Logo
२१ फागुन २०८२, बिहीबार

देशभर विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाइँदै

अक्षरपाटी
२०८२ माघ १६ , शुक्रबार १०:०१ मा प्रकाशित

काठमाडौं । देश र जनताको हितका लागि जीवन उत्सर्ग गर्ने सहिदको स्मरणमा आज देशभर विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाइँदै छ।

प्रजातन्त्र स्थापनाका लागि बलिदान दिएका ज्ञात–अज्ञात सबै सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो दिवस मनाउने परम्परा छ।नेपालमा सहिद दिवस विशेषगरी धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको स्मृतिमा मनाइन्छ।

राणा शासनविरुद्ध आवाज उठाएको अभियोगमा तत्कालीन शासकले उनीहरूलाई मृत्युदण्ड दिएको थियो। ती सहिदको त्याग र बलिदानले नै जहानियाँ राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना हुने मार्ग प्रशस्त भएको इतिहास छ।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना तथा पुनःस्थापना र विभिन्न कालखण्डमा स्वतन्त्रता, अधिकार र लोकतन्त्रका लागि जीवन आहुति दिने सहिदको सम्झनामा समर्पित छ।

यही अवसरमा माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ घोषणा गरी विविध कार्यक्रम आयोजना गरिँदै आएको छ ।इतिहासअनुसार १९९७ सालमा स्वतन्त्रताको माग गरेका कारण सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो।

विसं २०१२ सालदेखि तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा माघ १६ गते सहिद दिवस औपचारिक रूपमा मनाउन थालिएको हो। आजको दिन देशभर सहिद स्तम्भ, सालिक तथा स्मारकस्थलमा माल्यार्पण, श्रद्धाञ्जली सभा, प्रभातफेरी र विचार गोष्ठीजस्ता कार्यक्रम आयोजना भइरहेका छन् ।

सहिद दिवश

ट्रेन्डिङ ( साप्ताहिक )