Logo
७ फागुन २०८२, बिहीबार

घाइते बाघ भ्रष्टाचारीका लागि झन् खतरनाक हुन्छ : रवि लामिछाने

अक्षरपाटी
२०८२ माघ २९ , बिहीबार ०६:०२ मा प्रकाशित

पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आसन्न फागुन २१ को प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर देशदाैडालाई तीव्र पारेका छन्।

यस क्रममा उनी देशका विभिन्न जिल्लामा चुनावी अभियानलाई तीव्र बनाइरहेका छन्। सोही आज क्रममा पाल्पामा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्ध कडा सन्देश दिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले भने, ‘घाइते बाघ भ्रष्टाचारीका निम्ति झन् खतरनाक हुन्छ।’ उनले आफू र आफ्नो पार्टीमाथि विभिन्न खाले आरोप र दबाब सिर्जना गरिएको उल्लेख गर्दै त्यसले आफूहरूलाई झन् दृढ र बलियो बनाएको बताए।

उनले विगतका राजनीतिक दलहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउँदै अबको निर्वाचन परिवर्तनको अवसर भएको बताए।।

‘यो निर्वाचन व्यक्तिको जित–हारको मात्र विषय होइन, फागुन २१ मिति मात्र होइन, यो इतिहासकाे नयाँ सुरुवात हो, प्रणाली सुधारको अभियानको सुनाैलाे दिन हो,’ उनले भने।

लामिछानेले सुशासन, पारदर्शिता र जवाफदेहिता आफ्नो पार्टीको मुख्य एजेण्डा रहेको उल्लेख गर्दै जनताको विश्वासलाई बलियो बनाउन रास्वपा प्रतिबद्ध रहेको बताए। उनले युवाहरूको सक्रिय सहभागिता र जनसमर्थनले आफूहरू उत्साहित भएको पनि बताए।

पाल्पामा आयोजित कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति थियो। रास्वपाले फागुन २१ को निर्वाचनलाई निर्णायक मोडको रूपमा लिँदै देशभर अभियान सञ्चालन गरिरहेको छ।

निर्वाचन पाल्पा रवि लामिछाने रास्वपा