Logo
१२ फागुन २०८२, मंगलबार

साम्बाको उपचारका लागि २४ घण्टामै डेढ करोड संकलन, सहयोग रोक्न आग्रह

अक्षरपाटी
२०८२ फागुन १२ , मंगलबार ०४:०२ मा प्रकाशित

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि आवश्यक रकम संकलन भइसकेको जनाउँदै सहयोग अभियान रोक्न आग्रह गरेकी छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले स्वदेश तथा विदेशबाट प्राप्त साथ र सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै २४ घण्टामै करिब डेढ करोड रुपैयाँ संकलन भएको जानकारी दिइन्। उनका अनुसार नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ।

अस्ट्रेलियाको ए–लिग खेल्ने क्रममा न्युजिल्यान्डको क्लब वेलिङटन फोनिक्स बाट खेल्दा उनको दाहिने घुँडाको एसीएल र एमसीएल पूर्ण रूपमा च्यातिएको थियो। चोट ब्रिसबेन रोअर विरुद्धको खेलका क्रममा लागेको हो।

शल्यक्रिया र पुनर्स्थापनाका लागि अपेक्षित सहयोग नपाएको भन्दै उनले सोमबार मात्रै आम समर्थकसँग आर्थिक सहयोगको अपिल गरेकी थिइन्। तर छोटो समयमै उल्लेख्य रकम संकलन भएपछि उनले अब थप सहयोग नपठाउन आग्रह गरेकी छन्।

साम्बाले संकलित रकमले उपचार, कतारमा हुने बसाइँ तथा यातायात खर्चसमेत धान्ने बताएकी छन्। साथै, आफू आबद्ध क्लब वेलिङटन फोनिक्सले बिमा रकम निकासा गरी सहयोग गरिरहेको जानकारी दिँदै शल्यक्रिया चाँडै अघि बढ्ने विश्वास व्यक्त गरेकी छन्।

यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि विज्ञप्ति जारी गर्दै साम्बाको उपचारका लागि समन्वय भइरहेको जनाएको थियो। एन्फाका प्रवक्ता सुरेश शाहले व्यावसायिक क्लबमा खेल्दा घाइते भए उपचारको जिम्मा सम्बन्धित क्लबकै हुने अन्तर्राष्ट्रिय अभ्यास रहे पनि साम्बाको चाहनाअनुसार कतारमा उपचारको पहल भइरहेको उल्लेख गरेका छन्।

साम्बाले समर्थकहरूको माया र भरोसालाई आफ्नो सबैभन्दा ठूलो सम्पत्ति बताउँदै अझ मजबुत भएर मैदानमा फर्किने प्रतिबद्धता व्यक्त गरेकी छन्। “तपाईंहरूको साथ नै मेरो पुनरागमनको ऊर्जा हो,” उनले उल्लेख गरेकी छन्।

साम्बा