Logo
२१ फागुन २०८२, बिहीबार

बसर युवा क्लवमार्फत चुरेको बिकासमा समर्पित गणेश

अक्षरपाटी
२०८२ फागुन ९ , शनिबार ११:०२ मा प्रकाशित

धनगढी। चुरे गाउँपालिका क्षेत्रमा सामाजिक, शैक्षिक, स्वास्थ्य, वातावरणीय तथा खेलकुद विकासमा योगदान पुर्‍याउँदै आएका गणेश देउवा एक सक्रिय सामाजिक अभियन्ताका रूपमा परिचित छन्।

‘चुरे बनाउनु पर्छ’ भन्ने सोचका साथ उनी बसर युवा क्लबमार्फत् दीर्घकालीन विकास अभियानमा क्रियाशील छन्।

चुरेको स्वास्थ्य, शिक्षा, पर्यटन र खेलकुदलाई प्राथमिकतामा राखेर देउवाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

उनले हरेक वर्ष आफ्नो जन्मदिनको अवसरमा चुरे क्षेत्रका विद्यार्थीलाई कापी, कलम र झोला वितरण गर्ने तथा सार्वजनिक स्थानमा डस्टबिन राखी वातावरण संरक्षणमा टेवा पुर्‍याउने र मानव सेवाका क्षेत्रमा काम गर्दै आएका छन्।

शिक्षा तथा खेलकुदमा योगदान

साविक निगाली गाविस रहँदादेखि देउवा र उनको क्लब खेलकुद विकासमा सक्रिय रहँदै आएको थियो।

२०७२ सालमा क्रिकेट प्रतियोगिता आयोजना गरी सुरु भएको यात्रा आज प्रदेश तथा राष्ट्रिय स्तरसम्म पुगेको छ।

‘वडा अध्यक्ष कप भलिबल प्रतियोगिता’, ‘चुरे गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता’ हुँदै प्रदेश स्तरीय ‘चुरे कप २०८०’ सम्मका प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न गरिएका छन्।

उनकै नेतृत्वमा पहिलो पटक चुरेमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना भएको थियो। खुला फुटबल प्रतियोगिता, कर्पोरेट स्तरको पेनाल्टी शुट-आउट र फुटसल प्रतियोगिता सञ्चालन गर्दै खेलकुद क्षेत्रलाई चलायमान बनाइएको छ।

खेलाडीहरूलाई आवश्यक खेल सामग्री वितरण, राष्ट्रिय स्तरमा पुगेका खेलाडीलाई सम्मान तथा विद्यालयस्तरमै खेलकुद र शैक्षिक सामग्री सहयोग कार्यक्रम सञ्चालन गरिँदै आएको छ।

संरक्षणमा सक्रियता

जिल्ला सदरमुकामबाट दुर्गममा रहेको चुरे क्षेत्रमा पहिलोपटक विशेषज्ञ स्वास्थ्यकर्मीसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी करिब १२ सय जनतालाई सेवा प्रदान गरिएको उनको दाबी छ।

सामाजमा रहेका छुवाछुत र छाउपडी प्रथा न्युनिकरणका लागि महिला लक्षित निःशुल्क सेनिटरी प्याड वितरण, उत्कृष्ट सेवा दिने स्वास्थ्य चौकी र स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरिएको उनले बताए।

वातावरणका क्षेत्रमा पनि क्लबकले काम गर्दै आएको छ। सार्वजनिक स्थानमा डस्टबिन वितरण तथा बृहत् वृक्षरोपण कार्यक्रममार्फत १५ सय बिरुवा रोपिएको देउवाको भनाइ छ।

कला, पर्यटन र कृषिमा योगदान

चुरेलाई कृषि र पर्यटनका लागि उर्वर भूमि मान्दै देउवा र उनको टोलीले पर्यटन प्रवर्द्धनमा विशेष पहल गरेका छन्। चुरे गाउँपालिकाका ६ वटै वडाका प्रमुख पर्यटकीय स्थलमा स्थलगत कार्यक्रम सञ्चालन गरिएको छ।

पर्यटन प्रवर्द्धनका लागि धनगढीदेखि गोदावरीसम्म ‘साइकल यात्रा’ आयोजना गरी चुरेका पर्यटकीय सम्भावनाहरू उजागर गरिएको उनले बताए।

स्थानीय कला–संस्कृति जगेर्नाका लागि सांस्कृतिक कार्यक्रम तथा चाडपर्वमा मौलिक भेषभूषा प्रदर्शन गर्दै समुदायमा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने कार्यसमेत क्लबमार्फत हुँदै आएको छ।

गणेश देउवा चुरे

ट्रेन्डिङ ( साप्ताहिक )