

धनगढी । सुप इन्टरटेनमेन्ट हाउस प्रा.लि. र बाडुल्की मिडिया हाउस प्रा।लिको संयुक्त आयोजनामा चौथो राष्ट्रिय सुप इन्टरटेनमेन्ट म्युजिक अवार्ड २०८२ सम्पन्न भएको छ।
कार्यक्रममा संगीत र कलासँगै साहित्य, स्वास्थ्य, पर्यटन, समाजसेवा तथा पत्रकारिताका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने कलाकार, स्रष्टा र व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।
सुप इन्टरटेनमेन्ट हाउस प्रा.लिका अध्यक्ष सुन्दर चन्द (अनुप) को सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री रमेश सिंह धामी प्रमुख अतिथि थिए। उनले कला, संस्कृति र संगीत समाज परिवर्तनका सशक्त माध्यम भएको भन्दै यस्ता अवार्ड कार्यक्रमले सर्जकहरूको हौसला बढाउने बताए।
अवार्ड समारोहमा विभिन्न विधामा स्रष्टाहरू सम्मानित भएका छन्। भाषाभाषी गीत अभिनय पुरुषतर्फ रमेश सिलाल (मुटु खाने मायाजाल), महिलातर्फ मन्नु भट्ट (ओइ कान्छी) र जुरीतर्फ सुनिता बिक (रगत मिसिजाउ) सम्मानित भए।
सर्वोत्कृष्ट उद्घोषक प्रेम बोगटी घोषित भए भने भाषाभाषी गीत गायन पुरुषतर्फ डिल्ली राज जोशी (के आइसिङ घुमिजाजा) र महिलातर्फ सनम परियार (तम्रै पिरले) ले अवार्ड प्राप्त गरे।
सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशनतर्फ मासुम बिष्ट (ए रूपा) र भाषाभाषी गीत सर्जकतर्फ क्रिश भण्डारी (किन लाग्छ यति माया) सम्मानित भए।
देउडा तथा भाषाभाषी गीत विधामा गायन पुरुषतर्फ सेरी औजी (ए रूपा), महिलातर्फ रूपा बुढा (रातो किताब), देउडा गीत अभिनय पुरुषतर्फ भूपी उपाध्याय (रसिलो मसिलो) र महिलातर्फ कविता खड्का (बड्डो र लाहुरे) सम्मानित भए।
त्यस्तै, म्युजिक भिडियो छायाङ्कनतर्फ गणेश साउद (पागल हुन्छ मन), भाषाभाषी गीत अभिनय पुरुषतर्फ भानु चौधरी (कत्रा तर्पु)र महिलातर्फ पुष्पा बडैला (कसिछौ ओ मैना) पुरस्कृत भए।
कला पत्रकारितातर्फ सन्तोष पाण्डेय (जुरी), चन्द्र मल्ल (पब्लिक च्वाइस) र भक्तराज जोशी उत्कृष्ट घोषित भए।
देउडा गीत गायन पुरुषतर्फ सुनिल नेपाली (एक घुट्को बाडुली) र महिलातर्फ गौरी भट्ट (लेक ठूलो तेलेको) सम्मानित भए। सर्वोत्कृष्ट देउडा गीत ‘धरतीको स्वर्ग’ घोषित हुँदा जुरीतर्फ ‘छुट्टिन गाह्रो भो’ चयन भएको छ।
कार्यक्रममा लाइफटाइम एचिभमेन्ट सम्मान टेक बहादुर ऐर, पर्यटन प्रवर्द्धन सम्मान माया प्रकाश भट्ट, शैक्षिक सम्मान प्रेमनिधि ओझा, कला पत्रकारिता सम्मान हिक्मत रावल, गायिका सम्मान हरिना साउद, समाजसेवा सम्मान कल्पना भट्ट, स्वास्थ्य सेवा सम्मान डा. विवेक जोशी र कला सम्मान के.पी. कलौनीलाई प्रदान गरिएको छ।
अवार्ड प्राप्त स्रष्टा तथा प्रतिभाहरूको छनोट वरिष्ठ गायक नरेन्द्र राज रेग्मी संयोजक रहेको तीन सदस्यीय निर्णायक समितिले गरेको हो। समितिमा पत्रकार खेमराज उपाध्याय र निर्देशक भीम थापा सदस्य थिए।
कार्यक्रममा कलाकार, पत्रकार, साहित्यकार र समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।




