

o गणेश प्रसाद जोशी
प्रेम नै परम सत्य
सत्यको स्पन्दन हो प्रेम !
जसलाई वेदले ऋत र सत्यको मार्ग भन्छ,
त्यही मार्गको सुगन्ध प्रेम हो।
प्रेम कुनै संकुचित भावना होइन,
यो त चेतनाको विस्तार हो
अहंकारबाट आत्मासम्म,
आत्माबाट परमात्मासम्मको यात्रा हो प्रेम।
ऋग्वेद ले ‘वसुधैव कुटुम्बकम्’को भावना जगाउँछ
यो सारा जगत् एकै परिवार हो
उपनिषद्ले आत्मा र परमात्माको ऐक्यताको बोध गराउँछन्।
‘तत्त्वमसि’- तिमी त्यही हौ।
यसैले प्रेम गरौँ :
जन्म दिने आमा-बुबामा ईश्वरको करुणा देखेर,
शिक्षा दिने गुरुहरूमा ज्ञान–दीप देखेर,
जीवनसाथीमा सहयात्री आत्मा देखेर,
परिवारमा धर्मको आधार देखेर,
अग्रजहरूमा अनुभवको वेद देखेर,
इष्टमित्र र बन्धु–बान्धवहरूमा स्नेहको विस्तार देखेर,
आफ्नो समाजमा कर्मक्षेत्र देखेर,
जन्मभूमि राष्ट्रमा मातृशक्ति देखेर,
धर्म र संस्कृतिमा सनातन चेतना देखेर,
र सम्पूर्ण ब्रह्माण्डमा परमब्रह्मको विराट रूप देखेर।
आज मात्र होइन;
हरेक दिन, हरेक पल, हरेक श्वास प्रेममय बनाऔँ
किनकि,
प्रेम नै भक्ति हो,
प्रेम नै योग हो,
प्रेम नै मोक्षको द्वार हो।
जब हृदय प्रेमले पूर्ण हुन्छ,
त्यहाँ द्वेषकाे गुन्जाइस हुँदैन
त्यहाँ ईश्वर स्वयं प्रकट हुन्छन्
प्रेममै जीवनको साधना गरौँ,
प्रेममै आत्मबोध पाऔँ,
प्रेममै परमात्मासँग एकरूप बनौँ ।
(कवि चैतन्य एकेडेमीका सिइओ हुन्)
कविता गणेश प्रसाद जाेशी चैतन्य एकेडेमी



