Logo
१५ फागुन २०८२, शुक्रबार

कैलाली–५ मा प्रेमबहादुर आलेको चुनावी अभियान तीव्र

अक्षरपाटी
२०८२ फागुन १५ , शुक्रबार ०१:०२ मा प्रकाशित

धनगढी । आगामी निर्वाचनको मतदान मिति नजिकिँदै जाँदा कैलाली निर्वाचन क्षेत्र नम्बर–५ मा नेकपा उम्मेदवार तथा पूर्व मन्त्री प्रेमबहादुर आलेको चुनावी अभियान तीव्र बन्दै गएको छ।

घरदैलो अभियान, कोणसभा, जनसंवाद तथा टोल–टोलमा भइरहेका अन्तरक्रियामा देखिएको उल्लेखनीय जनसहभागिताले चुनावी माहोल झनै तातेको छ

पछिल्लो केही सातादेखि उम्मेदवार आलेले धनगढी उपमहानगरपालिकाका विभिन्न वडासहित ग्रामीण बस्तीहरूमा व्यापक भेटघाट कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

बिहानैदेखि साँझसम्म चल्ने घरदैलो अभियानमा स्थानीयबासीको उत्साहजनक सहभागिता देखिएको अभियान टोलीले जनाएको छ।

विशेषगरी युवा, महिला, ज्येष्ठ नागरिक, दलित, थारू तथा पहाडी समुदायका मतदाताहरूको बाक्लो उपस्थिति कार्यक्रमहरूमा देखिएको छ

स्थानीयवासीहरूका अनुसार विगतमा मन्त्री रहँदा आलेले आफ्नो निर्वाचन क्षेत्रमा सडक स्तरोन्नति, पुल निर्माण, खानेपानी विस्तार, विद्यालय भवन निर्माण तथा स्वास्थ्य चौकी सुदृढीकरणमा महत्वपूर्ण पहल गरेका थिए।

‘विकास निर्माणका कामले गाउँ–बस्तीमा प्रत्यक्ष परिवर्तन देखिएको छ,’ स्थानीय युवा प्रकाश माझीले भने, ‘यस पटक पनि उहाँलाई जिताएर अधुरा योजनाहरू पूरा गर्ने हाम्रो चाहना छ।’

कैलाली–५ का मतदाताहरूले रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, साना तथा मझौला उद्यम प्रवर्द्धन, पर्यटन विकास र सीपमूलक तालिम विस्तारलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्।

उम्मेदवार आलेले यी विषयलाई आफ्नो प्राथमिकतामा राख्दै दीर्घकालीन विकास योजना अघि सार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने तथा विपन्न समुदायका लागि लक्षित कार्यक्रम ल्याउने बताएका छन्।

चुनावी सभाहरूमा बोल्दै आलेले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरे।

‘जनताको साथ र समर्थनले मलाई अझ जिम्मेवार बनाएको छ,’ उनले भने, ‘कैलाली–५ लाई समृद्ध, शिक्षित र रोजगारमुखी क्षेत्रका रूपमा विकास गर्न मेरो प्रतिबद्धता निरन्तर रहनेछ।’

उनले पारदर्शिता, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्ने वाचा दोहोर्‍याए।

राजनीतिक विश्लेषकहरूका अनुसार कैलाली–५ मा यसपटक प्रतिस्पर्धा रोचक हुने देखिए पनि जनसहभागिता र चुनावी गतिविधिको आधारमा आलेको पक्षमा माहोल बलियो बन्दै गएको संकेत देखिन्छ।

सामाजिक सञ्जालमा समेत उनका समर्थकहरूले सक्रिय अभियान चलाइरहेका छन् भने युवाहरू स्वयंसेवकका रूपमा प्रचारप्रसारमा जुटेका छन्।यता विपक्षी दलहरूले पनि आ–आफ्ना एजेन्डा सार्वजनिक गर्दै चुनावी दौडलाई तीव्र बनाएका छन्।

तर स्थानीय स्तरमा देखिएको भीड, जनसमर्थन र उत्साहले आगामी निर्वाचनमा उल्लेखनीय मतान्तर आउन सक्ने अनुमान गर्न थालिएको छ।

मतदानको दिन नजिकिँदै जाँदा कैलाली–५ मा चुनावी चहलपहल चरममा पुगेको छ। मतदाताहरू विकास, स्थायित्व र नेतृत्व क्षमताका आधारमा आफ्नो निर्णय लिने तयारीमा छन्।

प्रेम आले