

खैराला। कैलालीको चुरे ४ खैरालामा रहेको राणाकालीन गर्भा दरबार ऐतिहासिक धराेहर मात्र हाेइन, यो प्रकृतिको पर्याय मानिने शुन्दर गाउँको बीचमा मात्र छैन वर्षाैँदेखि विकासको पर्खाइमा छ।
यही गर्भा दरबारमा पुगेर आसन्न निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेस उम्मेदवार गोरखबहादुर बिष्ट आनन्दले विकास र सम्भावनाको नयाँ ढाेका उघार्ने संकल्प गरेका छन्।
आसन्न निर्वाचनमा मतदातासँग साक्षात्कार र भलाकुसारी गर्दै चुरे गाउँपालिका–४ स्थित गर्भा दरबार पुगेका बिष्टलाई स्थानीय नेता, कार्यकर्ता र मतदाताले यहाँको मौलिक बाजागाजासहित आत्मीयतापूर्ण स्वागत गरे।
त्यो स्वागत केवल उम्मेदवारप्रतिको सम्मान थिएन, दशकौँदेखि बाटो, शिक्षा, स्वास्थ्य सेवा र अवसरको प्रतीक्षामा बसेको यहाँका जनताकाे आशा पनि थियो।

दरबार परिसरमा उभिँदै उम्मेदार बिष्टले भावुक हुँदै भने, ‘यो दरबार देख्दा धेरै पुराना सम्झनाहरू ताजा भएका छन्। निराैलीमा पनि यस्तै दरबार थियो। चाैमालामा पनि थियाे। आज तीं मासिएर गए। उच्च गर्मी हुने कैलालीमा यति शीतल, प्राकृतिक हिसाबले यति मनमोहक र उत्पादनका दृष्टिले अमूल्य यो ठाउँलाई अब राज्यको मूलधारसँग जोड्न मेरो हर सम्भव प्रयास हुनेछ।’
पूर्व–पश्चिम राजमार्गबाट करिब २०-३० किलोमिटर मात्रै टाढा भए पनि विकासका हिसाबले निकै पर रहेको यो पहाडी क्षेत्र कृषि उत्पादन, जडीबुटी, फलफूल खेती, पर्यटन र धार्मिक पर्यटनका लागि अद्भुत सम्भावनाले भरिएको उनले बताए।
‘यो कैलालीको स्वर्ग हो,’ उनको दाबी छ, ‘यहाँका उत्पादनलाई बजार, जनतालाई सडक मार्ग, बिरामीलाई उपचारको ग्यारेन्टी र नयाँ पुस्तालाई शिक्षाको पहुँच दिन सक्यौँ भने स्वर्ग यहीँ छ। त्यो जिम्मेवारी अब मेरो काँधमा छ।’

भाषण होइन, अब परिणाम
अबको युगमा पनि परम्परागत शिक्षाले मात्र नपुग्ने भन्दै उनले प्रत्येक विद्यालयमा प्रविधियुक्त तथा प्राविधिक शिक्षाको पहल गर्ने बताए। तालिम, पूर्वाधार र आवश्यक शैक्षिक जनशक्ति व्यवस्थापन गरिने उनले प्रतिवद्धता व्यक्त गरे।
विपन्न परिवारका छोरीलाई उच्च शिक्षामा प्रोत्साहन, सामुदायिक विद्यालयका बालविकास इकाईलाई बालमैत्री बनाउँदै बालविकास सहजकर्ताको रोजगारी ग्यारेन्टी, शिक्षक–कर्मचारीका जायज माग शिक्षा विधेयकमा समेट्न पहल गर्ने उनले बताए।
स्वास्थ्य क्षेत्रमा अझै पनि बिरामी डोकोमा बोकेर हिँड्नुपर्ने चुरे क्षेत्रको पीडा अब धेरै दिन नटिक्ने उनको भनाइ छ।

प्राथमिक स्वास्थ्य केन्द्र र उपस्वास्थ्य केन्द्रमा आवश्यक सामग्री, प्रत्येक पालिकामा एम्बुलेन्स सेवा र स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न आफू इमान्दार प्रयास गर्ने उनले स्पष्ट पारे। आगामी दिनमा ज्येष्ठ नागरिक र दीर्घरोगीका लागि निःशुल्क उपचारको व्यवस्था गरिने वाचासमेत उनले गरे।
प्रत्येक पालिकामा बालमैत्री, अपाङ्गमैत्री र ज्येष्ठ नागरिकमैत्री सार्वजनिक पार्क निर्माण तथा ग्रामीण बस्तीमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने योजना पनि उनले सुनाए।

कृषिप्रधान देशमा किसानले मलखाद र बीउविजन नपाउनु लज्जास्पद भएको भन्दै उनले समयमै मलखाद–बीउविजनको व्यवस्था, सिँचाइ सुविधा विस्तार, आधुनिक कृषि प्रणाली अवलम्बन र कृषि उपजको सहज बजार तथा उचित मूल्य सुनिश्चित गरिने प्रतिवद्धता व्यक्त गरे।
इतिहास र आस्थाको पर्यटन
खैरालाको गर्भा दरबार ऐतिहासिक सम्पदा भएकाले यसलाई विशेष पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफू अग्रपंक्तिमा रहने उनले बताए।

‘यो यहाँको साझा सम्पत्ति हो,’ उनले भने, ‘कैलाली जस्तो उच्च गर्मी हुने जिल्लामा यति सुन्दर प्राकृतिक भूगोल, ऐतिहासिक गर्भा दरबार र मोहन्याल, मुसुरिखेतजस्ता धार्मिक धाम छन्। गौरीगंगाको मोहन्याल मन्दिरसँग जोडेर धार्मिक सर्किट बनाउन सकिन्छ, म पहल गर्नेछु।’
चाैमालाबाट गर्भा दरबार जोड्ने छोटो मार्ग आफ्नाे चुनावी नारा नभएर यहाँकाे सम्भावनाकाे ढाेका भएकाे उनले बताए।
‘यो बाटो इतिहासलाई वर्तमानसँग, सम्भावनालाई बजारसँग र जनतालाई सेवासँग जोड्ने आशाको यात्रा हुनेछ’, उनले भने।





