



काठमाडौं । देशभर जाडो बढ्दै गएको मौसमविद्हरूले बताएका छन्। काठमाडौं उपत्यकामा हिजोको तुलनामा आज झन् चिसो महसुस गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको छ। यो तापक्रम यस वर्ष हालसम्मकै सबैभन्दा कम हो।
पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम लगातार घट्दो क्रममा रहेको छ। शनिबार न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस मापन भएको थियो भने आइतबार ४, सोमबार ३.५ र मंगलबार बिहान ३.४ डिग्री सेल्सियस पुगेको हो। नेपालमा न्यूनतम तापक्रमको आधिकारिक मापन हरेक दिन बिहान पौने ९ बजे सार्वजनिक गरिन्छ।
मौसमविद् ढकालका अनुसार हालसम्मकै कम तापक्रम भए पनि यो आजको औसत तापक्रमभन्दा भने केही माथि नै हो। उनका अनुसार जनवरी ६ तारिख अर्थात् आजको काठमाडौंको औसत न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस रहने गर्दछ।
अधिकतम तापक्रममा भने खासै ठूलो उतारचढाव नदेखिएको उनले बताए। तराईका क्षेत्रमा हिजो घाम लागेको कारण अधिकतम तापक्रममा सामान्य वृद्धि देखिएको जानकारी पनि उनले दिए।
तराईमा हुस्सु र कुहिरो कायमै
तराईका जिल्लाहरूमा बिहानपख लाग्ने हुस्सु र कुहिरो अझै केही दिन कायम रहने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। यद्यपि, मध्याह्नपछि क्रमिक रूपमा मौसम सुधार हुँदै जाने ढकालको भनाइ छ।
तराई–मधेशका बासिन्दाले बिहानको समयमा शीत चुहिने अवस्थाका कारण दैनिक जनजीवन प्रभावित भएको बताएका छन्। यद्यपि, मौसम विज्ञान विभागले अहिलेको अवस्थालाई औपचारिक रूपमा ‘शीतलहर’ भन्न मिल्ने अवस्था नरहेको स्पष्ट पारेको छ।
तत्काल वर्षाको सम्भावना छैन
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म नेपालमा उल्लेखनीय वर्षाको सम्भावना छैन। देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिन सक्नेछ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहे पनि अन्य क्षेत्रमा वर्षाको संकेत नरहेको महाशाखाले जनाएको छ। आगामी केही दिनसम्म ठूलो वर्षा गराउने कुनै मौसमी प्रणाली सक्रिय नहुने पनि जनाइएको छ।
हिउँदे वर्षा घट्दा चिन्ता
यस वर्ष हिउँदे वर्षा सरदरभन्दा कम हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार लामो समयदेखि देशका अधिकांश भागमा पानी पर्न सकेको छैन। विभागका अनुसार हिउँदमा स्वभाविक रूपमा कम वर्षा हुने भए पनि यस वर्ष वर्षाको मात्रा अझै न्यून देखिएको हो।
मौसमविद्हरूका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा हिउँदे वर्षा घट्दै गएको र सुक्खा बढ्दो क्रममा रहेको छ। यसले मानव स्वास्थ्य र कृषि प्रणालीमा नकारात्मक असर पार्न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। कतिपयले यस अवस्थालाई जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावका रूपमा समेत व्याख्या गरेका छन्।




