Logo
१२ फागुन २०८२, मंगलबार

धनगढीमा तीन दिने नबिल निःशुल्क जलन उपचार शिविर

अक्षरपाटी
२०८२ फागुन १२ , मंगलबार ०५:०२ मा प्रकाशित

नेपालमा वर्षेनी करिब ५६ हजार जलनसम्बन्धी घटना, २१ सयले गुमाउँछन् ज्यान

काठमाडौँ । नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा धनगढीमा तीन दिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन हुने भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा फागुन १२ देखि १४ गतेसम्म शविर सञ्चालन हुने नबिल बैंकको कर्पोरेट सञ्चार शाखाले जनाएको छ। शिविरमार्फत जलनका घटनाबाट पीडित भएकाहरु लाभान्वित हुने बैंकको विश्वास छ।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिविर आयोजना गरेको हो। यसप्रकारका शिविर धनगढीबाट सुरु गरी विभिन्न प्रदेशमा आयोजना गरिने समेत बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकका अनुसार पहिलो चरणमा धनगढीमा सुषमा कोइराला मेमोरियल अस्पतालसँगको सहकार्यमा शिविर आयोजना गरिएको हो। उक्त शिविरबाट १२० जनाभन्दा बढी लाभग्राही लाभान्वित हुने बैंकको अपेक्षा छ।

जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई शिविरमा परामर्श, उपचार तथा शल्यक्रियालगायतका सेवा पनि प्रदान गरिने बैंकले जनाएको छ।

बैंकले शिविर सञ्चालन गर्नका लागि कीर्तिपुर अस्पतालअन्तर्गतको फेक्ट नेपाल र सुषमा कोइराला मेमोरियल अस्पतालसँग सहकार्य गरिरहेको छ।

सरकारी तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष ५६ हजारको हाराहारीमा जलनसम्बन्धी घटना हुने गरेका छन्। जसमध्ये औसतमा दुई हजार एक सयको मृत्यु हुने गरेको छ।

जलन दुर्घटनाबाट बाँच्ने अधिकांशमा जलेको भाग खुम्चिने वा टाँसिने समस्या देखिने गरेका छन्। जसका कारण पीडितहरुमा दीर्घकालीन अपाङ्गता निम्त्याउने जोखिम रहन्छ।

जलनका घटनाका पीडितलाई तत्काल र विशेष हेरचाह आवश्यक पर्दछ। तर आफ्नै ठाउँमा जलन उपचार केन्द्र नहुँदा पीडितहरूले समयमै गुणस्तरीय उपचार नपाउने अवस्था छ।

उपचारका लागि काठमाडौँसम्म जानुपर्ने बाध्यता भएकाले आर्थिक रुपमा कमजोरहरुले उपचार नै नगर्ने देखिएको छ।

शिविरमा आगोले पोलेर शरीरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने, कपाल गुमाएकाहरु, हातका औँलाहरु टाँसिएकाहरु, हात र खुट्टामा पाँच वटाभन्दा बढी औँलाहरु टाँसिएकाहरु, बिस्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनु पर्ने अवस्था भएका तथा खुट्टाको पैतला भित्रतिर फर्किएकाहरुले निःशुल्क उपचार पाउनेछन्।

साथै जटिल समस्या भएका बिरामीलाई काठमाडौँको सांखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने बैंकले जनाएको छ।

जलनका कारण पीडा भोगिरहेका व्यक्तिहरुलाई उपचार गरी उनीहरुको जीवनमा सुधार ल्याउने प्रयास स्वरुप शिविर आयोजना गरिएको बैंकको भनाइ छ।

नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो । नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ।

जलन उपचार शिविर नबिल बैंक सुषमा कोइराला