

धनगढी । विद्यार्थीको सिर्जनशीलता, वैज्ञानिक सोच र सांस्कृतिक प्रतिभा उजागर गर्ने उद्देश्यसहित चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२ आजदेखि धनगढीमा सुरु भएको छ। शिवनगरस्थित चैतन्य पाठशालामा आयोजना गरिएको महोत्सव पुस २९ गतेसम्म चल्नेछ।
महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेश सभाका प्रमुख नजिर मियाँले गरेका हुन्। उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य धर्मराज पाठक, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला राना र कैलाली बहुमुखी क्याम्पसका प्रमुख डा. लोकबहादुर बिष्ट सहभागी थिए।

कार्यक्रम चैतन्य पाठशालाका पीटीए अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा सम्पन्न भएको हो। अवसरमा बोल्दै चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले विद्यालयले नवप्रवर्तन, अनुसन्धान र प्रयोगमुखी शिक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए।
प्रदेश सभा सदस्य धर्मराज पाठकले बालबालिकाको समग्र विकासका लागि अभिभावकको भूमिका निर्णायक हुने उल्लेख गरे। ‘बालबालिकालाई पढ भन्नु मात्र पर्याप्त हुँदैन, अभिभावक स्वयं पढ्ने संस्कारमा हुनु आवश्यक छ,’ उनले भने।
प्रमुख अतिथि नजिर मियाँले चैतन्य पाठशाला सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको बताए। ज्ञानसँगै व्यवहारिक सीप विकासमा विद्यालयले खेलेको भूमिका प्रशंसनीय रहेको उनको भनाइ थियो।

महोत्सवमा विज्ञान तथा प्रविधि प्रदर्शनी, खेलकुद प्रतियोगिता, सांस्कृतिक प्रस्तुति, सिर्जनशील स्टल र मनोरञ्जनात्मक गतिविधि समेटिएका छन्। विद्यार्थीलाई कक्षाकोठाबाहिर सिकाइको अनुभव दिलाउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ।
कार्यक्रममा विद्यालयका पदाधिकारी, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो।




