Logo
७ फागुन २०८२, बिहीबार

रविले भने : सिंहदरबार बदल्न जरुरी छ, बालेनको उद्घाेष : खल्तीमा पैसा नहुनेले पनि उपचार र शिक्षा पाउनेछ

अक्षरपाटी
२०८२ फागुन ६ , बुधबार ०३:०२ मा प्रकाशित

धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतपत्रमा छाप लाग्नुअघि नै देशैभर मनपत्रमा छाप लागिसकेको बताएका छन्।

सुदूरपश्चिम प्रदेशको धनगढीमा आज आयोजित परिवर्तन उद्घोष सभामा बोल्दै उनले सटर त एउटा बन्द भएरै छाड्ने दाबी गरे।

उनले आम जनतालाई अपिल गर्दै भने, ‘सटर त एउटा बन्द हुन्छ, हुन्छ। कि हाम्रो सटर बन्द गराइदिनुस, कि इनको सटर बन्द गराउनुस, सटर त बन्द हुन्छ। कुशासनको सटर बन्द गर्ने हो, व्यथितिको सटर बन्द गर्ने हो। बेरोजगारी, अशिक्षा सबै सटर बन्द गर्ने हो २१ गते। इतिहास लेख्ने हो, भोट हाल्ने होइन।’

उनले भूमिहीन, सुकुम्बासीका ऐजेन्डालाई वर्षौँदेखि ‘परमानेन्ट’ बनाएर राखेको बताउँदै भने, ‘रास्वपाले राजनीतिक विकृति र विसंगतिमध्ये एक रहेको जनताको मागलाई हरेक चुनावमा घोषणापत्रमा बल्डयङ्ग्रे अक्षरमा लेख्ने युगको अन्त्य गर्छाैँ।’

उनले जनताको मागलाई पटकपटक झुक्याउन नपाइने बताए। उनले जनताले भोट दिने जनताले नै सजाय पाउने युगको अन्त्य गर्न रास्वपालाई मत दिन अपिल पनि गरे। रविले परदेशको भूमि भारतमा रहेका सुदूपश्चिमबासीलाई समेत इतिहास बदल्न र जनता जिताउनका लागि भोट हाल्न छुट्टि मिलाएर आइदिन अपिल गरे।

सोही सभामा रास्वपाका वरिष्ठ नेता बालेन शाहले पश्चिमे भाषामै भने, ‘बेली छकालै एक सुइना धेक्याको थियाँ, सुदूरपश्चिम बनेको, देश बनेको ।’

उनले स्थानीय भाषामै त्यो सपना राष्ट्रिय स्वतन्त्र पार्टीले पुरा गर्ने प्रतिबद्धता मात्रै गरेनन्, सरल भाषामा पार्टीका एजेन्डा समेत सुनाए।

उनले भने, ‘खल्तीमा पैसा नभएको बिपन्न गरिबले शिक्षा पाउनुपर्यो, त्यो हो हाम्रो एजेन्डा, खल्तीमा पैसा नभएको बिपन्न गरिबले उपचार पाउनुपर्यो, त्यो हो हाम्रो एजेन्डा। दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्यो, त्यो हो हाम्रो एजेन्डा।’

वरिष्ठ नेता शाहले त्यसका लागि रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ, बाटो बन्नैपर्ने आफ्नो अडान व्यक्त गरे।

उनले अहिलेसम्म यो टोलमा मेरो भोट छैन, यो भेगमा मेरा समर्थक छैनन् किन बाटो बनाउने सोच हावी भएको बताउँदै भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले काँग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ, जनता हिँड्ने बाटो बताउँछ।’

मान्छेले देशलाई स्वीट्जरल्यान्ड बनाउनुपर्छ भन्ने गरेको तर त्यसको बाउ बढीमालिका यहीँ भएको, खप्तड यही क्षेत्रमा भएको, रामारोशन यहीँ भएकोले किन बनाउनुपर्यो स्वीट्जरल्यान्ड भन्दै प्रश्न गरे।

उनले नेपालीहरु माल भएको चाल नभएको बताउँदै भने, ‘जुन दिन सुदूरपश्चिम काठमाडौंसँग जोडिन्छ, त्यो दिन देश बन्छ।’

सुदूरपश्चिममा एक से एक कलाकार भएर पनि देशसँग नजोडिएको बताउँदै उनले भने, ‘यो आवाज जब काठमाडौंमा सुनिन्छ, त्यो दिन देश बन्छ। हेर्दा र सुन्दा यो कुरा सानो लाग्ला, तर साना साना कुरामै ध्यान नदिएकाले देश नबनेको हो।’

सुदूरपश्चिमलाई सु-नजिक पश्चिम बनाउनु नै राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा भएको बताउँदै भने, ‘हामी भोट माग्न आएको होइन, काम माग्न आएको हो। भोट नदिए पनि रास्वपाले काम गरेर देखाउँछ। काम दिनुहोला।’

अन्त्यमा उनले भने, ‘सुदूर अब दूर नाइ, झिक्कै झिक्कै माया तमलाई।’

निर्वाचन रवि लामिछाने रास्वपा वालेन शाह