

० लीला अनमोल
लोकतान्त्रिक यात्रामा निर्वाचन केवल सत्ता हस्तान्तरणको प्रक्रिया मात्र होइन, यो जनताको सार्वभौम इच्छाको उत्सव हो। यही उत्सवलाई मर्यादित, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्नु सबैभन्दा ठूलो लोकतान्त्रिक दायित्व हो।
वर्तमान सन्दर्भमा, जब पुराना र नयाँ दलहरू एउटै राजनीतिक मैदानमा उभिएका छन्, तब एकले अर्काको अस्तित्व स्वीकार गर्ने राजनीतिक संस्कार अझ अपरिहार्य बनेको छ।
पुराना दलहरू इतिहास, संघर्ष र अनुभवका धरोहर हुन्। तिनले लोकतन्त्र स्थापनाका लागि गरेको बलिदान र योगदानलाई अस्वीकार गर्न सकिँदैन।
अनि, नयाँ दलहरू पुरानाको अकर्मन्यताका कारण जनतामा बढेको असन्तुष्टि, आशा र परिवर्तनको आकांक्षाबाट जन्मिएका सम्भावनाका आवाज हुन्।
यी दुवै धारको सहअस्तित्व नै लोकतन्त्रको सुन्दरता हो। कुनै दलको उदय अर्कोको अन्त्य होइन, बरु विचारको प्रतिस्पर्धाबाट जनताले सही विकल्प छान्ने अवसर पाउनु नै लोकतन्त्रको शुन्तरता हो। शक्ति हो।
निर्वाचनको समयमा देखिने डर, धम्की, द्वेष र असहिष्णुताले जनताको विश्वास कमजोर बनाउँछ। भयरहित वातावरणबिना स्वतन्त्र मताधिकार सम्भव हुँदैन।
राज्य संयन्त्र, सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाज सबैले मिलेर सुरक्षित निर्वाचन सुनिश्चित गर्नु साझा जिम्मेवारी हो। शक्ति प्रदर्शन होइन, नीति, विचार र कार्यक्रमको शालीन प्रतिस्पर्धा नै स्वस्थ लोकतन्त्रको मापदण्ड हो।
त्यसैले राज्य संयन्त्र, सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाज सबैले मिलेर सुरक्षित निर्वाचन सुनिश्चित गर्नु साझा जिम्मेवारी हो। शक्ति प्रदर्शन होइन, नीति, विचार र कार्यक्रमको शालीन प्रतिस्पर्धा नै स्वस्थ लोकतन्त्रको मापदण्ड हो।
राजनीतिक दलहरूका लागि निर्वाचन जित–हारको अंकगणित मात्र होइन, जनताको भरोसा जित्ने परीक्षा पनि हो। जनताको सर्वोच्चता स्वीकार नगर्ने राजनीति अन्ततः जनताकै अदालतमा बहिस्कृत हुन्छ।
मतदाता कुनै दलको स्थायी बन्धक होइनन्, उनीहरू सचेत नागरिक हुन्, जसले विवेकका आधारमा निर्णय गर्छन्। त्यसैले दलहरूले जनतालाई डर होइन, भरोसा दिनुपर्छ, भ्रम होइन, स्पष्ट दृष्टि दिनुपर्छ।
आज आवश्यक छ—पुराना र नयाँ सबै दलहरूले एकअर्कालाई शत्रु होइन, लोकतान्त्रिक सहयात्रीका रूपमा स्वीकार गर्नु। असहमति हुनु स्वाभाविक हो, तर असहिष्णुता लोकतन्त्रको शत्रु हो। विचार फरक हुन सक्छ, तर संविधान, कानून र निर्वाचन प्रक्रियाप्रति साझा प्रतिबद्धता अनिवार्य हुनुपर्छ।
अन्ततः निर्वाचनको केन्द्रमा दल होइन, जनता हुनुपर्छन्। जनताको मत सुरक्षित छ भने मात्र लोकतन्त्र सुरक्षित हुन्छ। त्यसैले सबै राजनीतिक शक्तिहरूलाई आग्रह छ : भयरहित, सुरक्षित र शान्त वातावरणमा निर्वाचन सम्पन्न गरौँ, एकअर्काको अस्तित्व स्वीकार गरौँ र जनताको सर्वोच्चतालाई व्यवहारमै सम्मान गरौँ।
यही बाटो नै नेपालको लोकतन्त्रलाई परिपक्व, स्थिर र समावेशी बनाउने एकमात्र मार्ग हो।
आलेख लीला अनमोल




