

काठमाडौँ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने एकमहिने स्वस्थानी व्रत तथा माघ स्नान आजदेखि सुरु भएको छ। यस अवसरमा वैदिक सनातन धर्मावलम्बीहरूले घरघरमा विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत र कथा वाचन आरम्भ गरेका छन्।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको अवधिमा विभिन्न शक्तिपीठहरूमा पूजा–आराधना गरिन्छ। सतीदेवीका अङ्ग पतन भएका स्थानमा देवीदेवताको वास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको मानिन्छ।
स्वस्थानी व्रतको सुरुआत पौष शुक्ल चतुर्दशीका दिन हात–गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र धारण गरेर गरिन्छ। प्रत्येक बिहान माघ स्नान गरी मध्याह्नमा पार्वतीसहित महादेवको पूजा गरिन्छ भने बेलुकी स्कन्द पुराणको केदारखण्ड अन्तर्गत माघ माहात्म्यसम्बन्धी स्वस्थानी व्रत कथा वाचन गर्ने परम्परा छ। कुल परम्पराअनुसार कतै बिहान त कतै बेलुकी कथावाचन गरिन्छ।
एक महिना विधिपूर्वक व्रत सम्पन्न गरेपछि माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता, फलफूल, धूप, बत्ती, नैवेद्य, वस्त्रलगायत सामग्री चढाई भगवतीलाई अर्घ्य दिइन्छ। व्रतको अन्त्यमा चढाइएका प्रसादको अंश पति, छोरा वा मीत छोरालाई दिने र सो सम्भव नभए पवित्र नदीमा विसर्जन गर्ने विधि रहेको छ।
व्रत अवधिभर फलाहार गरी राति जाग्राम बस्ने र देवीको माहात्म्य सुन्ने–सुनाउने परम्परा छ। यसो गरेमा बर्तालुको मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ। ‘स्वस्थानी’ शब्दको अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ। उत्तरायणपछि ध्यान, योग र आत्मसाधनाका लागि उपयुक्त समय भएकाले यस अवधिलाई विशेष मानिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार स्कन्द पुराणमा स्वस्थानी देवीलाई सुवर्ण वर्णकी, त्रिनेत्रधारी, चार हात भएकी देवीका रूपमा वर्णन गरिएको छ। उहाँका अनुसार देवीका हातमा नीलकमल, खड्ग, ढाल र वरदमुद्रा रहेको उल्लेख छ।
धार्मिक विश्वासअनुसार स्वस्थानी व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन, रोगव्याधिबाट मुक्ति तथा मनले चाहेको जीवनसाथी प्राप्त हुने कथाहरू प्रचलित छन्। सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउन विष्णुको निर्देशनअनुसार स्वस्थानी व्रत गरेको कथा समेत स्वस्थानी ग्रन्थमा वर्णन गरिएको छ।
यसै अवसरमा काठमाडौँ उपत्यकाको उत्तर–पूर्वी भेगस्थित साँखुको शालिनदीमा माधवनारायण मेला पनि आजदेखि सुरु भएको छ। माघ महिनाभर शालिनदीमा स्नान गरी माधवनारायण तथा श्रीस्वस्थानीको दर्शन गरे पाप पखालिने र पुण्य प्राप्त हुने विश्वासका कारण हरेक वर्ष लाखौँ भक्तजन यहाँ आउने गर्दछन्।
शालिनदी व्यवस्थापन समितिका अनुसार यस वर्षको माधवनारायण मेलाका लागि सम्पूर्ण तयारी पूरा भएको छ। मेलामा नेपालका विभिन्न स्थानसँगै भारतबाट समेत भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।




