
२३ भदौ सम्झन पनि नचाहने तेस्रोपटक पार्टीका अध्यक्ष भएका ओलीको यो बोलीमा अकर्मन्यता, अनिश्चितता, अराजकता र उदण्डता मात्रै अभिव्यक्त हुँदैन, उनलाई आफूबाट भएका अक्रमन्यताको डर पनि प्रतिविम्वित हुन्छ।
भदौ २३ गते सुधारको चाहना राखेर सडकमा उत्रिएका नाती-नातिनी पुस्ताका किशोर, किशोरी, युवायुवतीमाथि निर्मम गोली वर्षाएर लज्जास्पद सत्ता बर्हिगमनको उनी सम्झना सम्म गर्न चाहन्नन्।
कोरोना महामारीमा खरिद गरिएका स्वास्थ्य सामग्रीमा अर्बौँ भ्रष्टाचार भयो ‘ओली भ्रष्टाचारका महानायक’ भनेर अरु कसैले भनेको थिएन तत्कालीन राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले भनेको विषय के मजाक मात्रै थियो?
O शिवराज योगी
जेनजी आन्दोलनपछि लज्जास्पद सत्ता बर्हिगमनमा परेका तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली गुप्तबास बसे। १५ दिनपछि भक्तपुरको गुण्डुमा प्रकट भएका उनको नेतृत्वमाथि पर्टीभित्रै प्रश्न उठ्यो। आलोचनाका आइलाग्याे।
नेतृत्व परिवर्तनको आवाजलाई स्वीकार्दै एक वर्ष अगावै उनी पार्टीको महाधिवेशन गर्न मञ्जुर भए। पार्टीमा आफूविरुद्ध तर्क मात्रै गर्नेलाई पनि किनारा लगाइएका उदाहरण नेता भीम रावल हुँदाहुँदै उनले फेरि पनि प्रतिस्पर्धा गर्नेलाई पार्टी सदस्यता नै नदिने दम्भी स्वभाव त देखाइसकेका थिए।
यद्यपि पार्टीको ११ औँ महाधिवेशनमा भने उनले समान रुपमा प्रतिस्पर्धा गर्न तयार भएको प्यानलकै सामना गर्नुपर्यो। यद्यपि २०७१ सालदेखि पार्टीको नेतृत्व सम्हालेका उनी यसपटक लोकतान्त्रिक पद्धतिबाट नेतृत्वमा वैधानिक रुपमा अनुमोदित भए।
अनुमोदित हुनेवित्तिकै बधाइ लिँदै र महाधिवेशनको समापन गर्दै उनले उत्तेजक अभिव्यक्ति दिँदै भने-
‘देश बन्द, ठप्प । चक्का मात्रै जाम होइन, सप्पै जाम । ढालिने छ यो सरकार । एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प हुनुपर्दछ। यो सरकार ढल्नुपर्दछ, तपाईँहरुको सुरक्षा हामी गर्दछौँ। नेकपा एमालेको नेतृत्वमाथि अब भौतिक वा अनेक प्रकारका जाल-झेल हुनसक्छन्। प्रचारको हल्लाले भएन, अब भौतिक हमला गर्ने, अथवा मुद्दा मामिला, जाली मुद्दाहरु लगाउने, पञ्चायतकालीन कुकर्महरुको फेरि थालनी गर्ने हल्ला मचाइएको छ। जो मिडिया ट्रायल भइरहेको छ, यो यथार्थ हल्ला हुनसक्छ। म तपाईँहरुलाई भन्न चाहन्छु, एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प हुनुपर्दछ। देश ठप्प हुनुपर्दछ (गडगडाहट ताली) यो सरकार ढल्नुपर्दछ। ढालिनेछ यो सरकार (आक्रोसित हनुहार)। त्यसका निम्ती नेकपा एमाले देशभरीबाट आफ्नो तयारी हालतमा बस्नुपर्दछ। संसारमा केही महंगो पर्छ भने एमालेलाई छुनु महंगो पर्नेछ। यो कुराका लागि हामी कुराले होइन, कामले तयार हुनुपर्दछ, गरेर देखाउनुपर्दछ। हामीले जिन्दगीभरि लडेर ल्याएको लोकतन्त्रमाथि आज यस्ता तत्वहरु जसको देशकालागि कुनै योगदान छैन, बर्तै योगदान गरेको भए जागिर खाइदिएका होलान्, बाँकी केही पनि योगदान छैन, त्यस्ता तत्वहरुले एमालेजस्तो पार्टीलाई होच्याउने, लाञ्छित गर्ने विभिन्न कुराले कमजोर पार्ने! केही काम लागेन अब जाली मुद्दा लगाउने आदि प्रयासहरु हुँदैछन् भन्ने षडयन्त्रका सुइको हामी पाइरहेका छौँ। त्यसो हो भने जो जहाँ छ, त्यहीँबाट बन्द गरिदिनुस्। देश बन्द, ठप्प, चक्का मात्रै जाम होइन, सप्पै चिज जाम। सप्पै जाम! असंवैधानि हो यो सरकार। असंवैधानिक ढंगले संसद विगठन गरिएको छ। अचानक अस्ति २४ गते एउटा धोका भयो हामीलाई। हामी तयारी अवस्थामा थिएनौँ। अहिले अराजकता देशमा मच्चाउन खोजिएको छ। हामी त्यसका निम्ति तयारी अवस्थामा छौँ, त्यसलाई रोक्छौँ। त्यसका लागि तपाईँहरु अब राज्यको संयन्त्रको मात्रै भर नपर्नुस। टोल टोलमा सुरक्षा समिति गठन गर्नुस। भिड्नुस।
उनको यो अभिव्यक्तिमा एक जिम्मेवार दलको जिम्मेवार नेतृत्वको परख पाइँदैन। पटक पटक देशकाे प्रधानमन्त्री भएको व्यक्तिको छनक पाइँदैन। हुन्थ्याे भने राज्य चलाएकाे व्यक्तिले राज्यकै संयन्त्रलाई यसरी कसरी ललकार्थ्याे?
२३ भदौ सम्झन पनि नचाहने तेस्रोपटक पार्टीका अध्यक्ष भएका ओलीको यो बोलीमा अकर्मन्यता, अनिश्चितता, अराजकता र उदण्डता मात्रै अभिव्यक्त हुँदैन, उनलाई आफूबाट भएका अक्रमन्यताको डर पनि प्रतिविम्वित हुन्छ।
भदौ २३ गते सुधारको चाहना राखेर सडकमा उत्रिएका नाती-नातिनी पुस्ताका किशोर, किशोरी, युवायुवतीमाथि निर्मम गोली वर्षाएर लज्जास्पद सत्ता बर्हिगमनको उनी सम्झना सम्म गर्न चाहन्नन्। जुन कुराको पुष्टि उनी २४ लाई मात्र सम्झेर गर्न चाहन्छन्।
वहालवाला राष्ट्रपति रामचन्द्र पौडेलले नै ओलीकै सिफारिसमा संसद विघटन गरेको स्पस्ट पारिसक्दा पनि ओली भने यसलाई असंवैधानिकको ट्याग लगाइरहन चाहन्छन्। तर उनी आफू विगतमा प्रधानमन्त्री हुँदा आफू प्रतिकूल मत आउने भेउ पाएपछि विनाविथ्था संसद विघटन गरेको विर्सन चाहन्छन्।
सुशासन, अभिव्यक्ति स्वतन्त्रता, भ्रष्टाचार नियन्त्रण र रोजगारको अवसर देउ भनेर सडकमा उत्रिएका नयाँ पुस्तालाई ‘आतंककारी’ देख्ने ओली स्कुले नानीको छातीमा ताकीताकी गोली हान्न लगाउने सत्ताका नाइके मात्र होइनन्, ‘भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने नाराका प्रणेता हुन्। तर नाकैमुनी भ्रष्टाचार गर्नेका उनी संरक्षक भएको पुष्टि तमामौँ परिघटनाले गरिसकेको छ।
के भएन उनको पालामा ? पटक पटक प्रधानमन्त्री बनेका ओलीको विभिन्न कार्यकालमा कहिल्यै नभएका काण्ड र उदण्डताहरु भए। व्यथिति, व्यभिचार, भ्रष्टाचार, कुशासनले कुण्ठित नागरिकको मौलिक हकमाथि प्रतिबन्ध लगाएर आगो झोस्ने धृष्ठता उनैले गरे। जसको परिणाम भदौ २३ निम्तियो। भदौ २३ को दमनले आक्रोसको आगो २४ मा बल्यो।
केही घन्टामै देश जलाउने हात जसका भए पनि नाइके वा कारक ओली हुन्, यो उनकै मानवीय आत्माको कुनै कुनामा अवस्य स्वीकारोक्ति होला। पक्कै पनि होला।
तेस्रोपटक अध्यक्षको ओहोदामा पुगेपछि उनीबाट अपेक्षा थियाे- अब पार्टी मात्र होइन, बुज्रुक र पाका नेताका नाताले देशै सम्हाल्ने सुझबुझ देखाउने छन्। तर उनले दिएको अभिव्यक्तिमा भने- ‘जाली मुद्दा लगाउने आदि प्रयासहरु हुँदैछन् भन्ने षडयन्त्रका सुइको हामी पाइरहेका छौँ। त्यसाे भयाे भने देश बन्द, ठप्प, चक्काजाम!’
हो देशमाथि गरिएका षडयन्त्रका फेहरिस्त कस्ले सुनाइदिने उनलाई। उनकै पालमा दुईवटा वाइडबडी विमान खरिद काण्ड बाहिरिए। सो प्रकरणमा तत्कालीन उनकै मन्त्रिमण्डलका पर्यटनमन्त्री (स्वर्गीय) रवीन्द्र अधिकारी, पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलगायत मुछिए। विडम्बना ‘भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्नँ’ भन्ने मन्त्राेचारण गर्ने ओली मौन रहन रुचाए।
विभिन्न मन्त्रालय अन्तर्गत रहेर स्वतन्त्र रुपमा विभागीय मन्त्रालयको आदेशानुसार काम गरिरहेका विभिन्न विभागलाई आफू मातहत ल्याउनु कुन सदाचारकाे तानाबाना थियो?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशै ल्याएर तीन जनाको उपस्थितिमै नियुक्ति गर्नसक्ने प्राव्धान बनाएर सोही अध्यादेशका आधारमा संवैधानिक आयोगमा ३२ जना नियुक्त गर्नुको (कु)नियत के थियो?
वौद्धिकतामाथि लगाम अर्थात विदेशबाट किताब आयात गर्दा चर्को कर ओलीकै पालामा लगाइयो तर चकलेट र चुइगममा कर छुट गरेर कसलाई पोस्न खोजिएको थियाे?
सुपारी, केराउ आयात र नून बिक्रीवितरणमा निजी क्षेत्रलाई घुसाएर कुन पक्षका लागि सुशासन र सदाचारकाे सुरुवात गरियाे?
६ वर्ष भाडा अवधि हुँदाहुँदै ऐन नै संशोधन गरेर २९ सय ७१ रोपनी जमिन आफू निकटका व्यवसायी यती होल्डिङ्स प्रालीलाई दिइनुको पछाडी के नियत थियो? गिरीबन्धु टी स्टेटको २८० बिघा जग्गा प्रकरण के ओलीलाई जिस्क्याउनका लागि बनाइएको मिथक मात्रै थियो?
त्यो मात्रै होइन नेपाल ट्रष्टको स्वामित्वमा काठमाडौंका विभिन्न स्थानमा रहेका जमिन विभिन्न व्यवसायी पोसिने गरि नाममात्रको अंकमा भाडामा दिइनुको अन्तर्य के थियो?
आफ्नो क्याबिनेटका मन्त्रीकै जागिर जानेगरि गराइएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण कुन तानावानाको उपज थियो? हो, ३३ किलो सुन काण्डमा सानालाई समातेर ठूला माछा ओलीकै साशनकालमा उम्किए, यो कस्को प्रपञ्च थियो?
देश र जनता कोरोना महामारीले अत्यासमा थियो। एक गोली सिटामोल र एक सिलिन्डर ग्यासका लागि नागरिक तड्पिरहेका थियो, तर महामरी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा ओलीकै कार्यकालमा भएको अनियमितताको अन्देखा के थियो?
कोरोना महामारीमा खरिद गरिएका स्वास्थ्य सामग्रीमा अर्बौँ भ्रष्टाचार भयो ‘ओली भ्रष्टाचारका महानायक’ भनेर अरु कसैले भनेको थिएन तत्कालीन राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले भनेको विषय के मजाक मात्रै थियो?
सदाचार र सुशासनको त के कुरा ! कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भयो। देश मात्र होइन अन्तर्राष्ट्रिय जगत नै स्तब्ध भयो। न्याय त परै जाओस ओलीको आन्द्रो पनि हल्लिएन। बरु छानविनमा जुटेका कैयाैँ प्रहरी अफिसर हल्लिए।
पछिल्लो साशनकालमा आफ्नै कुर्चि मुनी ७६ जना निहत्था, निर्दोश नानीबाबुहरु रक्ताम्य बनेर ढल्दा ओली त्यही खोलो तरेर रातभरी आरामले सुते। याे कुन मानवीयता प्रारुप थियो?
जब सोही आक्रोसको आगोले भोलिपल्ट देशसँगै उनी लपेटमा पर्ने पक्का भयो अनि कुलेलम ठाेके । अहिले त्यही २४ को आगो मात्रै देख्दै छैनन, एक जिम्मेवार पार्टीको तेस्रोपटक जिम्मेवारीमा पुग्दा पनि उनी अझै अराजकता, अनिष्ठ र आततायी अवस्था सिर्जनाको शंखनाद गरिरहेका छन्।
तेस्रो कार्यकालका लागि बधाइ ‘बा‘



