

धनगढी । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्ने लक्ष्य राखिएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय चाँडै सञ्चालन गर्ने विषयमा आज उच्चस्तरीय छलफल भएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले विश्वविद्यालयका पदाधिकारीहरूसँग विश्वविद्यालय सञ्चालनका सन्दर्भमा परामर्श गरेका छन्।
छलफलका क्रममा उनले यो विश्वविद्यालय सञ्चालनमा आएमा यस क्षेत्रका जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे। ‘प्रदेशका जनतामा स्तरीय स्वास्थ्य सेवा पुर्याउन यो विश्वविद्यालयलाई अविलम्ब सञ्चालनमा ल्याउनुपर्छ,’ मुख्यमन्त्री शाहले भने।
मुख्यमन्त्री शाहले विश्वविद्यालय सञ्चालनका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।
छलफलमा विश्वविद्यालयको पूर्वाधार विकास, व्यवस्थापन तथा शैक्षिक कार्यक्रम विस्तारका विविध पक्षबारे विचार विमर्श भएको थियो।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनीलकुमार जोशी, रजिस्ट्रार प्रा. डा. खेमराज जोशी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव बैकुण्ठप्रसाद अर्याल लगायतको सहभागिता रहेको थियो।




