Logo
२६ मंसीर २०८२, शुक्रबार

किताब घोकेर सँस्कृतका शिक्षक, भारी बोकेर चारतारेका मालिक !

अक्षरपाटी
२०८२ मंसीर २६ , शुक्रबार ०७:१२ मा प्रकाशित

  • अभावका भयंकर खाडल र संघर्षका उँचा पहाड चढेका छन्। आफूभन्दा बोझिला नुनका भारी बोकेका छन् । होटेलमा भाँडा माझेका छन् । गाउँका कुखुरा बोकेर सहरमा बेचेका छन् । सहरबाट गुडका भारी बोकेर गाउँमा ओसारेका छन्।
  • को हुन त कलम बम ? सम्भवतः धनगढीले नचिनेको नाम भने होइन । चार कक्षामै पढ्दा काठमाडौंको बुढानिलकण्ठ स्कुलले पूर्ण छात्रवृतिका लागि छनोट भएको नाम हो कलम बम।
  • सुदूरपश्चिमको हस्पिटालिटी र पर्यटन व्यवसायमा आज उँचो पहिचान बनाइरहेका बमको कस्तो थियो होला बाल्यकाल ?
  • आईकम गरेपछि एक वर्ष गाउँमै भारी बोके, घाँस काटे, खर ओसारे, नुन बोके, पसल चलाए, हलो जोते, खेती गरे। तर पढ्नुपर्छ भन्ने हुटहुटीले उनलाई छोडेन।

० शिवराज योगी

मंसिर २२ गते सोमबार । सुदूरपश्चिम महोत्सव उदघाटन समारोह । स्टेजमा एउटा अनुहार देखिन्छ । अर्थमन्त्री रामेश्वर खनालले उनलाई फूलको माला लगाइदिन्छन् । सम्मानको प्रमाणपत्र थमाउँछन्।

सुदूरपश्चिमको पर्यटन व्यवसायमा पुर्याएको उच्च योगदानवाफत यो सम्मान पाउने व्यक्ति थिए– व्यवसायी कलम बम । उनले यो सम्मान एकाएक पाएका भने होइनन्।

सार्वजनिक समारोहको त्यो स्टेजमा बम एकाएक उक्लिएका होइनन्। सम्मानको लायक बन्न बमले जीवन संघर्षको फराकिलो जंघार तरेका छन्। उनले जीवनका धेरै अबरोह र आरोह पार गरेका छन्।

अभावका भयंकर खाडल र संघर्षका उँचा पहाड चढेका छन्। आफूभन्दा बोझिला नुनका भारी बोकेका छन् । होटेलमा भाँडा माझेका छन् । गाउँका कुखुरा बोकेर सहरमा बेचेका छन् । सहरबाट गुडका भारी बोकेर गाउँमा ओसारेका छन्।

०००
विद्वान बन्ने आकांक्षा पुरा गर्न दुई रातमै किताब घोकेर ‘मास्टर’ बनेका अपत्यारिला कथा छन् । एक हजारबाट सुरु गरेको जागिरबाट पनि बचाएका अनुभव संगालेका छन्।

को हुन त कलम बम ? सम्भवतः धनगढीले नचिनेको नाम भने होइन । चार कक्षामै पढ्दा काठमाडौंको बुढानिलकण्ठ स्कुलले पूर्ण छात्रवृतिका लागि छनोट भएको नाम हो कलम बम।

खैर गाउँमा बुझ्न आउने जाँचबुझ टोलीलाई कसैले गलत सूचना दिएका कारण उनी त्यहाँ पढ्न पाएनन्, उनको ठाउँमा वैकल्पिकमा नाम निस्केको विद्यार्थीले त्यो लाभ लिए ।

‘मलाई गुनासो रहेन’, सनलाईट होटलका सञ्चालक तथा म्यानेजिङ डाइरेक्टर बम भन्छन्, ‘त्यतिबेला बुढानिलकण्ठ पढ्न पाएको भए सायद आजको मेरो परिचय हुने थिएन । त्यसबेला जे भयो, राम्रैका लागि भयो।’

मृदुभाषी, मिजासिलो स्वभाव, सादा व्यक्तित्व, सुस्तरी बोल्ने र सँधै सकारात्मक सोच्ने उनको अर्को परिचय हो।

०००
सुदूरपश्चिमको हस्पिटालिटी र पर्यटन व्यवसायमा आज उँचो पहिचान बनाइरहेका बमको कस्तो थियो होला बाल्यकाल ? जिज्ञासा स्वभाविक हो।

आजभन्दा करिब साढे चार दशकअघि, उनी डोटीको साविक चमरा चौतारा गाविसमा जन्मिए । मध्यम वर्गीय परिवारमा जन्मिएका उनले एसएलसीसम्मको शिक्षा स्थानीय खत्याडी माध्यमिक विद्यालयबाट पुरा गरे।

किसान परिवार भए पनि बुवाले गाउँघरमा चाहिने सरसामानका लागि सानोतिनो व्यवसाय गरेका थिए। बमको बालमानसपटलमा व्यवसायप्रतिको चेत त्यही पसलले जगाइदिएको उनी अहिले सम्झन्छन्।

उच्च शिक्षाका लागि उनलाई बुवाले उच्चाकोट पठाए। ‘बुवाले भनेपछि त्यहाँ गएँ,’ बमले पुराना दिन स्मरण गरे, ‘त्यहाँका डाँडाकाँडा, हावापानी, खत्याडीका जस्तै लागे। उस्तै ठाउँबाट उस्तै ठाउँमा त के पढ्नु भन्ने मनमा लाग्यो।’

अलि विकसित ठाउँमा जानुपर्छ भन्ने त लाग्यो, तर जाने कहाँ ? एक जना सरले ‘पूर्व जाउ’ भन्नुभयो । पूर्व कहाँ जाने ? उनको मनमा आयो– टिकापुर नजिकै सिमरानामा बुवाको जमिन छ, धान– चामल लग्न सजिलो हुन्छ, टिकापुर जान्छु।

शिक्षा अधिकारी बन्ने रहर

‘अनि म इन्टर पढ्न विरेन्द्र विद्या मन्दिर टिकापुर पुगेँ,’ उनले भने, ‘शिक्षा विषय पढेर जिल्ला शिक्षा अधिकारी बन्ने सपना थियो, म शिक्षा संकायमा भर्ना भएँ।’

जगतबहादुरसिंह रावल सर कलम बमलाई निकै माया गर्थे । रावल सरले उनको शिक्षा विषय पढ्ने योजना २० दिनमै बदलिदिए।

‘सरले मलाई कमर्स पढे धेरै राम्रो गर्न सक्छौ भन्नुभयो,’ बमले सम्झिए, ‘सरकारी जागिर नभए पनि आफै पनि केही गर्न सकिन्छ भनेपछि मैले कमर्स पढेँ।’

कमर्सको फाइनल परीक्षा दिएर उनी पहाड फर्किए। बुवालाई पसलमा सघाए। त्यस क्रममा उनले सामान मात्र बेचेनन्, टिकापुर बजारमा देखेजस्तो चिया, समोसा, खाजा, नास्ता बनाए। खुब चल्यो। धेरैले प्रसंसा गरे।

केही समयपछि रिजल्ट आयो । कलेजले बोलायो । किन बोलायो थाहा भएन । उनी पढाइमा राम्रो मात्र होइन अब्बल भएका रहेछन् । कक्षाभरिमा पास भएका चारजनामध्ये उनी प्रथम भए। त्यसैको पुरस्कारका लागि उनी बोलाइए। उनले सैयौँ विद्यार्थी र गुरुकामाझ पुरस्कार थापे।

कुखुरा बोकेर दिपायल, नुन चिनी बोकेर गाउँ

‘अब स्नातक पढ्नु थियो’, बमले सम्झिए, ‘बुवाले पढाउन नसकिनेजस्तो कुरा गर्नुभयो, त्यसपछि एक वर्ष बुवाकै पसल चलाएँ। आठ, नौ कक्षामा पढ्दा सुन्तला बोकेर दिपायलमा बेचेको सम्झिएँ।’

स्नातक पढ्न नपाएपछि उनले बुवाको पसलमा मात्रै सघाएनन्, गाउँका कुखुरा डोटीको सदरमुकाम दिपायल पुर्याए। दिपायलबाट पाँच रुपैयाँ किलो ज्याला लिएर गुड, चिनी र नुन गाउँसम्म बोक्ने काम गरे।

‘सायद त्यसैको असर होला ! यो उमेरमै कैयौँ रात ढाड दुखेर सुत्नै सक्दैन’, उनको विस्मृत विगत ताजा भयो।

किताबै घोकेर सँस्कृतको शिक्षक

निकट भविश्यमै उनी धनगढीको नैनादेखि नजिकै चार तारे होटेल सञ्चालनमा ल्याउँदैछन्। यहाँसम्म आइपुग्दा कति ‘फलामका च्युरा’ चपाए त बमले ?

आईकम गरेपछि एक वर्ष गाउँमै भारी बोके, घाँस काटे, खर ओसारे, नुन बोके, पसल चलाए, हलो जोते, खेती गरे। तर पढ्नुपर्छ भन्ने हुटहुटीले उनलाई छोडेन। त्यसपछि उनी हानिए धनगढी।

२०५६ साल, मंसिर पुसको मैना थियो । एक जना चिनेजानेका दाइले चुहा चिनी मिलमा जागिर लगाइदिए।

‘पढाइ धनगढी, जागिर चुहा, गर्नै सकेन’, उनले भने, ‘एक महिनामै त्यो छोडेर म धनगढी आएँ।’
धनगढीमा उनले जति आफन्त छन्, सबैको दैलो चहारे।

‘मलाई खान र बस्न पुग्ने भए हुन्छ’ भनेर जागिरका लागि अनुनय गरे। धेरैको एउटै जवाफ हुन्थ्यो, ‘कतै जागिर खुलेको छ भने पत्ता लगाएर आउ, भन्दिउँला।’

हिँड्दा हिँड्दै धनगढी हसनपुरको निलम स्कुलको भित्तामा उनको आँखा पर्यो । लेखिएको थियो– सँस्कृत शिक्षकको आवश्यकता!

आईए कमर्स पढेर बीए पढ्ने हुटहुटी बोकेर हिँडेको ठिटो । के को सँस्कृत जान्नु ! तैपनि बमले हिम्मत हारेनन्। सरासर भित्र गए। त्यहाँ हेमचन्द्र श्रेष्ठ नामका सर भेटिए।

‘हेमचन्द्र सरले सँस्कृत पढाउन सक्छौँ भनेर सोध्नुभयो’, बमले त्यो पल हिँजैजस्तो गरी सम्झिए, ‘सक्छु भनिदिएँ, त्यो बिहीबारको दिन थियो ।’ श्रेष्ठ सरले आइतबार कक्षा लिएको हेर्छु भनेर पठाइदिए ।

उनी ठट्यौली पारामा प्रस्तुत भए, ‘हेर्नमा त म शास्त्री पढेजस्तै थिएँ, पातलो लिखुरे, ढाँकाटोपी लगाएको । तर सँस्कृत अक्षर नआउने!’

उनी सरासर पुस्तक पसलमा गए, चौधरी बुक डिपो हो या, मिश्रा पुस्तक पसल ? त्यो सम्झिएनन्। सँस्कृत विषयको किताब, गाइड दुबै किने । शुक्रबार र शनिबारको दिन रात गरेर उनले सँस्कृतको त्यो सबै किताब कण्ठ पारदिएि।

आयो आइतबार । उनी कक्षामा पुगे । विद्यार्थीबीच परिचय दिए । हेमचन्द्र सर अबजरवेसनमा बसे। किताब विद्यार्थीको डेस्कमा राखिदिए । विद्यार्थीलाई त्यसदिन पढाउनुपर्ने पाठबारे सोधे। पढाउनुपर्ने कविता परेछ।

‘मैले त तीनवटै कक्षाका किताब कण्ठस्थ पारेको थिएँ, पढाउनुपर्ने कक्षा ६ को किताब भित्रको एउटा कविता परेछ’, उनले विगतका पाना पल्टाउँदै भने, ‘मलाई के थियो, फरर सुनाइदिएँ।’

‘धन्यबाद कलमजी, सोचेभन्दा राम्रो गर्नुभयो, ल सक्नुहुन्छ, म हजार रुपैयाँ दिन्छु’, हेमचन्द्र सरले त्यसबेला भनेको यो वाक्य बमको कानमा अहिले पनि गुन्जन्छ।

एक महिनामै उनी सबैका प्रिय बने । विद्यार्थीले रुचाए, शिक्षकहरुले मन पराए। अर्को महिनामै उनको तलब १७ सय भयो।

विहान कलेज, दिउँसो स्कुल। तर साढे नौ बजे सुरु हुने स्कुलका लागि सँधै आफ्नो एकदुई प्रेड पढाइ छोड्नैपर्ने।

अदालत रोडमा २ सय ५० रुपैयाँ भाडा, ७ सयमा मैनावारी खाना । १ सय ९० को हाराहारीमा कलेजको शुल्क। नियमित कक्षा लिन नपाए पनि साथीहरुको नोट सारेर उनी सँधै अब्बलै भए, उनको नोटबुक पढेर धेरै साथी पास भए।

चार आनादेखि चारतारेसम्मको यात्रा

पढाउँदै, पढ्दैगर्दा उनी बीचमा आमाबुवा भेट्न गाउँ गए। गाउँको एउटा विवाह समारोहमा उनले भाइलाई सुर्ती खाइरहेको चाल पाए।

उनले भने ‘यहाँ भाइ बिग्रेलाजस्तो छ, आफैसँग लगेर जान्छु भनेँ ।’ अनि बुवाआमाले त्यसबेला दिएको जवाफ सम्झिए, ‘आफ्नै टुंगो छैन लगेर के गर्छस्?’

भाइलाई ल्याएर पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा भर्ना गरे। आफ्नो शिक्षण पेशा चलिरहेको थियो। त्यसपछि उनले दुई जना भतिजाहरु पनि आफूसँगै राखे।

अब उनलाई लाग्यो, यतिले हुँदैन। परिवार बढ्यो । सबैसँग अलिअलि समय पनि छ । खाना खाने गरेको होटेलमा भात बेचेरै पनि धेरै राम्रो आम्दानी गरेको उनले देखेकै थिए।

‘केही इलम गर्नुपर्छ भन्ने त लाग्यो तर पैसा थिएन’, उनले होटेल व्यवसाय सुरु गर्दाको शुत्र सुनाए, ‘अनि आफूलाई माया गर्नेहरुको सूची बनाएँ। विद्यालयबाट छुट्टी लिएर भारतसम्म गएँ। त्यहाँ पनि गाउँका दाजुभाइ, काका, मामा थिए।’

उनले आना आना अर्थात १५० रुपैयाँ दिनेको पनि सहयोग लिए। कसैसँग ब्याजमा लिए, कसैले निर्ब्याजी दिए। ३० हजार जम्मा भयो।

अब पालो थियो, ठाउँ खोज्ने। तर नपत्याउँदो भरखरको लिखुरे केटो। कसैले पनि होटेल गर्छु भन्दा घर नै भाडामा दिन मानेनन्।

‘बुवालाई बोलाएँ । सुरुमा बुवाले पनि मान्दै मान्नु भएन। पढेलेखेर जागिर पो खाने हो, काँ अरुका जुठा भाँडा माझेर हुन्छ? भन्नुभयो’, अनेक गरेर मनाएपछि पशु कार्यालय अगाडी उनले शास्त्री बाजेको घर भाडामा लिए, र सुरु गरे सनलाइट होटेल।

बन्दै गरेको चारतारे होटेल

‘सनलाइट’ नामको पनि किस्सा छ।
‘सोच्न त मैले सबाट सोचेको थिएँ, सुनगाभा, सुभेच्छा, सुलभ यस्तै केही’, उनले नामको किस्सा सुनाए, ‘त्यो घरको माथि छानाबाट लाइट आउने बनाइएको थियो, त्यही हेरेर सनलाइट राखिदिएँ।’

भएको ३० हजार अग्रिम भाडा दिए । मासिक १० हजार भाडा दिने सर्तमा घर लिए। अब होटेल चलाउने के ले?

उनीसँग ३० हजार मात्र थियो । त्यसपछि उनले साथी, भाइ, आफन्त, भिनाजु सबैसँग सहयोग मागे। ५० हजार जमा भयो। पुराना सामान सबै हटाए, नयाँ जोडे । रंगरोगन गरेँ । २०५९ मा स्थापना भयो सनलाइट होटेल।

‘होटेल सुरु मात्र के गरेको थिएँ, सबैको माया, आसिर्वादले गजब चल्यो’, उनले सन्तुष्टि सुनाए।
अझ स्तर बढाउन बुवाले ७० हजार ऋण निकालिदिनुभयो, त्यो उनले एक वर्षमै तिरे। कृषि विकास बैंकले इमान्दार ऋणी भनेर बुवालाई ग्रिन कार्ड दियो।

उनी भन्छन्- ‘योजना, हिम्मत र लगनशीलता हुने हाे भने व्यवसाय गर्न ठूलाे लगानी चाहिन्छ भन्ने छैन, सानैबाट पनि ठूलाे काम गर्न सकिन्छ।’

०००
उनी होटेलका मालिक कहिल्यै भएनन्, पूर्वतिरबाट आएका मगर थरका कुकले उनलाई सबै सिकाइदिए। सौचालय सफाइदेखि, पकाउने, पस्कने काममा अनी आफै तल्लिन भए। त्यो होटेल उनका लागि व्यवसाय मात्र भएन सिकाइको शिक्षालय पनि बन्यो।

यो क्रममा सलल खोला झैँ भने बगेन, व्ययवसाय। कैयौँ हन्टर खाए, कैयौँ तगारा आइलागे। आक्रमणकै स्तरमा उत्रिए मान्छेहरु। ‘यो सबै उतारचढाप सिकाइ थियो’ भनेर टुंग्याउन चाहन्छन् बम।

एक नजरको अटुट यात्रा

२०६३ तिरको कुरा हो। द्वन्द्वकाल सकियो। देशमा नयाँ व्यवस्था आयो। अब बमलाई दबाब आयो बुहारी भित्र्याउने।

‘धेरै ठाउँमा हेरियो । सामाजिक क्रायटएरिया कैले मेरा मिलेनन्, कैले उनीहरुका मिलेनन्’, बमको सरल स्वीकारोक्ति थियो।

एकदिन उनको होटेलमा पाहुन बनेर दुई जना कन्या आए। नियतले होइन, अस्वभाविक रुपमा एकजनासँग उनको आँखा जुध्यो। उनी थिइन वशन्ता भण्डारी।

भरखर १० पास गरेर काठमाडौं पढ्ने गुल्मीकी कन्या । कैलालीको सुख्खडमा दिदी भेट्न आएकी । सानैमा आमा गुमाएर दिदी नै आमाजस्ती । तिनै दिदीलाई भेट्न कैलालीको सुख्खड आएकी।

काठमाडौं पढ्यो भने टाढा हुन्छ, सजिलै भेट हुँदैन, यतै पढ भनेर दिदीले मनाएपछि उनी पद्मकन्या क्याम्पसको भर्ना त्यसै छाडेर सुख्डको राष्ट्रिय उच्च माविमा पढ्दै थिइन्।

पढ्दै, कमाउँदै गर्ने सोचले उनी कैलालीमा कुनै कम्पनीको मार्केटिङ गर्थिन। त्यही सिलसिलामा उनी धनगढी पुगिन्।

वशन्ताको स्वभाव निकै कोमल र शैली सादगी थियो। बमका स-साना भतिजाहरु होटेलमै बस्थे। वशन्ताले तिनलाई निकै माया गरिन्। सनलाइट होटेलको बसाइका क्रममा कलमलाई मात्र होइन, उनका बुवालाई समेत वशन्ता निकै सुशील लागिन। बुवाले त लक्ष्मीकै रुप भनिदिए। अनेकन सामाजिक र पारिवारिक अवरोध आए। तर दुबैजनाको मन मिलिदियो।

उर्जा बनिन् वशन्ता

व्यवसाय गर्ने प्रेरणा बुवाबाट मिल्यो, त्यो व्यवसायलाई यहाँसम्म ल्याइपुर्याउने उर्जा बनेर भित्रिइन् वशन्ता। नवदुलहीका रुपमा भित्रिएकै दिनदेखि उनी सहयात्री मात्र बनिन्, श्रीमानको कामकी साझेदार भइदिन।

पार्कमोड नजिकै रहेको होटेलका लागि दाउरा किन्न उनी एकाबिहानै भन्सार रोड पुग्थिन्। दाउरा भरिएको रिक्सामाथि बसेर उनी तरकारी लिएर होटेल पुग्थिन्। होटेल राम्रो चल्थो। दिनभरका भाँडा मध्येरातसम्म माझ्न श्रीमानलाई सघाउँथिन्।

विहा भएको एक वर्षपछि । २०६५ साउन ३० गते। पेटमा नौ महिनाको गर्भ थियो। दिनभर तीन सय जनाले खाएको भाँडा मध्येरातसम्म माझिन्। त्यहीबेला उनलाई व्यथा लाग्यो। बमले श्रीमतीलाई अस्पताल भर्ना गरेर होटेलमा आए। भोलिपल्ट तालिमको अर्डर थियो, त्यसको तयारी गरे। एकाबिहानै अस्पतालमा वशन्ताले छोरी गृष्मालाई जन्म दिइन्।

होटेलमा काम गर्दागर्दै २०६९ साउनमा १ मा व्यथा लागेर अस्पताल पुगेकी उनले छोरा गृष्मलाई पनि त्यसरी नै जन्माएको सम्झन्छिन्।

‘होटेल हाम्रो भए पनि हामी पनि कर्मचारीसरह थियौँ, अहिले पनि होटेलमा छिरेपछि हामी कर्मचारी सरह काम गछौँ’, यतिबेला सनलाईट होटेलको डाइरेक्टरको जिम्मेवारी सम्हालिरहेकी वशन्ताले भनिन्, ‘कार्यस्थलमा कोही मालिक, कोही कामदार हुँदैन। यहाँ हामी सबै बराबरी हो।’

दुई सन्तानका साथ बम दम्पती

शून्यबाट अर्को यात्रा

सनलाईटमा काम गर्ने स्टाफहरु १५ वर्ष पुराना मात्र छैनन्, छोडेर जानेहरु पनि फर्किएर आउँछन्। सनलाईट खुलेयता उनकै वरपर १०० भन्दा बढी होटेल खुले, बन्द भए।

तर ६ कोठाबाट सञ्चालनमा आएको सनलाईट आज ३४ कोठामा विस्तार भएको छ। १५० मा कोठा बेच्ने होटेल २५ सयमा कोठा बेच्ने स्तरको बनेको छ। दुईवटा सभाहल विस्तार भएका छन्।

तीनजना परिवारका सदस्यसहित १८ जनाले रोजगार पाएका छन्। निकट भविश्यमै ७७ शय्या, स्वीमिङ पुल, बगैचा, पार्किङ, क्यासिनो र अत्याधुनिक सुविधासहितको चार ताले होटेल बन्दैछ। यसकोलागि भाैतिक र दर्ता प्रक्रिया अगाडि बढेको छ।

‘अब हामी जीवनको दोस्रो चरणको संघर्ष शून्यबाट सुरु गर्दैछौँ’, बम दम्पतीले भने।

यो योजना कसरी बन्यो त ?
कोरोना महामारीको बेला थियो। सबैतिर अत्यास र हाहाकारजस्तै भयो। अब संसार ठप्प हुन्छ होलाजस्तो शून्यता छायो। कोभिडको पहिलो लहरमा अब मानिसलाई केही चाहिँदैन होला जस्तो माहोल बन्यो।

‘कोभिडको दोस्रो लहरमा भने त्यसो होइन रहेछ, डर, त्रास र आत्तिएर मानिसहरु मरेका रहेछन् भन्ने लाग्यो’, बम तम्पतीले भने, ‘अनि हामी बुढाबुढी बसेर चारतारे होटेलको योजना बनायौँ।’ यो दोस्रो चरणको शून्यबाटको संघर्ष हो भन्ने उनीहरुलाई थाहा छ।

तर आजसम्मको यात्राले कर्तव्य, लगनशीलता, जिम्मेवारीबोध, सकारात्मक सोच र अरुको भलो चिताए आफ्नो पनि भलो हुन्छ भन्ने अनुभव उनीहरुले संगाली सकेका छन्।

सुधारको सुझाव

तर राज्यले लगानीमैत्री भन्दा उल्झनकारी वातावरण सुल्झाउन नसकेकोमा भने उनीहरु दिक्दार देखिन्छन्। चारतारेको अनुमति लिन पनि तारा देख्नुपरेको उनीहरुको अनुभव छ।

त्यही झन्डटिलो प्रक्रिया र राज्यले लगानीकर्तालाई सहजीकरण नगरिदिने वातावरणका कारण आज पैसावालहरुको पैसा पनि अनुत्पादक भएर बसेको उनीहरुको ठम्याइ छ। युवा विदेश पलायन हुनुकाे एक कारण देशमा केही गर्न जटिल र झन्झटिलो प्रक्रिया हो जस्तो उनीहरुलाई लाग्छ।

नागरिकसँग पैसा नभएको होइन, त्यसको सहज रुपमा सही सदुपयोग गरे देश निकै माथि पुग्थ्यो भन्ने उनीहरुको बुझाइ छ।

तर राज्यको यताबाट उता, उताबाट यता गराउने व्यवहारले मानिस उत्पादनमूलक काममा भन्दा बैंकमा पैसा थन्क्याएर व्याज खाएर बस्न रुचाउने वा विदेशिन वाध्य हुने अवस्थामा पुगेको उनीहरुको बुझाइ छ।

‘आज हेर्नुस न, हुनेले लगानी गरिरहेका छैनन्, नहुनेले गरिरहेका छन्’, बमले भने, ‘तर धैर्यता, लगानशीलता, बोली, व्यवहार, स्वभाव र शैली, सुविधा र सेवामा सम्झौता नगर्ने हो भने, इलम डुब्दैन।’

हस्पिटालिटीका लागि आज पनि सुदूरपश्चिम भर्जिनल्याण्ड भएको उनी देख्छन्।

‘यहाँ पर्यटकीय सम्भावना अथाह छ । तीँ सम्भावना उजागर गर्न स्तरीय होटेल चाहिन्छ । हामी खप्तड भन्छौँ, शुक्लाफाँटा भन्छौँ, कर्णाली भन्छौँ, मालिका भन्छौँ,’ उनले भने, ‘विदेशिले गुगल गरेर खोज्ने हो, तर यहाँ मान्यताप्राप्त स्तरीय होटेल पाउँदैनन्, त्यो नपाउँदासम्म स्तरीय पर्यटक आउँदैन। स्तरीय पर्यटक नआएर स्तरीय आम्दानी हुँदैन।’ त्यसैको उपज हो मान्यता प्राप्त स्तरीय चारतारे ब्राण्ड सनलाईट होटेल।

चारतारे होटेल अनुमतिका लागि मन्त्रालय धाउँदाको क्षण

जीवनमा दुखिरहने दुई घटना

बमको मनमा दुईवटा कुरा भने खड्किरहन्छन्। नबिग्रियोस भनेर बालख्खमै भाइलाई आफूसँग राखे। पढाए, लेखाए। व्यवसाय सिकाए।

दिदीहरुले पनि माया गरेर तिनै भाइलाई गोवासम्म लगेर जागिर लगाए। विहावारी गरिसकेपछि सनलाईटकै शाखाका रुपमा दिपायलमा होटेल खोलिदिए।

‘एक दिन म विहानै धनगढीमा होटेलका लागि दूध किनेर आउँदै थिएँ’, बम मलिन हुँदै भने, ‘भाइले गलत निर्णय गरेको फोन आयो, मेरा खुट्टा लगलग काँपे।’

भाइको पिउने बानी गहिरो लत बनिसकेको रहेछ। पारिवारिक अवस्था भित्रभित्रै निकै बिग्रिसकेको रहेछ। बुहारी दुई जिउकी थिइन, उसले उता लगत निर्णय गरिदियो, हामीले त्यो घटना थाहै नदिएर बुहारीलाई अस्पताल भर्ना गर्यौँ। उता भाइको अन्त्यष्ठि गरियो, यता भतिजिको जन्मभयो। उनी मर्माहत देखिए।

एकछिनको मौनतापछि उनी बोले– ‘अर्को नमिठो लागेको विषय हो, मेरा आमाबुवालाई मैले घर बनाउन नसकेको चिन्ता थियो। आज म नौ कठ्ठा जमिन लिएर नैनादेविमा व्यावसायिक भए पनि आफ्नै घर बनाउँदैछु, आगामी वैशाखसम्म त्यसमा चारतारे होटेल चलाउँदैछु, तर त्यो मेरा आमाबुवाले देख्नपाउनु भएन।’ एक वर्षअघि एक महिनाकै अन्तरालमा बमका मातापिताको निधन भएको थियाे।

केही विस्मय भावमा बोले, ‘मैले व्यवसाय गर्दागर्दै डेराकै जिन्दगी बाँचे, दुई पैसा भए पनि उत्पादनमूलक काममै लगाउँ सोचेँ। बुवाआमालाई भने ‘यसले घर बनाएन’ भन्ने चिन्ता थियो। जग त देख्नुभयो, तर घर ठडिएको देख्नपाउनु भएन।’

aksherpati@gmail.com

कलम बम वशन्ता भण्डारी सनलाइट होटेल