Logo
२३ पुस २०८२, बुधबार

नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मञ्चमा स्थापित भइसकेको छ : क्यान अध्यक्ष चन्द

अक्षरपाटी
२०८२ पुस २२ , मंगलबार १२:०१ मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई स्थापित गरिसकेको दाबी गरेका छन् ।

सोमबार आयोजित जर्सी तथा ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले नेपाली क्रिकेट अब प्रयोगको चरणमा नरही प्रगतिशील यात्रामा प्रवेश गरिसकेको बताए ।

उनका अनुसार सन् २०१४ मा बंगलादेशमा सम्पन्न आईसीसी टी–२० विश्वकप नेपाली क्रिकेटको ऐतिहासिक मोड थियो । ‘त्यसबेला १६ टिमको सहभागिता रहेको विश्वकपमा नेपालले प्रभावशाली खेल प्रदर्शन गर्दै छनोट भएको थियो,’ उनले भने, ‘आज विश्वकपमा २० टिम पुगिसकेका छन् र नेपाल त्यसको स्थायी प्रतिस्पर्धी बनिसकेको छ।’

अध्यक्ष चन्दले सन् २०२४ मा क्यारिबियन र अमेरिकामा आयोजना भएको टी–२० विश्वकपमा नेपालको प्रदर्शनले विश्व क्रिकेटमा नेपालको पहिचान अझ स्पष्ट बनाएको बताए ।

‘जित र हार खेलको स्वाभाविक पाटो हो तर बंगलादेश र दक्षिण अफ्रिकाजस्ता बलिया टोलीसँग नेपालले देखाएको आत्मविश्वासपूर्ण खेलले नेपाली क्रिकेटको स्तर कहाँ पुगिसकेको छ भन्ने प्रमाणित गरेको छ,’ उनले भने ।

उनले अब नेपाली क्रिकेटलाई खेल क्षेत्रको मात्र विषय नठानी राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । ‘समर्थकको अपेक्षा बढिसकेको छ, त्यसलाई सम्बोधन गर्न क्यान, सरकार र राजनीतिक नेतृत्वबीच सहकार्य अनिवार्य छ,’ अध्यक्ष चन्दले स्पष्ट पारे ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आईसीसी टी–२० विश्वकपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय टोलीलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।