Logo
२१ फागुन २०८२, बिहीबार

एसपिए कलेज र सुदूरपश्चिम प्रादेशिक क्रिकेट टिमबीच प्रायोजन सम्झौता

अक्षरपाटी
२०८२ माघ १३ , मंगलबार ०८:०१ मा प्रकाशित

धनगढी । धनगढीको एसपिएस कलेज (सुदूर पश्चिमाञ्चल एकेडेमी) र सुदूरपश्चिम प्रादेशिक क्रिकेट टिमबीच तीन वर्ष मुख्य प्रायोजन रहने गरी सम्झौता भएको छ।

सम्झौता पत्रमा एसपिए कलेजका प्रबन्ध निर्देशक सुवाश शाही र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीबीच हस्ताक्षर भएको हो।

सम्झौतापछि एसपिए कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिमको क्रिकेट विकासका लागि मुख्य प्रायोजन गरेको बताए।

‘यो साझेदारी मार्फत सुदूरपश्चिम प्रदेशमा क्रिकेट खेलको विकास, प्रवर्द्धन, व्यवस्थापन तथा खेलाडी उत्पादनका कार्यक्रमहरूलाई सुदृढ बनाउने लक्ष्य राखेका छौँ,’ उनले भने।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँगको सहकार्यले नेपाली क्रिकेटको भविष्यलाई थप सशक्त बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धि हासिल हुने विश्वास शाहीकाे छ।

सम्झौताले सुदूरपश्चिमका प्रतिभावान् खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्राप्त हुने र प्रदेशका खेलाडीहरूलाई राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले बताए।

‘प्रदेश स्तरीय क्रिकेटका विभिन्न गतिविधिहरू सञ्चालनका लागि तीन वर्षका लागि एसपिएले आवश्यक आर्थिक सहयोग प्रदान गर्ने भएका कारण यो प्रदेशलाई क्रिकेटमय बनाउन यसले मदत मिलेको छ,’ उनले भने।

सम्झौता अनुसार सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिता खेल्ने महिला तथा पुरुष खेलाडीहरूले एसपिए कलेजमा शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गर्न पाउने छन्।

यस्तै, प्रदेशका जिल्लाहरूको प्रतिनिधित्व गर्दै क्षेत्रीय प्रतियोगिता खेल्ने खेलाडीहरूले ५० प्रतिशत छात्रवृत्ति सुविधा पाउने छन् । यसले आर्थिक अभावका कारण कुनै पनि प्रतिभाशाली खेलाडीहरूले शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको पनि अन्त्य भएको छ ।

हाल एसपिए कलेजसँग १७ भन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी आबद्ध छन्।

सुदूर पश्चिमाञ्चल एकेडेमी सुदूरपश्चिम प्रादेशिक क्रिकेट टिम

ट्रेन्डिङ ( साप्ताहिक )