Logo
७ फागुन २०८२, बिहीबार

कैलाली–४ मा ‘आनन्द’ को उदय, प्रतिस्पर्धीका लागि नयाँ चुनौती

अक्षरपाटी
२०८२ फागुन १ , शुक्रबार ०६:०२ मा प्रकाशित

  • भट्ट- शालिन, शान्त, मिजाशिला व्यक्ति त हुन तर उनी समयक्रमले सिद्धान्त त्यागी र निकै ‘वरिष्ठ’ नेता भएकाले जनताले सहज पहुँचको नेता राेज्ने र प्रश्न गर्न सक्ने नेता खोजिरहेको आंकलन धेरैको छ।
  • बिष्ट- पटक पटक पार्टीको महासमिति सदस्य, केन्द्री सदस्य हुँदै विदेश विभागको अनुभव संगालेका युवा नेताका रुपमा उनको उम्मेदवारीले स्थानीयस्तरमा उत्साह सिर्जना गरेको देखिन्छ।
  • चाैधरी- चाैधरीसँग ‘न हिङ, न हिङ बाँधेको टालाे’ भने झै न माओवादी पार्टी न त माओवादी सिद्धान्त रहेपछि त्यो भोट पनि प्रभावित हुने देखिन्छ।
  • कोइराला- उनले भर गरेको समुदाय र क्षेत्रको भोटको आकार त्यति फराकिलो नहुनु र एउटा आस्था त्यागेर अर्को पार्टीबाट चुनावमा जानु उनका लागि पनि त्यति सहज र सरल नदेखिने स्थानीय जानकारहरुको विश्लेषण छ।

शंकर खैराली

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा यतिबेला चुनावी सरगर्मी बढ्दाे छ। २०६४ सालयताको मात्रै चुनावी परिणामलाई हेर्ने हो भने यहाँकाे अवस्था रोचक देखिन्छ।

आसन्न निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोरखबहादुर बिष्ट ‘आनन्द’ मैदानमा छन् भने उनका मुख्य प्रतिस्पर्धी एमाले उपमहासचिव लेखराज भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका खेमराज कोइराला र नेकपाका हरिराम चौधरी हुन्। यसपटकको चुनावी समीकरणले पुराना समीकरणहरू भत्काउने संकेत गरेको छ।

गोदावरी–१०, दमौराका भलमन्सा नरबहादुर चौधरी भन्छन्, ‘आनन्द बिष्ट सालिन, सामाजिक र सहयोगी व्यक्ति लाग्छन्। उनी आफूलाई ठूलाे ठान्दैनन्। देश–विदेशको विकास देखेका छन्। यहाँ पनि विदेशी मोडलमा विकास गर्न सक्छन् भन्ने विश्वास हामीलाई लागेको छ।’

अबिर, माला र सखिया नृत्यसहित स्वागतमा पुगेकी भूतपूर्व भलमन्सा जानकी चौधरीको भनाइ पनि नरबहादुरको जस्तै छ, ‘धेरै नेता आए, आश्वासन दिए गए, तर काम गरेनन्। जितेकाहरू पनि फर्केर आएनन्। उहाँ युवा हुनुहुन्छ, देश–विदेश बुझेका मान्छे छन्। केही गर्छन् भन्ने भरोसा छ।’

स्पष्ट योजना, सफा सोच र शालीन व्यक्तित्वका साथ बिष्ट यतिबेला टोल–टोलमा पुगेर मतदातासँग संवाद गरिरहेकाे आफूहरुलाई मन परेको उनीहरुको भनाइ छ। त्याे मात्र हाेइन पटक पटक पार्टीको महासमिति सदस्य, केन्द्री सदस्य हुँदै विदेश विभागको अनुभव संगालेका युवा नेताका रुपमा उनको उम्मेदवारीले स्थानीयस्तरमा उत्साह सिर्जना गरेको देखिन्छ।

उता, एमालेका लेखराज भट्ट भने पटक–पटक चुनाव लडेका अनुभवी नेता हुन्। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन ५ नम्बर क्षेत्रबाट विजयी भएका भट्टले त्यसपछि पनि विभिन्न चरणमा निर्वाचन जितेका छन्।

तर यस क्षेत्रकाे ग्रामीण क्षेत्र र पहाडी भूभाग चुरे क्षेत्रका सडक, स्वास्थ्य, शिक्षा र विद्युत् समस्या सुधारमा कुनै परिवर्तन ल्याउन नसकेको आरोप उनीमाथि लाग्दै आएको छ।

२०७० मा कांग्रेसका दीर्घराज भाटसँग पराजित भएका भट्ट २०७४ मा पुनः विजयी भए पनि २०७९ मा कांग्रेसका वीरबहादुर बलायरसँग पराजित हुन पुगे।

राजनीतिक यात्रामा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका भट्टप्रति केही कार्यकर्तामा असन्तुष्टि रहेको चर्चा पनि चुलिने गरेको छ।

त्याे मात्र होइन, भदाै २३ र २४ मा भएको जेनजी आन्दोलनमा उनकै पार्टीका सुप्रिमो अर्थाथ पार्टी अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्व गरिरहेका थिए। उनकै साशनकालमा देशले ७६ जना कलिला युवा गुमाउनुपरेको र देशव्यापी ध्वंशको कारण पनि उनी नेतृत्वकै सरकार बनेकाे आरोप समेत छ।

रोचक पक्ष के छ भने भट्ट र बिष्ट दुवैको मूल थलो डोटी हो। डोटी मूलघर भएकाहरूको मतसमेत बिष्टको उम्मेदवारीले प्रभावित बनाएको टिप्पणी राजनीतिक वृत्तमा हुन थालेको छ।

भट्ट पनि शालिन, शान्त, मिजाशिला व्यक्ति त हुन तर उनी समयक्रमले सिद्धान्त त्यागी र निकै ‘वरिष्ठ’ नेता भएकाले जनताले सहज पहुँचको नेता राेज्ने र प्रश्न गर्न सक्ने नेता खोजिरहेको आंकलन धेरैको छ।

यसपटक भट्टलाई नेकपाका हरिराम चौधरीले पनि चुनौती दिइरहेका छन्। चौधरी पूर्वमाओवादी पृष्ठभूमिका नेता भएकाले उनी भट्टकै परम्परागत मतमा असर पार्नसक्ने विश्लेषण गरिएको छ। तर चाैधरी यसअघि पनि जनप्रतिनिधिका रुपमा नेतृत्व गरिसकेका नेता हुन्।

कांग्रेस- माओवादी गठबन्धन हुँदाका मत यतिबेला चाैधरीसँग ‘न हिङ, न हिङ बाँधेको टालाे’ भने झै न माओवादी पार्टी न त माओवादी सिद्धान्त रहेपछि त्यो भोट पनि प्रभावित हुने देखिन्छ।

यता चौधरी समुदायका मतदाता पनि ठाउँ–ठाउँमा बिष्टलाई बाजागाजासहित स्वागत गर्न अघि सर्नुले चाैधरी समुदायकाे मत पनि बलियाे पार्टीतिरै ढल्किएको अनुमान राजनीतिक जानकारहरु गर्न थालेका छन्।

अर्का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका खेमराज कोइराला पनि प्रतिस्पर्धामा छन्। कांग्रेसी पृष्ठभूमिबाट आएका कोइरालाले केही मत तान्न सक्ने आकलन गरिए पनि कांग्रेसले युवा उम्मेदवार अघि सार्नु र काेइरालाकै परिवारका सदस्य यज्ञनीधि काेइराला यही क्षेत्रबाट कांग्रेसकाे समानुपातिक उम्मेदवार हुनुले त्याे मत बिष्टतिरै केन्द्रित हुने अनुमान गरिएको छ।

उनले भर गरेको समुदाय र क्षेत्रको भोटको आकार त्यति फराकिलो नहुनु र एउटा आस्था त्यागेर अर्को पार्टीबाट चुनावमा जानु उनका लागि पनि त्यति सहज र सरल नदेखिने स्थानीय जानकारहरुको विश्लेषण छ। यद्यपि देशव्यापी लहरका कारण कोइरालाको चर्चामा रहेका उम्मेद्वार भित्र भने पर्ने गरेको विश्लेषकहरू बताउँछन्।

समग्रमा हेर्दा कैलाली–४ मा यसपटकको प्रतिस्पर्धा त्रिकोणात्मक बन्दै गएको छ। अनुभवी भट्ट, उदाउँदा युवा नेता बिष्ट र नयाँ शक्तिका रूपमा कोइराला- यी तीनबीचको प्रतिस्पर्धाले परिणामलाई थप चासोपूर्ण बनाएको छ। मतदाताको विश्वास कसले जित्छ भन्ने निर्णय अब मतदानपछि हुनेछ।

आनन्द बिष्ट कैलाली ४ खेमराज कोइराला निर्वाचन प्रतिनिधिसभा निर्वाचन लेखराज भट्ट हरिराम चौधरी