

वीरगञ्ज। धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म थप गरिएको छ।
स्थानीय प्रशासनले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो। सो कर्फ्यू बिहान ८ बजेपछि दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएकोमा पुनः थप गर्दै साँझ ६ बजेसम्म कायम गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पूर्वतर्फ बसपार्क, नगवा र इनर्वा, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरतर्फ गण्डक चोक तथा दक्षिणतर्फ शंकराचार्य गेटसम्म कुनै पनि किसिमको भेला, सभा, जुलुस वा प्रदर्शन गर्न निषेध गरिएको छ।
कर्फ्यू अवधिभर अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन प्रशासनले अनुरोध गरेको छ। बाहिर निस्कनु परे नजिकको सुरक्षाकर्मी वा १०० नम्बरमा सम्पर्क गरी समन्वय गर्न भनिएको छ।
कर्फ्यूका समयमा एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा यात्रा गर्ने यात्रुलाई सुरक्षाकर्मीहरूले सहजीकरण गर्ने जनाइएको छ।
धार्मिक तथा सामाजिक विषयलाई लिएर आइतबारदेखि दुई समुदायले वीरगञ्जमा प्रदर्शन गर्दै आएका छन्। प्रदर्शन चर्किँदै गएपछि वीरगञ्ज क्षेत्र तनावग्रस्त बन्दै गएको प्रशासनले जनाएको छ।




