Logo
२१ फागुन २०८२, बिहीबार

बैतडी समाज कैलालीको १७ औँ ‘रक्तदान महोत्सव’ शनिबार

अक्षरपाटी
२०८२ फागुन ८ , शुक्रबार ०९:०२ मा प्रकाशित

धनगढी। ‘रक्तदान जीवनदान’ भन्ने मूल नारालाई आत्मसात् गर्दै बैतडी समाज कैलालीले १७ औँ संस्करणको ‘रक्तदान महोत्सव’ शनिबार (फागुन ९) गते गर्ने भएको छ।

सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई केन्द्रमा राखेर आयोजना हुन लागेको यस महोत्सवमा आम नागरिक, स्वयंसेवी रक्तदाता तथा सामाजिक अभियन्तालाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।

बैतडी समाज कैलालीको आयोजनामा हुन लागेको कार्यक्रम कैलाली उद्योग वाणिज्य संघको सहकार्य तथा रेडक्रस सोसाइटी कैलालीको प्राविधिक सहयोगमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

विगतका संस्करणहरूमा उल्लेखनीय सहभागिता जुटाउँदै आएको महोत्सवमा हालसम्म एक हजार पाँच सय २६ युनिट रगत संकलन गर्न सफल भएको तथ्याङ्क समेत सार्वजनिक गरिएको छ।

कार्यक्रम २०८२ साल फाल्गुन ९ गते शनिबार बिहान ८:०० बजेदेखि दिउँसो १:०० बजेसम्म सञ्चालन हुने बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश चन्दले जानकारी दिए।

रक्तदान कार्यक्रम धनगढी उपमहानगरपालिका–उत्तरबेहडीस्थित सचिवालय प्राङ्गण (पद्मा हेल्थ कलेज परिसर) मा हुने अध्यक्ष चन्दले बताए।

बैतडी समाज कैलालीका अध्यक्ष चन्दले, रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने मानवीय सेवाभावका साथ अभियानलाई निरन्तरता दिँदै आएको बताए।

धनगढी बैतडी समाज रक्तदान

ट्रेन्डिङ ( साप्ताहिक )