

० लीला अनमोल
तिम्रो नाम मेरो ओठमा उच्चारण हुँदैन,
तर भित्र कतै
नदीको गहिराइमा झरेको ढुंगा जस्तै
छलङ्ग गर्छ मन।
तिमी आउँदा आकाशले आफ्ना बादलहरु
मेरो आँखामा राखिदिन्छ,
र म वर्षा भएर
आफैँभित्रै भिजिरहन्छु।
तिमी नहुँदा घाम पनि चिसो लाग्छ
र जूनले उज्यालो छर्न बिर्सिएर
मेरो कोठामा अँध्यारो फ्याँकिदिन्छ
मानौँ उज्यालो पनि
तिम्रो उपस्थितिको सर्तमा मात्रै प्रकाशित हुन्छ।
तिम्रो स्पर्श
हिउँ पग्लँदा बग्ने सानो खोला जस्तै
शान्त, तर भित्रैभित्रै
ढुंगालाई समेत रूपान्तरण गर्ने शक्ति बोकेको,
सायद प्रेम यही हो
दुई अपरिचित आकाशबीच
उडिरहेको एउटै चराको विश्वास!
जहाँ दूरी पनि डर होइन,
प्रतिक्षाको मीठो स्वर बन्छ।
तिमी मेरो जीवनमा
फूल बनेर आएको होइनौ
तिमी त माटो हौ
जसले जरा समात्न सिकायो,
अडिन सिकायो,
र आँधी आउँदा पनि
ढल्न नदिने मौन उर्जा प्रदान गर्यो।
यदि प्रेमको कुनै रंग हुन्छ भने,
त्यो तिम्रो आँखामा देखिने गहिरो नीलो रंग हो
जहाँ डुबेर म हराउन चाहन्छु
तर हराएर पनि
आफैँलाई भेटिरहन चाहन्छु।




