

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ। महासंघको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी घोषणा गरिएको छ।
महासंघको ६०औँ वार्षिक साधारणसभामार्फत नयाँ कार्यसमिति गठन प्रक्रियामा प्रवेश गर्दै वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको टिम सार्वजनिक गरिएको हो। ढकालले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
उनको समूहमा ज्योत्सना श्रेष्ठ एसोसिएट उपाध्यक्ष पदकी उम्मेदवार बनेकी छन्। ज्वेलर्स व्यवसायमा संलग्न उनी हाल पनि महासंघकी एसोसिएट उपाध्यक्षका रूपमा क्रियाशील छिन्।
जिल्ला/नगर उपाध्यक्षतर्फ उमेश डालमिया र कल्पना गैरेले उम्मेदवारी घोषणा गरेका छन्।

त्यसैगरी, वस्तुगत उपाध्यक्ष पदका लागि नरेशलाल श्रेष्ठ मैदानमा उत्रिएका छन्। हस्तकला तथा निर्यात व्यवसायमा संलग्न श्रेष्ठको ऊर्जा, हस्पिटालिटी र स्वास्थ्य क्षेत्रमा समेत लगानी रहेको छ। उनीसँग महासंघको कार्यसमितिमा दुई कार्यकालको अनुभव छ।
महिला उपाध्यक्ष पदका लागि कल्पना श्रेष्ठ उम्मेदवार बनेकी छन्। उनीसँग महासंघको कार्यसमितिमा तीन कार्यकाल काम गरेको अनुभव छ।
सोही पदका अर्की उम्मेदवार कमला श्रेष्ठले सानो लगानीबाट सुरु भएको आफ्नो व्यवसाय आज हजारौँलाई रोजगारी दिने स्तरमा पुगेको उल्लेख गरिन्। महासंघमा तीन कार्यकाल काम गरेर महिला उद्यमी विकासमा ठोस योगदान दिएको उनको भनाइ छ।

याक एण्ड यतिमा आयोजित उम्मेदवारी घोषणा सभामा उम्मेदवारहरूले आ–आफ्ना प्रतिबद्धता समेत सार्वजनिक गरेका थिए।
नरेशलाल श्रेष्ठले विभिन्न क्षेत्रबाट आर्जित अनुभव महासंघमार्फत निजी क्षेत्रको हितमा प्रयोग गर्ने बताए।
कल्पना गैरेले पद प्रतिष्ठा नभई जिम्मेवारी भएको भन्दै जिल्ला तथा नगरका व्यवसायीको आवाज बन्ने प्रतिबद्धता जनाइन्।
उमेश डालमियाले जिल्ला–नगरका व्यवसायीका समस्या समाधानमा आफू निरन्तर सक्रिय रहेको र आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्ने बताए।

एसोसिएट उपाध्यक्षकी उम्मेदवार ज्योत्सना श्रेष्ठले निजी क्षेत्रका समस्या समाधानका लागि अब अझ सशक्त आवाज आवश्यक रहेको उल्लेख गरिन्।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकालले उद्योगी तथा व्यवसायीका साझा समस्यामा महासंघको आवाज बुलन्द बनाउने प्रतिबद्धता जनाए।
निर्वाचन नेपाल उद्योग वाणिज्य महासंघ



