

o शंकर खैराली
कोइ अरुले नै पढाइदियो । कोइ अरुले काम सिकाइ दियो । डोटीको साविक सिमचौर गाविस १ काटैमा जन्मिएका देवबहादुर बमको बाल्यकाल सामान्य थिएन ।
भूगोलका हिसाबले पनि दुर्गम । आर्थिक अवस्थाका दृष्टिले पनि कठिन थियो बमको बालकाल । हुन त उनी जन्मिए मात्र डोटीमा । उनको पढाइ र बढाइ भने कैलालीको पूर्वी क्षेत्र नारायणपुरको सत्तीबजारमा भयो ।
पाँच कक्षासम्म सत्तिबजारमा पढेका उनलाई त्यसपछिको शिक्षाका लागि काका गगनसिंह बम ‘ड्राइभर’ले धनगढी ल्याए । कक्षा ६ देखि एसएलसीसम्मको शिक्षा उनले धनगढीको पञ्चोदय माध्यमिक विद्यालयबाट पुरा गरे ।
पढ्ने उत्कठ चाहना थियो । पढ्ने उपाए थिएन । उनका लागि तत्कालीन समयमा कैलाली बहुमुखी क्याम्पसका प्रमुख डा हेमराज पन्त अभिभावक बनेर प्रकट भए । उनैले आई ए र बिएसम्मको शुल्क व्यवस्थापन गरिदिएर उनी स्नातक पढ्न सके । शैक्षिक यात्राका स्मरण यत्ति नै छन् बमसँग ।
त्यसपछि उनको कर्मको यात्रा सुरु भयो । उनको कर्मयात्राका अभिभावक बने हर्जेन्द्र सिंह र हरपाल सिंह सरदार । जसको धनगढीमा चल्ताफिर्ता वर्कसप थियो ।
देवबहादुर बमले सरदार दाजुभाइको मै काम पाए । ‘मेरा लागि काम ठूलो सानो थिएन’, बमले भने, ‘मलाई काम सिक्नु थियो, केही गरेर खानु थियो ।’ यो २०४८ सालतिरको कुरा थियो–त्यहाँ उनले तीन चार वर्षमै जस्तो पनि गाडी मर्मत गर्ने सिप हासिल गरे ।

तर वर्कसपको काम उनले सजिलै सिकेनन् । सरदार परिवारको एक सदस्यका रुपमा उनले भाँडा माझे, घरमा झाडुपोछा लगाए । छोराजस्तै माया गर्ने साहुनी सुत्केरी हुँदा उनका श्रीमान घरमा थिएनन्, उनले सुत्केरी स्यहार्ने मात्र होइन उनका लुगा समेत धोइदिए ।
त्यसको परिणाम उनले झन ठूलो माया पाए । दुई छोराका बाबु हजेन्द्र सिंहले तेस्रो छोराको दर्जा दिँदै बमको पनि भारतीय बिमा कम्पनीमा बिमा गरिदिए । किस्ता आफै तिरिदिए ।
उनकोमा काम सुरु गरेको तीन, चार वर्षमै उनी ओस्ताज बने । २०५१ तिर उनले धनगढीको चटकपुरमा दिपक मेकानिकल वर्कसप खोले । त्यो खोल्दा पनि सरदारले त्यहाँ चाहिने सबै औजार किनिदिए । बिवाह गर्दा सित्तैमा ५० हजार सहयोग गरे ।
दिपक वर्कसप उनले करिब २० वर्ष चलाए । जसमा भीमबहादुर बम र कमल शाह सुरुदेखिकै कर्मचारी थिए । पछि उनले त्यो वर्कसप एक पैसा नलिएर उनीहरुलाई नै सुम्पिदिए ।
‘आर्मी, पुलिस हुने हो वा सरकारी जागिर खाने हो भने पनि १६ देखि २० वर्षमा पेन्सन हुन्छ,’ उनले भने, ‘उनीहरुले मसँग त्यति लामो समय काम गरे, तलब त पाए, अरु के त ? यही सोचेर मैले एक पैसा नलिएर त्यो वर्कसप उनीहरुकै जिम्मा लगाइदिएँ ।’
अनि ट्रेड युनियनकर्मी
सुत्केरी श्रीमती स्यहारेकोमा खुशी भएर सरदार हजेन्द्र सिंहले गरिदिएको बिमाबाट उनले राम्रै रकम हात पारे । त्यही पैँसाबाट उनले ३९ नम्बरको ट्रक किने र बने ट्रक मालिक । यो यात्रा उनको एउटै ट्रकमा रोकिएन । किनबेचका क्रममा उनले १९९ ट्रक र ५५ जति बस किने, बेचे ।
ट्रक मालिक भएपछि उनले २०५२ सालमा ट्रेड युनियनकर्मीको यात्रा सुरु गरे । १४ जनाबाट सुरु गरेको नेपाल अटो मेकानिक्स ट्रेड युनियन ९ नम्बरमा दर्ता भयो । जुन आईएलओको नियमानुसार चल्यो । संस्थापक अध्यक्ष बलराम खत्रीको नेतृत्वमा उनी केन्द्रीय सदस्य बने । २०५८ मा उनी सहसचिब भए ।
त्यसपछि २०६२ सालमा स्थापना भएको जिफन्डको उनी सेतीमहाकाली कमिटीको उपाध्यक्ष बनेर मजदुरको हकहितका लागि आवाज उठाउन थाले । पछि सेती अञ्चलन कमिटीको ३ कार्यकाल अध्यक्ष बने ।
प्रदेश संरचनामा मुलुक प्रवेश गरेपछि देवबहादुर बम दुई कार्यकाल प्रदेश कमिटी अध्यक्ष भए ।
सेतीमहाकाली ट्रक यातायात व्यवसायी संघको प्रथम उपाध्यक्ष हुँदा उनको नेतृत्वमा ६६ दिन लामो आन्दोलन भयो । भाडा दरमा वैज्ञानिक प्रणाली लागु हुनुपर्ने, भार मापन अनिवार्य गरिनुपर्ने मुल मुद्दा थियो ।
कैलाली उद्योग वाणिज्य संघले भने फ्रि कम्पिटिसन र भार मापनलाई नस्वीकार्ने अडान लिएको थियो । दुई पक्षबीच तनावको स्थिति बन्यो । आन्दोलनका क्रममा उनलाई २ दिन प्रहरी हिरासतमा राखियो । कैलाली र कञ्चनपुरमा चल्ने ट्रकहरुले जिल्ला प्रहरी कार्यालय घेराउ गरेपछि उनी रिहा भए ।
उद्योग वाणिज्य संघ पछि हट्यो । भाडा दर निर्धारण र भार मापन प्रणाली लागू भयो । सोही क्रममा बमले धनगढीको चटकपुरमा ट्रक व्यवसायी संघको नाममा १ कट्टा ५ धुर जगा किने । ३ तले आफ्नै भवन निर्माण गराए । जहाँबाट संघको आफ्नै व्यवस्थित कार्यालय सञ्चालनमा आयो ।
जुन आन्दोलनले आज धर्मकाँटा स्थापित बन्यो । भाडा दर लागू भयो । मजदूर बिमादेखि हकहित सुरक्षित भयो । व्यवसायीको हकहित स्थापित भयो । आन्दोलन सँधैका लागि समाप्त भयो ।

ऋण नपाएपछि सहकारीकै नेतृत्व
२०५२ सालको कुरा हो । एक दिन उनी धनगढीस्थित नवजीवन को-अपरेटिभ्स लिमिटेडमा ऋण लिन गए । देशकै ठूलो सहकारीका रुपमा स्थापित नवजीवनले उनलाई ऋण पत्याएन ।
‘मैले त्यसै दिन अठोट गरेँ, एक दिन यो सहकारी म आफै हाँकेर देखाउँछु’, बमले पुरानो दिन स्मरण गरे, ‘आफै सदस्य छु, आफ्नै पैसाबाट ऋण माग्दा पनि अपहेलित भएको महसुस गरेँ ।’
त्यसपछि उनले २०६४ तिर पुग्दा ट्रेड युनियनका सदस्य, परिवार र आफन्त गरेर ९ सय सदस्य बनाए । निर्वाचन भयो । उनले उम्मेदवारी दिए । ‘पहिलोपटक म भारी मतले सञ्चालक समिति सदस्यमा निर्वाति भएँ’, उनले स्मरण गरे ।
त्यसपछि उनी निरन्तर चार कार्यकाल सञ्चाल समितिको सदस्यका रुपमा नवजीवनमा रहे । निरन्तरको सिकाइ र खटाइका क्रममा उनले ९ हजारलाई नवजीवन सहकारीको सदस्य बनाए । जसमध्ये २४ सय जना त उनको नातागोताकै छन् ।
३९ हजार कुल सदस्य रहेको नवजीवनमा ९ हजार आफैले बनाएका सदस्य भएपछि के थियो ? उनले २०७८ साल फागुन २८ मा भएको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिए । उनलाई हराउन अनेकन गठबन्धन भयो । तर उनी १३०८ मतान्तरले विजयी भए र सम्हाले नवजीवनको नेतृत्व ।
जीवनको यो चरणमा पुग्दासम्म उनले अनेकन अनुभव र अनुभूति संगालीसकेका थिए । ३२ देशको भ्रमण गरिसकेका उनले सँस्थालाई बलियो बनाउने नेतृत्वले भन्दा पनि नीतिले हो भन्ने सिकेका थिए ।

उनी अध्यक्ष भएर आएपछि नवजीवनमा पनि शेयर सदस्यको हीतका लागि काम थालियो । ऋण लिन आउनेलाई झेलाइने अनेकन झण्झट उनको कार्यकालमा नियन्त्रण गरियो । उनले नयाँ नारासहित सहुलिएत लागु गरे–‘जन्मदेखि मृत्यु यात्रा ।’
नवजीवनको कुनै पनि शेयर सदस्य एक वर्षमा सुत्केरी भएमा ५ हजार सहयोग गर्ने व्यवस्था उनले गरे । शेयर सदस्यको स्वतः जीवन बीमाको व्यवस्था गरियो ।
‘अहिले हाम्रो कुनै पनि शेयर सदस्य जीवनमा एकपटक ठूलो बिरामी भयो भने १० देखि ३५ हजार सहयोग गर्ने व्यवस्था गरेको छु,’ उनले भने, ‘अंग नै प्रत्यारोपण गर्ने खालको बिरामी भएमा १ लाख उपचार खर्च उपलब्ध हुन्छ ।’
त्यो मात्र होइन भरखरै सदस्य भएको कुनै शेयरधनीको मृत्यु भएमा परिवारका सदस्यलाई २० हजार सहयोगको नीति उनले लागू गरेका छन् ।
उनी नेतृत्वमा आएदेखि नवजीवन सहकारीले अग्र्यानिक चामल उत्पादन गरिरहेको छ । ‘निकट भविश्यमै हामी तेल, मसुरोको दाल र पिठो उत्पाद तथा वितरण गर्ने तयारीमा छौँ’, अध्यक्ष बमले भने ।

करिब ७ अर्ब माथिको कारोबार गरिरहेको नवजीवनलाई उनी ‘जसको कोही छैन उसको नवजीवन’को नीति अख्तियार गरेर अघि बढिरहेको सुनाउँछन् ।
उनी आज नवजीवन सहकारी संस्था लिमिटेडको मात्र अध्यक्ष छैनन् । राष्ट्रिय समृद्ध आवास विशिष्टिकृत सहकारी संघ लिमिटेडको उपाध्यक्षको जिम्मेवारीमा छन्।
९७६ वटा श्रमिक सहकारीको सहकारी प्रवद्र्धन कमिटीको केन्द्रीय संयोजक छन् । लायन्स क्लबदेखि स्थानीय तमामौँ सँस्थामा आवद्ध छन् ।
अनेकन अडचन
उनी नेतृत्वमा आएपछि अडचन नभएका होइनन् । लामो समयदेखि रजगज गर्दै आएका केही कर्मचारीहरु असन्तुष्ट भए । केहीलाई त उनले सम्मानजनक रुपमा निस्कासन नै गरे ।
‘३९ हजार सदस्य छन्,’ अध्यक्ष बलमे भने, ‘कुनै पनि सदस्यलाई, कुनै पनि खालको सेवा प्रदान गर्दा अनियमितता गरेको सूचना पुष्टि भएछ भने ठाउँको ठाउँ निस्कासन गर्ने अठोट लिएको छु ।’
भवन निर्माण होस, सहयोग प्रदान, कुनै पनि खालको अनैतिक लाभ हुने कुरामा उनले अंकुश लगाएपछि धम्की र चुनौतिको सामना पनि गर्नुपरेको उनले सुनाए ।
‘कोही मानिस त ग्याङ बनाएर मोटरसाइकलमा मार्न आए । कैयौँले चन्दासहयोग दिएन भनेर धम्की दिने गर्छन’, उनले भने, ‘म बेइमानी गर्दिन, त्यसैले म भगवान बाहेक मान्छेसँग डराउन पनि डराउँदिन ।’
भगवानप्रति गहिरो विश्वास
अध्यक्ष बम भगवानसँग भने निकै नतमस्तक छन् । ट्रक व्यवसाय गर्दागर्दै उनलाई ३ करोडभन्दा बढी ऋण लाग्यो । निकै तनावको अवस्थामा उनी जिन्दगी गुजारिरहेका थिए ।
‘एक दिन एक जना गुरु भेट भयो’, उनले सुनाए, ‘भारतको महाराष्ट्रमा शनिसिम्नापुर मन्दिर छ । त्यहाँ गएर सुद्ध तोरीको तेल चढाउनु भन्नुभयो । आमाले कोलमा पेलेको लेत लगेर गएँ ।’
महाराष्ट्रको शनिसिम्नापुरमा तेल चढाएर फर्केको २८ दिनमै उनको कामना भगवानले सुनेको विश्वास उनी गर्छन ।
‘मैले यसै ऋण, त्यसै ऋण भनेर बाजे पर्ने मल्ल आयल स्टोरका सञ्चालकसँग २९ लाख मागेर एउटा जगा चटकपुर चोकमा किनेको थिएँ’, उनले पुराना दिन सम्झिए, ‘त्यही जगा चाहियो भनेर पन्नालाल शाह र मानबहानुर बिष्ट आउनुभयो । मैले तीन करोड भनिदिएँ । उहाँहरुले २ करोड ८० लाख दिएर किन्नुभयो । मेरो ऋण एकै दिनमा सकियो । त्यसयता भने मैले कसैको एक पैसा ऋण लिन छोडिदिएँ ।’
त्यस्तै उनको अर्को किस्सा छ । आज पनि नेपाली समाजमा छोरो चाहिन्छ भन्ने मान्यताले जरो गाडेको छ । उनको जीवनमा पनि यो लागु भयो । एक दिन कसैले डोटीको बढीकेदारको दर्शन गर्नुभन्यो । निराहार उनी श्रीमतिसहित बढीकेदारको दर्शन गर्न पुगे । त्यसको ११ महिनामा उनले पुत्रलाभ गरे ।
‘मेरो छोराको दायाँ काँधमा आज पनि त्रिशूलको चिन्ह छ’, उनले भने, ‘उ आज ९२ प्रतिशत अंक ल्याएर अष्ट्रेलियामा छात्रवृतिमा अध्ययन गर्दैछ ।’

सुद्ध हृदय नै सफलताको सुत्र
उनी सुद्ध मन तथा हृदय नै सफलताको सुत्र ठान्छन् । ‘मेरो मनमा पाप छैन, अरुको पुन्य होस् भन्ने भाव बोक्छु’, उनी भन्छन्, ‘जसले अरुको भलो चिताउँछ, उसैको फलिफाप हुन्छ ।’
मान्छेमा इमान्दारी, कर्मशीलता, धैर्यता, सहनशीलतासँगै असल साथी, समझदार श्रीमती भए सफलता आफै पछि लाग्ने अनुभव उनले संगालेका छन् । बम आफू आज जहाँ छन, त्यसको आधाभन्दा बढी श्रेय श्रीमतीलाई दिन चाहन्छन् । बाँकी असल साथी र आफ्नो इमान्दारी, कर्मशील स्वभावको फल भएको बताउँछन् ।
परिवारमा एक्लो एमाले
देवबहादुर बम जानेबुझेर राजनीतिमा आएका होइनन् । तत्कालीन शिक्षक तथा एमालेका नेता महेश्वर पाठकले एक दिन उनलाई ‘पाँच रुपैयाँ छ ?’ भन्दै सोधे ।
‘मैले छ भनेर पाँच रुपैयाँ दिएँ’, बमले सम्झिए, ‘त्यसको पाँच, छ मैहिनापछि उहाँले मलाई एउटा चिर्कट्टो थमाउनुभयो । त्यो रैछ एमालेको सदस्यता ।’
उसै पनि पढाइदेखि अन्य कुरामा सहयोग गर्ने पाठकले दिएको त्यही कागजको चिर्कट्टो उनका लागि बरदान बन्यो ।
‘हुन त म नियतबस एमाले बनेको होइन, राजनीति बुझेर पनि पार्टीमा लागेको होइन, वैचारिक हिसाबले पनि एमाले भएको होइनँ’, बमले भने, ‘मेरो परिवारका १९४ परिवारमध्ये १९१ परिवार काँग्रेस छन्, २ परिवार माओवादी समर्थक छन्, म एक्लो वृहस्पतीजस्तो एमाले छु ।’
महेश्वर पाठकले काटिदिएको त्यो सदस्यता उनको जीवन परिवर्तनको ठूलो आधार बन्यो । त्यही सदस्यताका कारण उनी जिफण्डको नेताका रुपमा विदेश भ्रमणमा जान पाए । भत्तास्वरुप पाएको केही डलर उनले पार्टीलाई बुझाएर पनि घरबास जोड्ने आधार बन्यो ।
‘त्यसरी विदेश जाँदा पाएको भत्ता यहाँ धेरै ठूलो रकम हुन्थ्यो,’ उनले भने, ‘त्यो रकमले मलाई राम्रै व्यवस्था गर्न सहयोग पुग्यो ।’ चार कार्यकाल एमालेको जिल्ला कमिटीमा बसेर काम गरेका उनी अहिले प्रदेश कमिटीमा छन् ।
देवबहादुर बम नवजीवन को-अपरेटिभ्स लिमिटेड



