

काठमाडौं । बाराको परवानीपुर गाउँपालिका–१, रहरियाडिहमा माघ १४ गते मध्यराति भएको दोहोरो हत्याले गाउँ नै स्तब्ध बनेको छ। विवाहेत्तर सम्बन्धका कारण उत्पन्न विवादले एकै घरभित्र श्रीमान र सासुको ज्यान गएको हो।
मध्यरातमा धारिलो हतियारधारी व्यक्ति जगरूक मण्डलको घरमा प्रवेश गरी आक्रमण गर्दा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका ३१ वर्षीय छोरा रामईश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको हो।
घटनाको बेला मण्डल परिवारका ८ वर्षीय बालक चिच्याउँदै गाउँलेसँग गुहार मागिरहेका थिए। हल्ला सुनेर गाउँलेहरू घटनास्थल पुगेका थिए, जहाँ अत्यन्तै वीभत्स दृश्य देखिएको थियो। घरभित्र र बाहिर रगत छरिएको थियो।
तीन जना घाइते, दुईको मृत्यु
आक्रमणमा जगरूक मण्डल, उनकी २१ वर्षीया छोरी रिना कुमारी र बुहारी २३ वर्षीया मनिता मण्डल घाइते भएका थिए। घाइते तीनै जनालाई तत्काल उद्धार गरी परवानीपुरस्थित एल.एस. न्युरो अस्पताल पुर्याइएको थियो। बुहारी मनिताको चोट भने सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीले राति करिब २ बजे घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवर नेतृत्वको टोली घटनास्थल पुगेको थियो। सुमित्रा र रामईश्वरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ।
तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान
बिहानपख प्रहरीले तालिमप्राप्त कुकुरको प्रयोग गरी अनुसन्धान अघि बढाएको थियो। घटनास्थलमा रगतका धब्बा देखिएकाले आक्रमणकारी पनि घाइते भएको आशंका प्रहरीको थियो। कुकुरले देखाएको बाटो र सोधपुछका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
बुहारी र प्रेमी पक्राउ
प्रहरीले मृतक रामईश्वरकी श्रीमती मनिता मण्डल र उनका प्रेमी २७ वर्षीय धर्मेन्द्र महतो धानुकलाई पक्राउ गरेको हो। मनितालाई अस्पतालबाटै र धर्मेन्द्रलाई भारततर्फ जाँदै गर्दा बाराको विश्रामपुर गाउँपालिका–४, मुसहरवाबाट पक्राउ गरिएको एसपी कुँवरले जानकारी दिए।
पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
योजनाबद्ध हत्या
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मनिता र धर्मेन्द्रबीच लामो समयदेखि विवाहेत्तर सम्बन्ध थियो। यही कारण परिवारमा पटक–पटक झगडा हुने गरेको खुलेको छ।
धर्मेन्द्र वैदेशिक रोजगारीका लागि युएईमा थिए र माघ ११ गते मात्रै नेपाल फर्किएका थिए। नेपाल फर्किएपछि उनी परिवारको सम्पर्कमा नरही मनितासँग सम्पर्कमा थिए। दुवैले मिलेर हत्या योजना बनाएको प्रहरीको दाबी छ।
घटनाको राति घरको विद्युत् लाइन काटिएको थियो। त्यसपछि मनिताले शौचालय जान साथी हिँड्न भनेर सासु सुमित्रालाई उठाएकी थिइन्। घरबाहिर लुकेर बसेका धर्मेन्द्रले शौचालय नजिकै सुमित्रामाथि चक्कु प्रहार गरी हत्या गरेका थिए।
त्यसपछि उनी घरभित्र प्रवेश गरी रामईश्वर र जगरूकमाथि आक्रमण गरेका थिए।
अस्पतालमा उपचाररत रिना कुमारीले भाउजु मनिताले बाहिरबाट मान्छे बोलाएर योजनाबद्ध रूपमा हत्या गराएको बताएकी छन्। उनका अनुसार घटना भएको राति उनी अलग कोठामा सुतेकी थिइन् र बाहिरबाट ढोका थुन्ने चुकुल लगाइएको थियो।
‘हल्ला सुनेर हेर्न जाँदा त्यो पुरूषले मेरो घाँटी समात्यो र चक्कु प्रहार गर्न खोज्यो,’ उनले पत्रकारसँग भनिन्। चक्कु खोस्ने क्रममा उनको हात काटिएको थियो।
अनुसन्धान जारी
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशराज भट्टका अनुसार घटनामा मनिताले आक्रमणकारीलाई घरभित्र प्रवेश गराउन सहयोग गरेको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




