

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएर शहीद घोषणा गरिएका व्यक्तिहरूका परिवारलाई झण्डै १२ करोड रुपैयाँ अनुदान वितरण गर्ने तयारी गरेको छ। ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ मार्फत ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान उपलब्ध गराउने प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरिएको छ।
पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले शहीद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार शहीद परिवारलाई वितरण गरिने रकमसहितको कार्यक्रम खाका सोमबार अर्थ मन्त्रालयमा प्राप्त भएको मन्त्रालयका उच्च स्रोतले जनाएको छ।
स्रोतका अनुसार सुरुमा प्रचलित कानुनअनुसार जीवन निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरिएको थियो। तर जेनजी आन्दोलनका पक्षधरहरूले कर्मचारीले तलब पाएझैँ नियमित रूपमा भत्ता पाउनुपर्ने माग गरेपछि मन्त्रिपरिषद् बैठकले अनुदान रकम दिने निर्णय गरेको हो।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो। तीमध्ये सरकारले ४२ जनालाई शहीद घोषणा गरिसकेको छ।
शहीद घोषणा गरिएका व्यक्तिहरूका परिवारलाई १० वर्षसम्म मासिक २१ हजार ८ सय रुपैयाँका दरले भत्ता वितरण गर्ने तयारी गरिएको छ। साथै, प्रत्येक वर्ष चाडपर्व भत्तासहित १३ महिनाको सुविधा उपलब्ध गराइनेछ।
४२ जना शहीद परिवारलाई मासिक २१ हजार ८ सय रुपैयाँ १३ महिनासम्म उपलब्ध गराउँदा कुल ११ करोड ९० लाख २८ हजार रुपैयाँ खर्च हुने मन्त्रालयको अनुमान छ।





