Logo
८ पुस २०८२, मंगलबार

बिजुलीका खम्बा कपडा सुकाउने थामो बने, उज्यालो अझै सपना

अक्षरपाटी
२०८२ पुस ८ , मंगलबार ०२:१२ मा प्रकाशित

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतिक्षामा छन् । स्थानीय डम्मरी जोशीका अनुसार गाउँसम्म बिजुलीका खम्बा पुगे पनि विद्युत् आपूर्ति सुरु हुन सकेको छैन ।

चुनावका बेला पटक–पटक आश्वासन दिइए पनि काम अघि नबढेको गुनासो उनले गरिन् । गाडिएका खम्बा हाल कपडा सुकाउने र घाँस राख्ने थामोका रूपमा प्रयोग गरिरहेको उनको भनाइ छ ।

भागेश्वर गाउँपालिकाकै ओडाखानका स्थानीय भिमबहादुर बुढामगरले बिजुली नहुँदा विद्यार्थीको पढाइ प्रभावित भएको बताए । उनले मोबाइल चार्ज गर्नसमेत समस्या हुने गरेको र सोलार घाम लागेको दिन मात्र चल्ने समस्या रहेको बताए ।

डडेल्धुराका एक हजारभन्दा बढी घरधुरी अझै पनि विद्युत् सुविधाबाट वञ्चित रहेका छन् । जिल्लाका सातवटै स्थानीय तहका एक हजार २१ घरधुरीमा बिजुली नपुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले जनाएको छ ।

सदरमुकाम रहेको अमरगढी नगरपालिकाभित्रका ६० घरधुरीमा अझै बिजुली पुगेको छैन । परशुराम नगरपालिकाका ३०८ घरपरिवार बिजुलीविहीन छन् । बसौटी, सलोन, हल्दवारी, रजौडा, सिमलवण्ड, कुँडा लगायतका बस्तीमा विद्युत् सेवा पुगेको छैन ।

आलिताल गाउँपालिकामा १८९ घरपरिवार, भागेश्वर गाउँपालिकामा १४८ घरपरिवार, नवदुर्गा गाउँपालिकामा ८५ घरपरिवार, अजयमेरु गाउँपालिकामा १०० घरपरिवार तथा गन्यापधुरा गाउँपालिकामा १३१ घरपरिवार अझै विद्युत् पहुँचबाहिर छन् ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख कपिल जोशीका अनुसार जिल्लाभर रहेका ३१ हजार १७२ घरधुरीमध्ये ३० हजार १५१ घरपरिवारमा विद्युत् पुगेको छ । बाँकी एक हजार २१ घरपरिवारमा विद्युतीकरण हुन बाँकी रहेको उनले बताए । सबै नागरिकलाई विद्युत् पहुँचमा पुर्‍याउने लक्ष्यअनुसार काम भइरहेको जानकारी उनले दिए ।

बिजुलीको पहुँच नहुँदा स्थानीय नागरिक भने टुकी र सोलारको भरमा दैनिकी बिताउन बाध्य छन् । जिल्ला सदरमुकाम आसपासका बस्तीदेखि ग्रामीण तथा दुर्गम क्षेत्रसम्म अझै पनि विद्युत् विस्तार हुन सकेको छैन ।