Logo
१३ चैत्र २०८२, शुक्रबार

बिहारबाट आएको मौसम प्रणालीका कारण भीषण वर्षाको सम्भावना

अक्षरपाटी
२०८२ चैत्र ७ , शनिबार १०:०३ मा प्रकाशित

काठमाडौं। छिमेकी मुलुक भारतको बिहार क्षेत्रबाट विकसित भएको मौसम प्रणालीका कारण नेपालको पूर्वी भागमा भीषण वर्षाको सम्भावना छ।

सो मौसम प्रणाली बागमती प्रदेशमा प्रवेश गर्ने क्रममा रहेकाले आज केही स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूको भनाइ छ।

मौसमविद्का अनुसार गोरखपुर–बगाहाबाट नेपाल प्रवेश गरेर उत्तर–पूर्वतर्फ सर्दै गएको छ।

नेपालमा पहिलेदेखि सक्रिय वर्षा प्रणालीसँग यो ठोक्किएर शनिबार मध्यान्नतिर भारी वर्षा गराउने उच्च सम्भावना रहेको जनाइएको छ।

मौसमविद्का अनुसार प्रणालीको प्रभाव चितवनको पश्चिम क्षेत्रबाट सुरु हुनेछ। त्यसपछि पूर्वतर्फ विस्तार हुनेछ।

विशेषगरी चितवनको भण्डारा, टाँडी, भरतपुर, मुग्लिङ र शक्तिखोर क्षेत्रमा ठूलो वर्षा हुने अनुमान गरिएको छ।

यसैगरी, प्रणाली धादिङ र उत्तरी मकवानपुर हुँदै बिहान ११ बजेसम्म काठमाडौं उपत्यका आइपुग्ने प्रक्षेपण गरिएको छ।

मौसमविद्हरूले सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो तथा सहरी क्षेत्रमा डुबानको जोखिम हुनसक्ने अनुमान गर्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

माैसम वर्षा