

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन्।
पार्टीको नियमित १५औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ।
विधानको धारा १७९ अनुसार कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतभन्दा बढी अर्थात् ९२ हजार ४८८ जनाले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको करिब तीन महिना पुग्न लाग्दा पनि केन्द्रिय नेतृत्वले कुनै निर्णय नगरेको भन्दै पक्षधरहरू आक्रोशित भएका हुन्।
विशेष महाधिवेशन पक्षधर कार्यकर्ताहरूले केन्द्रीय कार्यालय घेरेर नाराबाजीसमेत गरेका छन्।
पक्षधरहरूले पुस मसान्तभित्र विशेष महाधिवेशन गर्ने तयारीसहित भृकुटीमण्डपमा हल बुकिङ गरिसकेको जनाएका छन्। तर संस्थापन पक्षले नियमित महाधिवेशनलाई वैशाखमा सारेर अघि बढ्ने निर्णय गरेको छ।
कांग्रेसभित्रको यो आन्तरिक विवादले आगामी फागुनमा हुने संसदीय निर्वाचनमा समेत असर पार्ने देखिएको छ। पार्टी एकताका लागि निरन्तर छलफल भइरहे पनि हालसम्म ठोस सहमति जुट्न सकेको छैन।
नेपाली कांग्रेस



