Logo
२४ फागुन २०८२, आईतबार

कांग्रेसमा टिकट वितरणको अन्तिम तयारी, साविक संस्थापनका कैयौँ नेता रुख चिन्हबाटै चुनाव लड्ने तयारीमा

अक्षरपाटी
२०८२ माघ ५ , सोमबार १०:०१ मा प्रकाशित

काठमाडौं। प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार छनोट अन्तिम चरणमा पुगेको जनाएको छ।

१५ औं विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले उम्मेदवार छनोट अन्तिम चरणमा रहेको र आजै सबै टुंगो लाग्ने जनाएका छन्।

आज एक भिडियो सन्देश जारी गर्दै उनले पहिले नै जिल्ला जिल्लाबाट सिफारिस भएका व्यक्तिहरुमध्येबाटै उम्मेदवार चयन हुने संकेत गरेका छन्।

पुस २७ देखि ३० गते सम्पन्न विशेष महाधिवेशनले चुनेको नेपाली कांग्रेसको नयाँ नेतृत्वलाई साविक सँस्थापनलाई समेत मिलाएर लग्नुपर्ने, छोटो समयमै उम्मेदवार छनौट गर्नुपर्नेलगायत समयको दबाब भने निकै रहेको छ।

माघ ६ गतेको उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका अनुसार उम्मेदवार छनौटमा जुटेको कांग्रेसबाटै निर्वाचन लड्ने मुडमा कैयौँ साविक सँस्थापनका नेताहरु देखिएका छन्।

साविक सँस्थापन विशेष महाधिवेशनको वैधानिकतामाथि निर्वाचन आयोगको निर्णय चित्त नबुझेर अदालत पुगेको छ।

तर नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खडकाले आइतबार नै ‘रुख चुनाब चिन्ह बाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न म सक्दिन । नयाँ पार्टी खोल्छन्, स्वतन्त्र उम्मेदवारको रुपमा उठ्छन् ,जस्ता बजारमा आएका गलत हल्लाहरुको पछि नलाग्न’ पार्टीका सबै पंक्तिलाई अपिल गर्नुले पनि साविक संस्थापन समेत नयाँ नेतृत्वसँगै रहने संकेत गर्ने राजनीतिक विश्लेषकहरुको टिप्पणी छ।

देउवा पक्षकै कैयौ नेता अदालतको विषय थाती राखेर रुख चिन्ह लिएरै चुनावमा जानुपर्ने पक्षमा देखिएका छन्। नेता शेखर कोइराल पक्षका केही नेता मात्र होइन, मीन विश्वकर्माले त सार्वजनिक रुपमै सो धारणा व्यक्त गरिसकेका छन्।

काँग्रेसका केही युवा नेताहरुले पनि सामाजिक सञ्जालमार्फत मिलेरै जानुपर्ने धारणा सार्वजनिक गर्न थालेका छन्।

साविक संस्थापनका केही नेता टिकटका लागि नयाँ नेतृत्वको निरन्तर सम्पर्कमा रहेको बुझिएको छ। जसको संकेत सभापति थापाले भिडियो सन्देशमार्फत समेत गरेका छन्।

उनले भनेका छन्, ‘नयाँ र पुरानोको सन्तुलन र समावेशी गराउने प्रयास गरिरहेको छु। विशेष अवस्थामा आएको र उम्मेदवारको सिफारिस भइसकेको हुँदा हाम्रो हातहरू बाँधिएको छ, यो कारण र समयको चाप छ।’

सभपति थापाले पनि निर्वाचन आयोग र अदालतको विषय एकातिर र साँघुरिँदै गएको समय अर्कोतिर उम्मेदवार छनोट गर्न ढिलाइ भइरहेको कारण स्पस्ट पारेका छन्।

‘पार्टीका केही साथीहरूले चित्त बुझेन भनेर कानूनी परीक्षण खोजिरहनु भएको छ। कानूनी परीक्षण खोजिरहनु भएका साथीहरूलाई पनि समेटेर लैजाउँ भनेर हिजो साँझसम्म प्रयास थियो । त्यही भएर अहिले एकदमै समयको चाप बढेको छ,’ उनले भनेका छन्।

उनले ‘उपयुक्त’ उम्मेदवार छनोट भइरहेको जनाउँदै पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन समेत सबैमा अपिल गरेका थिए।

उनले भनेका छन्, ‘सकेसम्म राम्रो बनाउने प्रयास गरेका छौँ। चित्त नबुझ्ला त्यस्तो अवस्थामा जो साथी पार्टीको तर्फबाट रुख चिन्ह लिएर आउनुहुन्छ, त्यो साथीको पक्षमा सबैजना एक ढिक्का भएर मनमा कुनै पनि कुरा नराखी यो एउटा अभियान हो यो, अभियानमा जुट्नु पर्छ’ भनेका छन्।

यो भनाइले पनि साविक सँस्थापनका नेताहरु समेत नवनिर्वाचिन नेतृत्वबाट टिटक लिएर मैदानमा जाने करिब पक्कापक्की भएको छ।

यसरी आउने उम्मेदवारसँग कुनै पनि मनमुटाव नराखी चुनावी अभियानमा होमिएमा मात्रै कांग्रेसको एकता बलियो हुने सन्देश सभापति थापाले दिन खोजेका छन्।

गगन थापा नेपाली कांग्रेस