Logo
११ पुस २०८२, शुक्रबार

रवि–बालेन संवाद रातिसम्म टुंगिने संकेत, सहमतिको खाका तयार हुँदै

अक्षरपाटी
२०८२ पुस ११ , शुक्रबार ११:१२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच जारी छलफल आज शुक्रबार रातिसम्म निष्कर्षमा पुग्ने संकेत देखिएको छ । दुई नेताबीचको संवादलाई पूर्णता दिन सहकर्मीहरू सहमतिको विस्तृत खाका तयार पार्ने तयारीमा जुटेका छन् ।

रवि र बालेनबीच दुई चरणको वार्ता गराइसकेका असीम शाह, आसिफ शाह र कुमार बेनले अर्को चरणको छलफलका लागि गृहकार्य थालेका हुन् । निकट स्रोतका अनुसार आज रातिसम्म संवादले अन्तिम टुंगो पाउनेछ भने त्यसपछि पार्टी एकता वा सहकार्यबारे औपचारिक घोषणा हुने सम्भावना रहेको छ ।

निकटस्थ स्रोतहरूका अनुसार एकीकृत पार्टीको संरचनामा बालेन शाहको बरियता रवि लामिछानेको ठीक मुन्तिर रहने सहमति बन्ने सम्भावना छ । साथै, पहिलो चरणमै बालेनलाई प्रधानमन्त्री बनाउने पूर्व प्रतिबद्धतामा रवि कायम रहेको बताइएको छ । यही बुँदामा आधारभूत सहमति जुट्नेमा सहकर्मीहरू विश्वस्त देखिएका छन् ।

यसअघि छलफल टुंगोमा नपुगेपछि बालेनले आफ्ना निकट सहयोगी कुमार बेनको ज्वागलस्थित निवासमा भेटघाट तीव्र बनाउँदै देश विकास पार्टीका लागि समर्थन जुटाउने प्रयास थालेका थिए । ७ पुसको राति कमलपोखरीमा भएको छलफललाई रविले बाहिर फरक ढंगले प्रस्तुत गरेको भन्दै बालेन असन्तुष्ट बनेका थिए ।

बिहीबार अपराह्नसम्म चलेको पछिल्लो भेटमा सम्भावित एकता प्रक्रियाबारे गहन छलफल भएको थियो । पार्टीको नाम, चुनाव चिह्न तथा उम्मेदवारको अनुपात मुख्य एजेन्डा बनेका थिए । रास्वपामा आकांक्षी धेरै भएकाले ७०–३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची बनाउने प्रस्ताव रविले अघि सारेका थिए भने बालेनले यस विषयमा प्रत्यक्ष चासो नदेखाएको बुझिएको छ । सो विषयमा कुमार बेन र असीम शाहलगायतले सहजीकरण गर्ने र बालेनले अन्तिम सहमति जनाउने तयारी रहेको स्रोत बताउँछ ।

ज्वागलमा बालेनसँग भेटपछि सञ्चारकर्मीले लामिछानेलाई चुनाव चिह्न ‘लौरी कि घण्टी’ भन्ने प्रश्न गर्दा उनले ‘समयले बताउने’ जवाफ दिएका थिए । रास्वपाको चुनाव चिह्न घण्टी यसअघि नै स्थापित भइसकेकाले त्यसैअन्तर्गत अघि बढ्न बालेनलाई समस्या नहुने संकेत पनि प्राप्त भएको छ ।

संवाद तिक्ततातर्फ जान थालेको देखेपछि सहकर्मीहरूले दुवै नेतालाई तत्काल सहमतिमा पुग्न दबाब दिएका थिए । बिहीबार साँझ पुनः वार्ता हुने भनिए पनि सम्भव हुन सकेन । सो समयमा बालेनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग अलग्गै छलफल गरेका थिए । रवि र कुलमानबीच प्रत्यक्ष संवाद नभइरहेको अवस्थामा विभिन्न शक्ति र व्यक्तिलाई एक ठाउँ ल्याउने जिम्मेवारी बालेनले लिएको बताइएको छ ।

रास्वपाका नेता तथा बालेनका निकट मित्र असीम शाहले संवाद सकारात्मक निष्कर्षतर्फ उन्मुख रहेको जानकारी दिए ।
‘कुन विषयमा सहमति हुन लागेको छ भन्ने कुरा अहिल्यै खुलाउन मिल्दैन । धेरै विषय अझै छलफलमै छन्, तर हामी त्यसलाई मिलनविन्दुमा पुर्‍याउँछौं,’ शाहले भने, ‘नयाँ शक्तिहरूबीचको एकता जेन–जी पुस्ताको पनि भावना हो । त्यसको कदर गर्दै हामी अघि बढ्नेछौं । छिट्टै सकारात्मक सन्देश आउँछ ।’

बालेन शाह रवि लामिछाने