

o अक्षरपाटी विशेष
डडेल्धुरा। करिब साढे तीन दशकदेखि एउटै नामसँग जोडिँदै आएको डडेल्धुराको संसदीय राजनीति विरासत यसपटक नयाँ मोडमा उभिएको छ।
लामो समयदेखि शेरबहादुर देउवाको राजनीतिक गढ मानिँदै आएको डडेल्धुरामा नेपाली कांग्रेसले यसपटक युवा पुस्ताको प्रतिनिधित्व गर्दै नैनसिंह महरलाई उम्मेदवारका रूपमा अघि सारेको छ। उनको उम्मेदवारीसँगै यहाँको चुनावी सरगर्मी निकै तातेको छ।
विद्यार्थी राजनीतिदेखि नेतृत्व निर्माणसम्म
१४ वर्षकै उमेरमा राजनीति चेत बोकेर हिँडेका महर विद्यार्थी आन्दोलन हुँदै पार्टीको केन्द्रीय राजनीतिसम्म आइपुगेका नेता हुन्।
२०५२ सालमा नेपाल विद्यार्थी संघ डडेल्धुराको कार्यबहाक जिल्ला अध्यक्ष बनेर संगठन निर्माणमा लागेका उनी २०५६ सालमा नेविसंघ डडेल्धुरा अध्यक्ष निर्वाचित भए।
२०५७ सालको चितवन महाधिवेशनबाट केन्द्रीय सदस्य बनेपछि राष्ट्रिय राजनीतिमा उनको यात्रा सुरु भयो। यही निरन्तरताको परिणामस्वरूप २०७३ सालमा उनी नेविसंघको अध्यक्ष बने।

पत्रकारिता र वैचारिक स्पष्टता
राजनीतिसँगसँगै २०५३–२०५७ सालसम्म उनले पत्रकारिता समेत गरे। पत्रकारितामा संलग्न हुँदा महरले दूरदराज र समाजका वास्तविक समस्या नजिकबाट बुझ्ने र उठाउने अवसर पाए।
यही अनुभवले उनलाई आलोचनात्मक चेत र अध्ययनशील स्वभावतर्फ उन्मुख बनाएको उनी स्वीकार्छन। त्यसैले पनि उनको पुस्ताका नेतामा उनी बढी अध्यनशील, विश्लेषणात्मक चेत र तार्किक पनि भएको उनका सहपाठी बताउँछन्।
त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर र एलएलबी गरेका महरले शिक्षा, पार्टी संरचना र समकालीन राजनीतिमाथि केन्द्रित पुस्तकहरू समेत लेखेका छन्।
शिक्षा, स्वास्थ्य र स्वरोजगार मुख्य एजेन्डा
महरको राजनीतिक प्रतिबद्धताको केन्द्रमा शिक्षा, स्वास्थ्य र स्वरोजगारलाई राखेका छन्। उनले भने, ‘शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निःशुल्क हुनुपर्छ, सरकारी स्वामित्वमा आउनुपर्छ। स्वरोजगार र कृषिलाई विशेष प्राथमिकतामा राखिनुपर्छ, मेरो उम्मेदवारी त्यसैका लागि हो।’
उनले देशलाई हिंसा, अराजकता र अस्थिरतातर्फ धकेल्ने प्रपञ्च भइरहेको बताउँदै संविधानको रक्षा र यसको पूर्ण कार्यान्वयनकाे प्रमुख दायित्व बोकेर आफू अघि सरेको पनि उनले बताए।

डडेल्धुरालाई ‘पहाडकी रानी’ बनाउँछु
डडेल्धुराको समग्र विकास उनले चुनावी एजेन्डा बनाएका छन्। बाटोघाटो विस्तार, शिक्षा र स्वास्थ्य सेवाको पहुँच, रोजगार सिर्जना, कृषि उत्पादनको आधुनिकीकरण र जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै ‘पहाडकी रानी’ बनाउने अठोट उनले व्यक्त गरे।
देउवाको गढमा युवा चुनौती
डडेल्धुरालाई लामो समयदेखि देउवाको गढका रूपमा चिनिन्छ। यतिबेला देउवालाई पार्टीले अघि सारेको छैन। उनको गढमा महरको उम्मेदवारीलाई कांग्रेसभित्र पुस्तान्तरण र भावी नेतृत्वको अभ्यासका रूपमा हेरिएको छ।
‘यहाँका जनताले मेराे उम्मेदवारीलाई विरासतको भारी र युवाकाे जिम्मेवारीका रुपमा हेरेका छन्’, महरले भने।
यसपटकको निर्वाचन जित–हारभन्दा निरन्तरता र परिवर्तनबीचको बहस बनेको देखिन्छ। युवा दृष्टि, वैचारिक स्पष्टता र विकासको अठोट लिएर मैदानमा उत्रिएका नैनसिंह महरमाथि डडेल्धुराका मतदाताले कस्तो फैसला गर्छन, त्यो फागुन २१ ले स्पस्ट पार्नेछ।
डडेल्धुरा निर्वाचन नेपाली कांग्रेस नैनसिंह महर



