारी सुरक्षाकर्मीको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

यस वर्ष महोत्सवको मुख्य प्रायोजक निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर रहेको छ।

कैलाली उद्याेग वाणिज्य संघ सुदूरपश्चिम महाेत्सव