

काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ ।
सेन्सरमा फिल्म काँटछाँट भन्दा पनि वर्गीकरणलाई जोड दिने उदेश्यसहित यो कार्यविधि ल्याइएको हो।
अब सेन्सरले फिल्मको सेन्सर गर्दा कुन समूहका दर्शकले हेर्न पाउने वर्गीकरणमा जोड दिनेछ। कार्यविधिको बुँदा नम्बर ५ मा वर्गीकरणको विषय समेटिएको छ।
जसमा भनिएको छ, ‘समितिले चलचित्रको विषयवस्तु, संवाद, दृश्य तथा बालबालिका एवं किशोर किशोरीको मनोस्वास्थ्यलाई चलचित्र प्रयोग भएका हिंसा, यौन, नग्नता, लागुपदार्थ, भाषा, कथाको सन्दर्भ, उद्देश्य र कथाको मूल थिम समेतलाई मध्यनजर गरि चलचित्र हेर्न दर्शकको उमेर समूह लक्षित वर्गीकरण गरी चलचित्रलाई सार्वजनिक प्रदर्शन गर्न देहाय बमोजिमको लोगो अङ्कित प्रमाण पत्र दिनुपर्नेछ।’
यसै बुँदाको क, ख ग र घमा फिल्मको वर्गीकरण गरिएको छ।
चलचित्र सेन्सर प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र झन्झटमुक्त बनाउन ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धि कार्यविधि २०८२’ ल्याइएको सेन्सर बोर्ड सदस्य कुबेर गिरीले बताए।
सेन्सर बोर्डमा अहिले अध्यक्ष, विज्ञदेखि सबै समितिका सदस्य नयाँ भएको र फिल्मको सेन्सर समेत नयाँ तरिकाबाट हुँदै आएको गिरीको भनाइ छ।
‘हाम्रो टिम आएदेखिनै फिल्मको सेन्सरमा सहज गर्दै आएका छौँ’, गिरीले भने ‘सेन्सरमा कैची होइन, वर्गीकरणमा जोड दिइन्छ,’ पछिल्लो समय कुनै पनि फिल्ममा सेन्सरले कैची नचलाएको गिरीले दाबी छ।
समितिले ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ मा पुसदेखि लागु भएको ‘चलचित्र जाँच सम्बन्धी कार्यविधि २०८२’ को सातौँ बुँदामा रहेको ‘समितिले चलचित्र जाँच गरि प्रदर्शन गर्न अधिकार प्रत्यायोजन गरेको अवस्थामा बाहेक समितिबाट जाँचपास भएका चलचित्र मात्र महोत्सवमा प्रदर्शन गर्न पाइनेछ’लाई पनि हटाएको छ।
चलचित्र विकास बाेर्ड



