
अक्षरपाटी विशेष
कञ्चनपुर। जेनजी आन्दोलनपछि देशको समग्र राजनीतिक परिदृश्य मात्रै बदलिएन, त्यसको असर हरेक राजनीतिक दलमा परेको छ।
चरम दमन गर्दा पनि थेग्न नसकेपछि सत्ताच्युत भएर गुप्तबास पुगेका केपी ओली १५ दिनपछि प्रकट भएर देखाएको उस्तै रबैयाको सामना उनी अहिले गरिरहेका छन्।
ओली विरुद्ध चुइँक्क नबोल्ने पार्टीपंक्ति एमालेको जारी ११ औँ महाधिवेशनमा उनीविरुद्ध प्यानल नै बनाएर उत्रिएको छ।
लोकतन्त्रका लागि लामाे संघर्ष गरेका नेता शेरबहादुर देउवाले पार्टी र घरभित्रैबाट भएरगरेको व्यथितिलाई नियन्त्रण गर्न नसकेको आरोप खेप्नुपर्यो।
घरभित्र जलेको पैसा र डलरलगायत मिडियाले उठाएका कैयौँ सवालहरुका कारण र राजनीतिक हस्तान्तरण र पुस्तान्तरणप्रति अरुची देखाएपछि उनले पनि समस्या झेल्न पर्यो।
यसको असर जिल्ला जिल्लामा समेत परेको छ। यसको ज्वलन्त उदाहरण सुदूरपश्चिमको कञ्चनपुर जिल्लालाई लिन सकिन्छ । सुदूरपश्चिम कांग्रेस सभापति देउवाको गृह प्रदेश हो। यस प्रदेशमा पनि सँस्थापन पक्षका बलिया स्तम्भका रुपमा दुई नेतालाई चिनिइन्छ।
पटक पटक मन्त्री भएका र सँधै पार्टी नेतृत्वको निकट रहेका कञ्चनपुर क्षेत्र नम्बर २ का एनपी साउद र क्षेत्र नम्बर ३ का रमेश लेखक यस क्षेत्रमा सँस्थापन पक्षका बलिया नेतामा गनिन्छन्।
जेनजी आन्दोलनताका गृहमन्त्री रहेका रमेश लेखककै नेतृत्वमा आन्दोलनका क्रममा भएको चरम दमनका कारण निकै आलोचित भए। त्यसको असर उनको आफ्नै क्षेत्रमा पनि पार्टीभित्रै पर्यो। उनी निकै आलोचित सुनिन थाले।
त्यो मात्र होइन लेखकको निर्वाचन क्षेत्रमा राजनीतिमा निकै सहयोगी रहँदै आएका उनको पक्षका कैयौँ बलिया नेताले क्याम्प नै बदलेका छन्।
लेखकका विश्वासपात्र भनेर चिनिने पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य दिवाकर पाण्डे यतिबेला पार्टीको १५ औँ महाधिवेशनमा पार्टी सभापतिका बलिया दाबेदार गगन थापाको पक्षमा उभिएका छन्।
प्रदेश समिति सदस्य समेत रहेका पाण्डे यस क्षेत्रमा पार्टीको विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानका बलिया अभियन्ता हुन्। उनी यतिबेला महामन्त्रीको क्याम्प विस्तारमा खुलेरै लागेको कांग्रेस कार्यकर्ताहरु बताउँछन्।
क्षेत्र ३ बाट जिल्लाका पूर्व कोषाध्यक्ष शंकर चन्द उम्मेदवार सिफारिससँगै महामन्त्रीको कित्तामा जोडिएका छन्। त्यस्तै विशेष महाधिवेशनको हस्ताक्षरकर्ता सन्तोषी साउदलगायतका युवा पुस्ता पार्टीका महामन्त्री गगन थापाकै क्याम्प बलियो बनाउने अभियानमा जुटेको छन्।
कञ्चनपुर क्षेत्र नम्बर २ बाट राजनीति गर्दै पटक पटक मन्त्री बनेका संस्थापनका अर्का नेता हुन एनपी साउद। चुनावमा यस क्षेत्रका सुकुम्बासी र भूमिहीनको समस्या उठाए पनि मन्त्री हुँदा सम्बोधन गर्न नसकेको आरोप लाग्ने गरेपनि उनी सँस्थापन पक्षबाट बलिया नेता हुन्।
तर पछिल्लो समय भने उनको आधार इलाका पनि कमजोर बन्दै गएको छ। उनको निर्वाचन क्षेत्रमा उनकै खास सहयोगीहरु महामन्त्री गगन थापाको क्याम्प बलियो बनाउन जुटेका छन्।
कुनै समय एनपीका खास मान्छे भनेर चिनिने मात्र होइन २०७० सालमा सिँचाइ मन्त्री हुँदा स्वकीय सचिव रहेका युवा नेता लेखराज जोशी नै अहिले गगनको क्याम्प बलियो बनाउने अभियान नै चलाएर हिँडेका छन्।
हाल महासमिति सदस्य तथा कञ्चनपुरका पूर्व सहसचिव जोशीले खेमा बदलेपछि यस क्षेत्रको युवापुस्ता गगन कित्तामा आकर्सित भएको छ।
गाउँस्तरमा बलियो आधार भएका साउदका खास सहयोगी भनेर चिनिएका जोशी नै गगनको क्याम्प सुधारमा जुटेपछि युवापुस्ता उतै आकर्सित हुँदै गएको कांग्रेस कार्यकर्ताहरु बताउँछन्।
उनीमात्र होइन क्षेत्र नं २ बाट पूर्व जिल्ला सभापति हरीप्रसाद बोहरा आसन्न निर्वाचनका लागि थापा पक्षबाटै सिफासिस भएर आउनुले पनि यस क्षेत्रमा गगनको किल्ला बलियो बन्दै गएको देखिन्छ।
पछिल्लोपटक महाधिवेशन प्रतिनिधि हारेका उनी उम्मेदवार सिफारिस भएसँगै महामन्त्रीको पक्षमा खुलेरै उभिएका हुन्। क्षेत्र नम्बर ३ मा एनपी साउँदको टिमबाट क्षेत्रीय सभापति लडेर झिनो मतले हारेका गणेश नेगी पनि गगन कित्तामा जोडिएका छन्। केही युवा जिल्ला पदाधिकारी गगन कित्तामा जोडिए पनि खुल्न नसकेको चर्चा कांग्रेसमा छ।
त्यस्तै महासमिति सदस्य गणेश विक मात्र होइन युवा कांग्रेसीहरु आन्तरिक रुपमा गगनको क्याम्पमा आकर्षित भए पनि पुराना नेताका हैसियतले एनपी र लेखकका कार्यक्रममा उपस्थिति भने जनाइरहने गरेको स्थानीय कांग्रेसजनहरु नै बताउँछन्।
त्यस्तै क्षेत्र नम्बर १ बाट प्रदेश सांसद लडेका गोपाल गुरुङ्, दुईपटक मेयरको चुनाव लडेका हरेन्द्र बिष्ट, पुराना नेता अमरजन साउद, विन्दू श्रेष्ठ पनि पुरानो क्याम्प बदलेको चर्चा छ। नेविसंघका पूर्व केन्द्रीय सदस्यसहित वर्तमान क्षेत्रीय सभापति गोपी उपाध्याय विशेष महाधिवेशका हस्ताक्षरकर्ता बनेर उभिएका छन्।
क्षेत्र नं १ मा रमेश लेखकको टिमबाट १४ औँ महाधिवेशनमा क्षेत्रीय सभापति लडेका हरि चन्द ठकुरी पनि पुरानो खेमामा नरहेको बुझिएको छ। त्यस्तै क्षेत्र नं २ मा रमेश लेखकको टिमबाट क्षेत्रीय सभापति पराजित भएका नवराज जाेशीले त फेसबुकमै अबको सभापति गगन थापा भनेर लेखिसकेका छन्।
एक स्थानीय नेताले भने, ‘शरीर यता, मन उता जस्तै भइसक्यो।’ सुदूरपश्चिम भन्ने वित्तिकै कांग्रेसको सवालमा देउवा र उनी निकटका नेताहरुको किल्ला मानिन्छ ।
तर बदलिँदो राजनीतिक परिदृश्यपछि, पार्टीमा लिएको अडानले महामन्त्री थापाको पक्षमा सँस्थापनकै बलिया नेताकै इलाकासहित सुदूरपश्चिममै बलियो आधार निर्माण भइरहेको काँग्रेसवृतमै चर्चा छ।
कतिपय प्रदेश सांसद. उमम्मेद्वार, मेयर, उपमेयरका उम्मेदवार र आकांक्षीहरु गगन कित्तामा उभिने मनसायमा पुगेको कांग्रेसको राजनीति बुझेका जानकारहरु बताउँछन्।
बहुसंख्यक युवापुस्ताका वहालवाला जनप्रतिनिधि र उम्मेद्वारहरु पनि महामन्त्रीको पक्षमा उभिएका छन्।
यो सबै हुनुमा महामन्त्री थापाले बदलिँदो परिस्थितिमा महाधिवेशन वा विशेष महाधिवेशनका पक्षमा गरेको पहल र अहिले पनि विभिन्न जिल्लाबाट आशन्न निर्वाचनका लागि गरिएका प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारको सिफारिसको परिणाम भएको जानकारहरु बताउँछन्।
हालै पार्टी विधान र निर्देशन विपरित आफ्ना, आफन्त, जनिक र नातागोताको नाम विधान र निर्देशन मिचेरै सिफारिस गरिनुले पनि सँस्थापन पक्षप्रति अनाकर्षण झन बढाइदिएको छ।
जसलाई लिएर नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह मनुले विज्ञप्ति मार्फत सार्वजनिक मापदण्डमा ल्याउन सूचित गरेका छन्।
एनपी साउद गगन थापा नेपाली कांग्रेस रमेश लेखक


